|

दमक, झापा : प्रदेश-१ का मुख्यमन्त्री शेरधन राईले नेपालको समृद्धिका लागि कृषिको आधुनिकीकरण र व्यवसायीकरण जरुरी रहेको बताएका छन्। प्रदेश १ कृषिका लागि उर्वर र उच्च सम्भावना भएको ठाउँ भएकाले प्रदेश सरकारले पनि कृषिलाई प्राथमिकतामा राखेको उनको भनाइ छ।

बुधबार झापाको गौरादहमा यसै वर्ष सञ्चालनमा आएको कृषि र पशु विज्ञान अध्ययन संस्थान गौरादह कृषि क्याम्पसका नवआगन्तुक विद्यार्थीहरूलाई स्वागत तथा कक्षा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले बढ्दो जनसख्या र शैक्षिक जनशक्तिलाई सन्तुलनमा ल्याउन पनि कृषिको आधुनिकीकरणको खाँचो रहेको बताए।

कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले गौरादह कृषि क्याम्पस यस क्षेत्रका सबैको अथक प्रयासपछि सञ्चालनमा आएकाले क्याम्पसलाई कृषि अध्ययनको केन्द्रीय क्याम्पस बनाउने लक्ष्य रहेको बताए। मन्त्री कार्कीले त्रिभुवन विश्वविद्यालयका डिन र रजिस्टारसँग कृषिका साथै पशु विज्ञान अध्ययनको कक्षा सञ्चालनका लागि अनुमति दिन पनि माग गरे।

संविधानसभा सदस्य दीपक कार्कीले सामुदायिक क्याम्पसको रूपमा रहेको गौरादह बहुमुखी क्याम्पस कृषि क्याम्पस आउँदैमा विस्थापित नहुने बताए। बहुमुखी क्याम्पसको लागि जग्गा व्यवस्थापन भइसकेकाले एक वर्षभित्रमा भवन निर्माण गरि क्याम्पस सञ्चालनमा आउने बताए।

गौरादह नगरपालिका प्रमुख रोहित कुमार शाहले कृषि क्याम्पस सञ्चालनका लागि नगरपालिकाले पनि बजेट विनियोजन गरेको बताउँदै कृषि विषय अध्ययनमा स्थानीय क्षेत्रका विद्यार्थीहरूलाई केही आरक्षण सिटको व्यवस्था गरिनुपर्ने बताए।

कार्यक्रमका सभापति त्रिभुवन विश्वविद्यालयका डीन डा. केशवराज अधिकारीले त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसको रूपमा सञ्चालनमा आएको गौरादह कृषि क्याम्पसमा यस वर्ष ५० जना विद्यार्थीहरूले अध्ययन गर्ने जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.