|

दमक (झापा) : झापाको कन्काई नगरपालिका ५ तुलसीबारीको एक परिवारले आफ्नै बुहारीलाई छोरीको रूपमा विवाह गरी अन्माएका छन्। स्थानीय पौडेल परिवारले ६ वर्ष अघि विवाह गरेर घरमा भित्र्याएकी बुहारीलाई छोरीका रूपमा बुधबार दोस्राे विवाह गरिदिएका हुन्।

स्थानीय धनपति पौडेल र टिकामाया पौडेलले आफ्ना छोरा स्व. प्रकाश पौडेलसँग पहिलो विवाह गरेर ल्याएकी बुहारी झापाको साविक पथरिया गाविस (हाल कचनकवल) का हरिप्रसाद काफ्ले र विष्णुमाया काफ्लेकी छोरी धनमाया (आशा)  काफ्लेको आधुनिक शैलीमा दोस्राे विवाह गरिदिएका हुन्। पौडेल परिवारले सोही ठाउँमा घर भई हाल धनकुटामा व्यापार-व्यवसाय गर्दै आएका लेखनाथ मिश्रसँग बुहारीलाई कोटीहोमस्थित मिश्र समाज सेवा समितिको मन्दिर परिसरमा आधुनिक शैलीमा टिका टालो लगाएर आशीर्वाद दिँदा मुक्तकण्ठले प्रशंसा गर्दै गडगडाहड ताली बजाए।  

बुहारीलाई बेहुली बनाएर छोरीका रुपमा दोस्राे विवाह गरिदिन पाउँदा आफूलाई सन्तुष्टि मिलेको आशाका ससुरा पौडेलले बताए। उनले भने, 'नहुनुपर्ने घट्ना भइदियो बुहारीले छोराको साथ लामो समय पाउन सकिनन्। यो उमेरमा त्यसै राख्नुभन्दा उनको भविष्यलाई हेरेर विहे गरिदिने निधो गरें,' पौडेलले भने।

बेहुला मिश्रकी पहिलो श्रीमति मुनाको करिब अढाई महिना अघि पाठेघरको क्यान्सरका कारण मृत्यु भएको हो। दुवैजना सहाराविहीन भएर बस्नु भन्दा विहे गरेर दुवैको पारिवारिक जीवन सुखयम हुने आशा र विश्वासका साथ काफ्ले परिवारको समेत सहमति र समझदारीमा पुरातन संस्कार र मान्यतालाई तोड्दै आफूहरूले बुहारीको विवाह गरिदिने निधो गरेको पौडेलले बताए।

सामाजिक रूपान्तरणका लागि प्रेरणा

वैवाहिक समारोहमा कन्काई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल पनि निम्तालुको रुपमा आएका थिए। उनले नेपाली समाजले परम्परागत र रुढीवादी संस्कारबाट मुक्ति पाइरहेको उदाहरणका रुपमा सो विवाहलाई लिन सकिने बताए

। प्रमुख पाेखरेलले पतिको मृत्युपछि पनि महिलाले दोस्राे विवाह गरेर आफ्नो जीवनयापनलाई सहज बनाउन पाउनु पर्ने मान्यतालाई स्वीकारेर पौडेल परिवारले समाजमा प्रशंसनीय काम गरेको भन्दै धन्यवाद पनि व्यक्त गरे। प्रमुख पोखरेलले समाजमा यस किसिमका प्रगतिशील कार्य गर्नेलाई प्रोत्साहन गर्न सकिए मात्रै समाज समृद्धिको बाटोमा जाने बताए। बेहुली काफ्लेकी छोरी आशाकी एउटी छोरी छन् भने बेहुला मिश्रका पनि सन्तान रहेको जनाइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.