|

काठमाडौं : आउँदो भदौमा बस्ने भनिएको नेपाली कांग्रेसको महासमिति बैठक तोकिएको समयमा बस्ने संभावना न्यून बन्दै गएको छ। महासमिति बैठकका लागि हालसम्म पनि कुनै तयारी नभएकाले बैठक सार्ने तयारी भइरहेको हो।

पार्टी सभापति शेरबहादुर देउवा पनि महासमिति सार्ने मनस्थितिमा रहेको देउवा निकट स्रोतले बताएको छ। भदौमा बोलाइएको महासमिति असोजसम्मका लागि सार्ने तयारीमा नेतृत्व रहेको बताइएको छ।

तर महासमिति बैठक सार्ने विषयमा भने कुनै औपचारिक निर्णय आएको छैन। गत चैतमा बसेको केन्द्रीय समिति बैठकले महासमिति बैठक भदौमा गर्ने निर्णय गरेको थियो। नेतृत्वले भने तयारी गर्न समय लाग्ने भन्दै समयमा महासमिति बैठकको मिति तोक्न आलटाल गरेको हो। 

‘जेठ अन्तिम हप्ता गर्ने भनेको जिल्ला सभापतिहरूको भेला पनि करिब एक हप्ता सर्‍यो’, देउवा निकट एक नेताले भने, ‘महासमिति पनि भदौको अन्तिम साता बोलाइएको हो। असोजको पहिलो सातासम्म सर्न सक्छ।’

कांग्रेस महासमिति बैठकले पार्टीको विधान परिमार्जन गर्ने बताइएको छ। महासमितिमा विधान परिमार्जन गर्नका लागि कांग्रेसले विधान परिमार्जन समिति बनाउने निर्णय गरिसकेको छ। तर अहिलेसम्म विधान परिमार्जन समिति बन्न सकेको छैन। पार्टीभित्रको आन्तरिक विवादले पार्टी विधान परिमार्जन समिति गठन हुन नसकेको बताइएको छ। 

सभापति देउवाले आन्तरिक रूपमा पार्टी नेताहरूलाई विधान परिमार्जन समिति नौ सदस्य बनाउन प्रस्ताव गरेका थिए। यसमा सभापतिले आफ्नो पक्षका पाँच जना र वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र अर्जननरसिंह केसी समूहलाई चार जनाको नाम पठाउन पौडेललाई आग्रह गरेका थिए।

तर वरिष्ठ नेता पौडेलले अन्य नेतासँग छलफल गर्ने बताएको सिटौला निकट एक नेताले बताए। ‘पहिला सभापतिले चार जनाको नाम माग्नुभएको थियो’, उनले भने, ‘तर विधान परिमार्जन समिति मात्र बनाउन हामीले मानेनौँ। हाम्रा पार्टीमा भएका सबै विभागहरू यसरी नै गठन हुनुपर्छ बनेका थियौँ।’

सभापति देउवा विधान परिमार्जन समितिमा आफ्ना पक्षका बहुमत सदस्य राख्न चाहन्छन्। त्यसकारण पनि विधान परिमार्जन समिति गठनमा ढिलाई भएको बताइएको छ। विधान परिमार्जन समितिको संख्या पनि बढ्न सक्ने एक नेताले बताए। 

यता सभापतिइतर पक्षले भने सभापति देउवाले अहिलेसम्म विधान परिमार्जन समिति गठन नगरेर महासमिति बैठक सार्ने खोजेको आरोप लगाउँदै आएको छ। केन्द्रीय समितिको बैठकमै देउवाले महासमिति भदौमा बोलाउने मनसाय देखाएकै थिएनन्। तर आफूइतर पक्षका केन्द्रीय सदस्यको दबाबपछि उनी भदौमा महासमिति बैठक बोलाउन तयार भएका थिए। 

केन्द्रीय सदस्य प्रदीप पौडेलले भदौ पहिलो साताभित्रै महासमिति बैठक बोलाउनुपर्ने माग गरे। उनले भने,‘महासमिति बैठक नबस्दा पार्टी दैनिक काममा पनि असर परेको छ। विधानका कतिपय कुराहरू परिमार्जन गर्नुपर्ने छ। त्यसकारण भदौ पहिलो साता महासमितिको मिति तय गर्नुपर्छ। अन्यथा यो या त्यो बाहानामा महासमिति सर्न सक्छ।’

नेपाली कांग्रेसको विधान देशको संघीय संरचनाअनुसार छैन। त्यसकारण कांग्रेसले संघीय संरचनाअनुसार विधान बनाउँदै पार्टी संगठन नमिलाइ तीब्रता दिन महासमिति बैठक बोलाउने तयारी गरेको हो। देउवाइतर पक्षका नेताहरूले देउवाले महासमिति बैठक तत्काल नबोलाएर कार्यकाल लम्ब्याउने प्रयास गरेको आरोप लगाउँदै आएका छन्। केन्द्रीय समिति र जिल्ला सभापतिहरूको बैठकमा देउवाको धेरै आलोचना भएपछि उनी महासमितिमा पनि यस्तै आलोचना हुने डरले तत्काल महासमिति सार्ने रणनीतिमा रहेको स्रोतको दाबी छ। 

देउवाइतर पक्षका नेताहरूले विधान परिमार्जन समितिलाई छलफल गर्न समय लाग्ने भएका कारण तत्काल विधान परिमार्जन समिति बनाउनुपर्ने बताउँछन्। समयमा महासमिति गठन नभएमा यसले महाधिवेशनलाई पनि असर पुग्ने सभापतिइतर पक्षको भनाइ छ। विधान परिमार्जन समितिले काम नसकेको भन्दै महासिमित पछि सार्ने खेलमा सभापति लागेको इतरपक्षका नेताहरू बनाउँछन्।

‘तत्काल महासमिति बैठक बसेन भने महाधिवेशनलाई पनि बाधा पुग्छ’, नेता अर्जुननरसिंह केसी भन्छन्, ‘अहिले महासमिति बैठक सर्ने केही औपचारिक निर्णय छैन। यो केन्द्रीय समितिको निर्णय भएका कारण व्यक्तिलाई पनि सार्ने अधिकार छैन।’

नेता केसीले पार्टीको विधान परिमार्जन गरेर तत्काल पार्टी संगठन निर्माणलाई तीब्रता दिनुपर्ने धारणा राखे। ‘हामीले त अहिल्यै महाधिवेशनको कुरा उठाएका हौँ। त्यो सम्भव नभए पनि समयमा महाधिवेशन गर्नुपर्छ। त्यसका लागि महासमिति बैठक बसेर बाटो खुल्ला गर्नुपर्छ भन्ने हाम्रो धारणा हो।’

पार्टीको विधानअनुसार प्रत्येक चार वर्षमा महाधिवेशन गर्नुपर्ने हुन्छ। विधान बमोजिम पार्टी सभापति देउवाको कार्यकाल २०७६ फागुनभित्र सकिने छ। महाधिवेशनका लागि अब तयारी थाल्नुपर्ने देउवाइतरका एक शीर्ष नेता बताउँछन्। ‘अब महाधिवेशनको तयारी थाल्नुपर्छ’, उनले भने, ‘क्रियाशील सदस्य वितरणमा धेरै लफडा हुन्छ। नेतृत्वले पहिलादेखि नै नियन्त्रण गर्न खोजिरहेको छ। नेतृत्वको मनपरी रोक्नका लागि हामी एक हुन आवश्यक पनि छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.