जति सम्झाए पनि जग्गा फिर्ता गर्न मान्नुभएन : वडाध्यक्ष चौधरी

|

सुनसरी : इटहरी उपमहानगरपालिकाको तरहरास्थित जनसहयोग उच्च माविका एक शिक्षकले धितो पास गरी महँगो मिटर ब्याजमा रकम लगाउने गरेको आरोप लागेको छ।

सुनसरीमा पत्रकार सम्मेलन गर्दै तरहराकै एक पीडित महिलाले आफूलाई विचल्ली बनाएको आरोप लगाइन्। शिक्षक इन्द्र बस्नेतले महँगो ब्याज लिएर पनि जग्गा हडप्‍न खोजेको भन्दै पीडित परिवारले गुनासो गरेका छन्।

तरहरा जनसहयोगका शिक्षक बस्नेतले आफूलाई जालझेल गरेको तरहराकी गीता चौधरीले  दुखेसो गरेकी छिन्। पहिलादेखि आर्थिक कारोबार गर्दै आएका शिक्षक बस्नेतले सात लाखमा झापा धरमपुर-९ को डेढ बिघा जग्गा पच बनाएको उनको आरोप थियो। धितो पास गरेको जग्गा अहिले कानुनले जे गर्छ त्यो गर मलाई सबै जग्गा पास गरेको भन्दै धम्क्याउने गरेको उनले सुनाइन्।

मालपोत कार्यालय सुनसरीमा जग्गा धितोपास गरी लिएको रकम ८० हजार ब्याज र २ लाख साँवा दिन बाँकी रहे पनि अहिले जग्गा फिर्ता गर्ने नमानेको चौधरीले गुनासो गरिन्। ०६८ सालमा धरानकी प्रभा सुब्बाको नाममा झापाको धरमपुरमा रहेको ९ क ९५ कित्ता नम्बरको जग्गा शिक्षक बस्नेतले पचाउन खोजेको चौधरीको आरोप छ। धरानकी प्रभा सुब्बाले तरहराकै गोपी चौधरी र गीता चौधरीबाट सात लाख रकममा उक्त जग्गा धितो पास गरेका थिए। सोहि जग्गा चौधरी परिवारले शिक्षक बस्नेतसँग धितो राखेर सात लाख निकालेको बताएका छन्।

गत जेठ महिनामा मात्र पाँच लाख रुपैयाँ बस्नेतलाई बुझाएको चौधरीको भनाइ छ। 'पाँच लाख रकम बुझाउँदा सरले सावा २ लाख र ब्याज ८० हजार तिर्ने बाँकी रहेको छ भन्नुभयो हामीले जग्गा फिर्ता यही महिना गर्नुपर्ने धरानको पार्टीले किचकिच गर्ने थाले भने पनि शिक्षक बस्नेत जंगिए। उनले भनिन्, 'मैले ब्याज मात्र सात लाखभन्दा बढी तिरिसकेँ अहिले अर्काको जग्गा फिर्ता गर्ने बेलामा शिक्षक बस्नेतले जालझेल गर्नुभयो म न्याय माग्न कहाँ जाउँ? मसँग गरेको कागज पनि सरले नै लानुभयो हामी बर्बाद भयौँ।'

जग्गाधनी धरानकी प्रभा सुब्बा र उनीकी दिदी दिलकुमारी लिम्बूले पनि आफ्नो जग्गामा शिक्षक बस्नेतले बेइमान गरेको बताएका छन्। प्रभाले भनिन् 'जग्गा मेरो हो शिक्षक बस्नेतले मेरो जग्गा खाइदिए, बर्बाद भइयो।'

गोपी र गीता चौधरीलाई दिएको जग्गा अहिले बस्नेतको नाममा रहेको भन्दै विनासर्त आफ्नो जग्गा फिर्ता गराउन माग गरिन्। बस्नेतले जग्गामा बेइमानी गरेको भन्दै ब्याज र सावा तिरेपछि आफ्नो जग्गा पाउनुपर्ने बताइन्। '०६८ मा जग्गा राख्दा उक्त जग्गाको मूल्य एक लाख रुपैयाँ कठ्ठा थियो। अहिले बढेर करिब तीन लाख रुपैयाँ कठ्ठा जग्गा बिक्री हुन्छ,' उनले थपिन्।

जति सम्झाए पनि जग्गा फिर्ता गर्न मान्नुभएन : वडाध्यक्ष चौधरी

इटहरी-१ का वडाअध्यक्ष विष्णु चौधरीले पनि धितो पास गरेकै जग्गा अहिले शिक्षकले हडप्‍न खोजेको आरोप लगाए। पत्रकार सम्मेलनमा पीडितहरूसहित पुगेका वडाअध्यक्ष चौधरीले आफूहरूले जग्गाको विषयमा पटकपटक छलफल गराए पनि बस्नेत सहमतिमा आउन नसकेको बताए। जग्गा धितो पास गर्दा विष्णु चौधरी र बाबुराम गजमेर साँची बसेका थिए। 'त्यतिबेला धितो मात्र पास गर्ने फुपूको पैसा हो मलाई कमिसन चाहिन्छ भन्दै शिक्षक बस्नेतले ३५ हजार रुपैया कमिसनसमेत लगेका थिए' बाबुराम गजमेरले भने।

झुटो आरोप हो : शिक्षक बस्नेत

मिटर ब्याजको कारोबार गर्दै आएका शिक्षक इन्द्र बस्नेतले भने आफूलाई लगाएको आरोप झुटो भएको बताएका छन्। उनले २०६९ सालमा जग्गा आफूले किनेको भन्दै उनीहरूले अहिले जग्गाको मूल्य बढेको कारण लोभ लागेको बताए। 'गाउँठाउँमा सरसापट गरिन्छ। पहिला धितो कारोबार गर्ने गर्थें' उनले भने, 'अहिले जग्गाको दुर्इ लाख कठ्ठाले बिक्री हुन्छ पहिला मैले किन्दा मूल्य थिएन।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.