|

काठमाडौं :  नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले यसै बर्ष विवाह गरेका हुन्। त्यसैले उनलाई यो दशैंको प्रतिक्षा र महत्व विगतको भन्दा फरक छ। पौडेल भन्छन् ‘पारिवारिक रुपमा भन्नुपर्दा पहिले पहिले दशैं तनहुँको गाउँमै गएर मनाउने गरिन्थ्यो। तर यस पटक भने दायित्व वढेकोले, भर्खरै मात्र मैले विवाह गरेकाले टीकाको दिनमा म काठमाडौमै हुनेछु।’

प्रदीपको तनहुँ ढोरफिर्दीमा रहेकझ घरमा बुबा र आमा छन्। विदेशमा रहेका दाइ नआउने भएपछि बाबुआमालाई पनि काठमाडौं बोलाएका छन्। 'मन्दिर जाने, बुबा आमालाई पनि केही समय दिने योजनामा छु। सँधै घर बस्दैन, बाहिर बाहिर डुलि हिँड्छ, चासो दिँदैन भन्ने उहाँहरुको गुनासो छ। उहाँहरुका इच्छा पनि मैले सुन्नु पर्नेछ’ पौडेलले भने।

उनले यसपटक फूलपातीदेखि नवमीसम्म गाउँमा जाने अनि दशमीको दिन काठमाडौं फर्कने योजना रहेको सुनाए। उनले दशैंमा बुबा आमासँग टीका जमरा र आशिर्वाद थापेर जीवनमा पहिलो पटक ससुराली जाने योजना रहेको बताए।

वाल्यकालमा दशैं

तनहुँको ढोरफिर्दी गोलम्फे गाउँमा हुर्किएका पौडेलले सानोमा बुबा घरबाट तीन चार घण्टा टाढाको विद्यालयमा पढाउने र विद्यालय नजिक नैं डेरा बस्ने गरेको अनुभव सुनाए। उनले भने ‘जब दशैं आयो अनि बुबाले धेरै समय आफूहरु सँग बिताउने गर्नुहुन्थ्यो।’

उनले अनुभव सुनाउँदै भने ‘गाउँबाट रोजगारी र जागिरका सिलसिलामा बाहिर गएकाहरु सबै गाउँमा आउँथे। गाउँका बाहिर गएका सबै साथिभाई र अभिभावकहरु गाउँ फर्किन्छन् र दशैंको करिब एक साता लामो बिदामा गाउँमै आउँछन् र भेटघाट गर्छन्। दुख सुखका कुरा गर्छन्। बर्षौं नदेखेका र नभेटेका साथिभाई र आफन्तसँग भेटघाट हुन्छ।’

एकै ठाउँमा भेला हुने अनि कहिल्यै नहालिने पिर्के पिङ, रोटे पिङ, लिंगे पिङ हालिन्छ र रातभरी नैं खेल्ने गरेको प्रदीपको अनुभव छ। उनी भन्छन् ‘लोक संस्कृतिसँग जोडिएका बिभिन्न गतिविधि जस्तै नाचगान, कला र संस्कृतिक प्रहसनमा रमाउने र साथीहरुसँग घुलमिल गर्दै गाउँको वातावरण नैं रोमाञ्चक बनाउने गरिन्थ्यो।’

मारुनी नाचको झझल्को अझै आउँछ

युवा भएपनि संस्कृति र कलाप्रति असाध्य लगाव र आस्था रहेको बताउने पौडेल अहिले संस्कृतिसँग सम्बन्ध राख्ने प्रक्रिया नै फरक रहेको बताउँछन्। उनी भन्छन् ‘मैले सानो छँदा गाएको त्यो गीत नैं मलाई कर्णप्रिय लाग्छ। मगर बस्तीमा बसेको मान्छे मलाई कौरा गीत असाध्यै मन पर्छ। कौरा नाचमा मारुनी नाचेको अझै झझल्को आइरहन्छ।’

मारुनी नाचले अझै तानिरहेको बताउने पौडेल पछिल्लो पुस्ताले त्यो संस्कृतिसँग आत्मसाथ गर्न नपाएको गुनासो छ। बाल्यकालमा पहाडको गाउँमा हुर्केको साथिले दशैंको त्यो संस्कृति र रोमाञ्चकतालाई कल्पना गर्न सक्छन् तर आत्मसाथ गर्न नसक्ने उनले दाबी गरे। भन्छन् ‘उनीहरुले छोरा वा छोरीलाई त्यो संस्कृतिसँग आत्मसाथ गराउन सक्दैनन्।’

पौडेलले पहिला गाउँमा टीकाको दिन तलदेखि माथिसम्मका सबै घरमा गएर टीका जमरा लगाउने र आशिर्वाद थाप्ने चलन रहेको कहानी सुनाउँछन्। उनी भन्छन् ‘विगतको श्रद्धा गर्ने शैली, समाज र अभिभावकप्रतिको सम्मान अहिले छैन। शहरमा एउटा घरको मान्छेले अर्को घरको मान्छेलाई चिन्दैन। गाउँमा माथि डाँडाको घरको मान्छे तल फेदीको घरमा टीका लगाउन जान्छ। त्यो गाउँको मान्छे फरक जाति वा फरक संस्कृतिको हुन सक्छ।’

दशैं सांस्कृतिक पर्व हो

नेता पौडेलको दृष्टिकोणमा यो पर्व नेपाली बिशेषको मात्र नभएर संस्कृतिको रुपमा विकसित भएको छ। लामो विदा हुने भएको कारणले सबै समुदायले सेलिव्रेट गर्छन्। नेपाली समाजमा धेरै विविधता पाइन्छ। एउटा मात्र जाति, समुदाय, संस्कृति मान्ने एउटै जाति एकै ठाउँ छैन।

विविध जातिका विविध संस्कृति र धर्म मान्ने समुदाय छरिएर रहेको छ। यहाँ एक अर्काको संस्कृतिलाई सम्मान गरेर फरक समुदायको संस्कृतिलाई पनि सम्मान गर्ने चलन छ। त्यसैले दशैंले कुनैं न कुनैं नेपालीलाई छोएको हुन्छ। त्यसैले यो सवै समुदायको चाड हो।

केही समय अघि हाम्रो समाज जातीय र धार्मिक हिसाबले खण्डित जस्तो देखिन्थ्यो। तर अहिले त्यो अवधारणालाई समुदायले विश्वास गर्न छाडेका छन्। फरक समुदायबीचको सम्बन्ध अन्तरघुलन हुने र एक समुदायले अर्को समुदायलाई सम्मान गर्ने प्रचनल बढ्न थालेको छ। यो चाडले मानिसहरुको विश्वास र सम्वन्ध सुदृढ गर्न यो चाडले अझ योगदान गर्छ भन्ने विश्वास लाग्छ मलाई।

कार्यकर्तालाई भेटेरै गुनासो सुन्ने अवसर

यो चाडपर्वलाई नेताहरुले साथीभाई, कार्यकर्तासँग भेटघाट गर्ने अवसरको रुपमा मनाउने गरेको पौडेलको अनुभव छ। ‘जब दशैं आयो, तब तनहुँमै बढी व्यस्त भइन्छ। तनहुँको क्षेत्र नम्बर तीनका सबै गाविसको भ्रमण गर्नुपर्छ’, पौडेल भन्छन् ‘गाउँ तहका कार्यकर्तालाई भेटेर त्यहाँका समस्या के के छन्? विकास निर्माणको प्रकृया कहाँ पुगेको छ? पार्टीको गतिविधि के हुँदैछ भनेर बुझ्ने अवसरको रुपमा यसलाई उपयोग गर्छु। नत्र आफ्नो क्षेत्रलाई बेवास्था गर्‍यो भनेर गुनासो गर्छन्।'

यो पटकको दशैं उत्साहप्रद छैन

युवा नेता पौडेल यस पटकको दशैं पनि विगतमा जस्तै उत्साहप्रद नभएको बताउँछन्। ‘नेपालको राजनीतिक वाटो सहज ढंगले अगाडि बढ्न सकेन। गत बर्ष संविधान जारी भयो, अब उपयुक्त वातावरण बन्छ भन्ने विश्वास थियो। अहिले निर्वाचन र संविधान कार्यान्वयन हुने वातावरण बनिरहेको छैन। संक्रमणको अवस्थाबाट मुलुकले पार पाउने सहज स्थिति देखिदैन’ उनले दशैं उत्साहप्रद नहुनुको कारण खुलाए।  

उनको विचारमा बढी खर्च गर्न सक्ने आर्थिक क्षमता भएकाहरु मात्र खुशी हुन सक्छन्। ‘नेपालीको आर्थिक अवस्था सुदृढ र राम्रो छैन। आर्थिक हैसियत र क्षमता वृद्धि नभएपछि आम नेपालीले दशैंलाई जुन उत्साहका साथ मनाउनु पर्ने हो, त्यो वातावरण बनेको छैन' पौडेल भन्छन् ।

परिवर्तन आयो दशैंमा, आस्था घट्दैछ

युवा नेता पौडेलको भोगाई र अनुभवमा दशैं चाडलाई लिएर यसलाई मनाउने शैलीमै परिवर्तन आएको छ। उनका अनुसार हाल गाउँमै बसेकाहरुले विगतमा जसरी दशैं मनाइन्थ्यो, उनीहरुले त्यही परम्परालाई धान्ने काम त गरिरहेका छन् तर गाउँका धेरै शहर र सदरमुकामतिर वसाईं सरेका छन्। रोजगारीको लागि विदेशमा छन्। गाउँमा उनीहरुको प्रतिनिधि पात्रको रुपमा कुनै आफन्त वसेको होलान्।’

बुढाबुढी र अवसर नपाएका तन्नेरीहरु गाउँमा रहेका र ती पनि सानो समुह रहेको उनको अनुभव छ। शहर, सदरमुकादेखि राजधानी र खाडीदेखि युरोपियन मुलुकमा बस्नेहरुको सख्या धेरै भएको पौडेलको बुझाई छ। उनी भन्छन् ‘विगतमा जस्तो संस्कृतिप्रति मानिसको लगाउ र आस्था जति थियो, अहिले त्यो छैन।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.