|

काठमाडौं : सभामुख कृष्णबहादुर महरासँग नेपालका लागि जापानी राजदूतका रूपमा आएका मासामिची साइगोले शिष्टाचार भेटवार्ता गरेका छन्। बुधबार सभामुखको कार्यकक्ष सिंहदरबारमा सभामुख महरासँग राजदूत साइगोले शिष्टाचार भेटवार्ता गरेका हुन्।

भेटमा सभामुख महराले नेपाल–जापानबीच राजनीतिक सम्बन्ध मात्रै नभई सामाजिक, साँस्कृतिक सम्बन्ध निकै प्रगाढ रहेको बताए। ‘नेपाल बुद्धको जन्मभूमि हो, जापान बौद्धमार्गीहरूको देश’, सभामुख महराले भने, ‘हामी राजनीतिक सम्बन्धका हिसाबले जति नजिक छौं, त्यत्तिकै साँस्कृतिक, धार्मिक र भावनात्मक हिसाबले निकट छौं।’

जापान सरकारले नेपालको विभिन्न क्षेत्रमा आर्थिक लगानी तथा सहयोग गरिरहेको चर्चा गर्दै सभामुख महराले नेपालको महाभूकम्पको बेला जापान सरकारले गरेको सहयोग आफूहरुले कहिल्यै नभुल्ने बताए। उनले हालै जापानमा आएको बाढीपहिरोले पुर्याएको जनधनको क्षतिले आफूलाई दुखित तुल्याएको समेत बताए।

सभामुखसँगको भेटमा जापानी राजदूत मासामिची साइगोले जापान र नेपालबीचको पारस्परिक सम्बन्ध पहिलेजस्तै प्रगाढ र दिगो रहने विश्वास व्यक्त गरे। जापान सरकारले नेपाललाई जुनसुकै क्षेत्रमा पनि सहयोग गर्न तयार रहेको भन्दै संघ, प्रदेश र स्थानीय तहको सरकारलाई सुशासन, क्षमता अभिवृद्धि लगायतका कामहरूमा आवश्यक सहयोग गर्न इच्छुक रहेको बताए।

भेटवार्तामा संघीय संसदका महासचिव मनोहर प्रसाद भट्टराई, सचिवद्वय गोपालनाथ योगी र डा। भरतराज गौतमलगायतको उपस्थिति रहेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.