|

डोल्पा : हिमाली जिल्ला डोल्पाको ठूलीभेरी नगरपालिकाको बजेट २८ करोड ९१ लख ८५ हजारको प्रस्ताव गरिएको छ। हाम्रो लगानी कृषि, पर्यटन, उद्योग, ब्यापार वातारवरण र पूर्वाधार, ठूलीभेरी नगरपालिकाको समृद्धिको मूल आधार भन्ने नाराका साथ ठूलीभेरी नगरपालिका जुफालको दोश्रो नगरसभाले सो रकमको बजेट प्रस्ताव गरेको हो।

नगरसभाले आन्तरिक सडक विस्तार र ब्यवसायिक प्राङ्गारिक कृषि खेतीलाई पहिलो प्राथमिकतामा राख्दै आर्थिक वर्ष ०७५र०७६ को बजेट नीति तथा कार्यक्रम पारित गरेको छ। ठूलीभेरी नगरपालिकाका प्रमुख गणेशबहादुर शाहीले आर्थिक वर्ष ०७५र०७६ को लागि चालु र पुँजीगततर्फ गरेर २८ करोड ९१ लख ८५ हजार बराबरको प्रस्तावित बजेट प्रस्तुत गरेका हुन्।

दोश्रो नगरसभामा प्रस्तुत बजेट नीति तथा कार्यक्रममा आर्थिक वर्ष ०७५र०७६ कृर्षि क्षेत्रमा समृद्धिको इतिहास रच्ने आधार वर्षको रूपमा हुने बताउँदै एक घर एक फलफूल बगैँचा अभियानको थालनी गरिने बताइएको छ।

नगरभित्रका प्रत्येक युवालाई कृर्षितर्फ आर्कषित गराउन सहुलियत ऋणको ब्यवस्था, कृषकको सुरक्षाको लागि पशुसेवा बिमा, फलफूल कृषक बिमाको ब्यवस्था गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ।

शहरी विकास तथा भौतिक पूर्वाधार नीतिअन्तर्गत पहिलो प्राथमिकतामा आन्तरिक सडकको विस्तार तथा स्तरउन्नती र सबै वडालाई सडक सन्जालले जोडिने प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख छ।

यसैगरी उच्च शिक्षा हासिल गरेका युवालाई कम्तिमा एक वर्ष विद्यालयमा पढाउन प्रोतसाहन गर्न, डोल्पामा शिक्षा फेलोशिप शुरु गरिने, प्राविधिक, पर्यटन शिक्षासहितको नमुना स्थानीय पाठ्यक्रम तयार गरिने नगरभित्र प्याराफिटसहितको जिल्लास्तरीय खेलकुद मैदान निमार्ण नगरको प्राथमिकतामा राखिएको छ।

हिमाली मृगहरूको दृश्याअवलोकनसहितको जुफाल माझफाल पोकेपानी साईक्वारी सिस्ने हिमाल र हिम्चुलीको फेदी हुँदै रूपपाटन बाटुल्ले पाटन ठाँगे दुनैसम्म, दुनै त्रिपुराकोटसम्म भेरीनदीमा र्याफ्टिङ सेवासहितको पर्यटकीय मार्गको विकासलाई अगाडि बढाइने बताइएको छ।

यसैगरी नगरभित्रका रेडियो पत्रिका अनलाइन पत्रिकाहरुलाई प्रोत्साहनको लागि क्षमता अभिबृद्धि गरिनुका साथै नगरको सबै वडामा इन्टरनेटसहितको टेलिफोन सेवाको ब्यवस्था गरिने र नगरका गतिबिधिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सामू पत्रकारिताबाट सेवा पुर्याउने पत्रकारलाई ठूलीभेरी पत्रकारिता पुरस्कार प्रदान गरिने कार्यक्रम नीति तथा कार्यक्रममले समेटेको छ।

ठूलीभेरी नगरपालिकाका नगरप्रमुख गणेशबहादुर शाहीको अध्यक्षतामा भएको बजेट नीति तथा कार्यक्रम घोषणा सभामा जिल्ला समन्वय समितिका सदस्य प्रेमलाल बिक त्रिपुरासुन्दरी नगरपालिकाका जनक केसी नेकपाका नैनप्रसाद पहाडी नेपाली कांग्रेसका पूर्वमहासमिति सदस्य शुवर्णबहादुर शाहीलगायतका अतिथिहरूले नगर केन्द्र विवादले गर्दा ढिलै भएपनि प्रस्तुत बजेट नीति तथा कार्यक्रमले सबैलाई समेटेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.