|

इंग्लिस समर्थकका लागि बुधबार निकै ठूलो अपेक्षाको दिन थियो। सधैँ व्‍यस्त रहने लन्डन बुधबार भने पूरै सुनसान देखिएको कारण सबै मानिसहरू इंग्ल्यान्ड र क्रोएसियाको खेलमा मस्त थिए।

लन्डनमा कतै ट्राफिक जाम या गाडीको घुँइचो भएन। दुर्घटनाका समाचार पनि कतै बनेनन्। न्युकास्टल सपिङ महलका कर्मचारी पूरै फुर्सदमै समय कटाउँदै थिए। साउथवेल्समा पार्किङ समस्या पटक्कै भएन। अझ हाइवे शान्त थियो। यहाँ औँलामा गन्न सकिने गाडीहरू मात्र गुडिरहेका थिए। वास्तवमा यो दृश्य बुधबारको इंग्ल्यान्डको हो।

सर्वत्र सुनसान हुनुको एउटै कारण इंग्ल्यान्ड र क्रोएसिया बिचको बहुप्रतिक्षित सेमिफाइनल हो। इग्ल्यान्ड सेमिफाइनलमा पुगेपछि बेलायतका मुख्य सहरमा रहेका समर्थकहरू लाइभ हेर्न दिउँसोबाटै आ-आफ्नो गन्तव्यमा पुगिसकेका थिए। लन्डनको अक्सफोर्ड स्ट्रिट जहाँ विश्व प्रसिद्ध सपिङ महलसमेत सुनसान रहँदा ब्रिटिस मिडियाले नयाँ समाचार पाए।

सधैँ हजारौँ मानिसको हुल हुने सपिङ महलसमेत खाली र सुनसान देखिएको थियो। सपिङ महललाई विश्वकपमयी बनाइएको छ। सपिङ महलको भित्ताभरी नै विश्वकपमा सहभागी राष्ट्रका झन्डा राखिएका छन्। धेरै जसो पसलअगाडि इंग्ल्यान्डको झन्डा रहेको थियो तर उनीहरूको चाहना भने क्रोएसियाले तहसनहस बनाइदियो।

सन् १९६६ पछि विश्वकप जित्ने अभियानलाई सार्थक बनाउन आफ्नो स्थानबाटै समर्थन गर्नका लागि सवै लाइभ फुटबल हेर्न पाएक पर्ने स्थानमा गए तर उनीहरु निरास हुनुपर्‍यो।

इंग्ल्यान्ड विश्वकप उपाधि नजिक पुगेको थियो, रसियासम्म गएर टिमलाई समर्थन गर्न नसक्नेहरु आआफना स्थानबाट समर्थन गरिरहेका थिए। इंग्ल्यान्डको खेल हुँदा उनीहरुले सबै काम बन्द गरेका थिए तर उनीहरुको चाहाना पुरा भएन २–१ ले क्रोएसियासँग स्तब्ध हुँदै इंग्ल्यान्ड घर फर्कियो तर लन्डनबासिले नयाँ अनुभव भने गर्न पाए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.