|

काठमाडौं : नेपालले लिन मात्रै होइन दिन पनि जानेको छ भन्ने कुरा पटकपटक विभिन्न राष्ट्रलाई दिइएको दुर्लभ वन्यजन्तुको उपहारले प्रस्‍ट पारेको छ। नेपाल जैविक विविधताले धनी देश हो। नेपालले हालसम्म १० देशलाई वन्यजन्तु उपहार दिइसकेको छ। सबै गैँडा चितवन राष्ट्रिय निकुञ्जबाटै गएका छन्।

यहाँबाट विभिन्न देशमा २६ गैँडा उपहार दिइसकेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकाल बताउँछन्। प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार थप दुई गैँडा चीनलाई उपहार हस्तान्तरण गरे।

'नेपालले लिन मात्रै होइन दिन पनि जानेको छ भन्ने प्रस्‍ट छ, यस्ता उपहारले दुई देशबीचको  सम्बन्ध विस्तारसँगै वन्यजन्तुको संरक्षणमा योगदान पनि दिन्छ,' चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकाल बताउँछन्। विश्वमै दुर्लभ मानिएको एकसिंगे गैँडाको संख्याका हिसाबले चितवन राष्ट्रिय निकुञ्ज विश्वकै दोस्रो संरक्षित क्षेत्र हो।

आज मात्रै नेपाल सरकारले जनवादी गणतन्त्र चीनलाई झण्डै २ वर्षका ‘रुपसी र भद्र’ नामको एक जोडी गैँडा उपहार दिएको छ। निर्णय भएको दुई वर्ष दुई दिनपछि यसरी गैँडा उपहार दिइएको हो।

नेपाल सरकारले एकसिंगे गैँडाको बाह्य बासस्थान संरक्षणको सिद्धान्तअनुसार विभिन्न मित्रराष्ट्रलाई समयसमयमा गैँडा उपहार दिँदै आएको छ। यसअघि मित्रराष्ट्र भारतलाई सन् १९८४मा ४ तथा १९८७ र १९९० मा दुईचोटी गरेर अमेरिकालाई ६ वटा गैँडा उपहार दिएको थियो।

 सन् १९९० देखि २००६ सम्म जर्मनी, बंगलादेश, वेलायत, जापान, अष्ट्रियामा २, २ वटाका दरले १० गैँडा उपहार दिइएको थियो। थाईल्याण्ड, वर्मा र पाकिस्तानलाई पनि २,२ वटाका दरले ६  गैँडा पठाइएको चितवन निकुञ्जको तथ्यंकमा उल्लेख छ। यस्तै विभिन्न देशमा गोहीसमेत दिइएको थियो।

गैँडा उपहारले दुई देशवीचको सम्बन्ध थप प्रगाढ हुनुका साथै वन र वन्यजन्तु संरक्षणका लागि कोसेढुंगा भएको चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा कमल गैरेको भनाइ छ। डा. गैरे प्राकृतिक रूपमा नेपाल धनी रहेको कुरा उपहारले प्रस्‍ट पार्ने बताउँछन्। 'यसलाई कायम राख्न यहाँका संरक्षित क्षेत्रको दिगो संरक्षण र व्यवस्थापनको खाँचो छ,' उनी थप्छन्। 

चितवन रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन यसरी आफूसँग भएको महत्वपूर्ण चिज अन्य देशलाई उपहार दिनु सकारात्मक भएको बताउँछन्। 'हामी पनि त केही दिन सक्दा रहेछौँ नि, उपहार आदानप्रदानले समृद्धिको आधार पनि खडा गर्छ,' नगरप्रमुख वनले भने।

परिवारको एक सदस्य जसरी संरक्षण गरिएको गैँडाले दौत्य सम्बन्ध अझै मजबुत हुने विश्वास लिइएको छ। घरको छोरीलाई बेहुली बनाएर पठाएजस्तै महसुस भएको बताउँदै वनले भने, 'रुपसी भद्रको सम्बन्ध पनि राम्रो बनोस् र रमाउने वातावरण चीनमा होस्।' 

प्राकृतिक श्रोत साधनमा धनी हामी दिनसक्ने भएका छौँ भन्दै चितवनका संरक्षणकर्मी एवं चरा विज्ञ टिका गिरी यो साख जोगाउन उपहार पाएका देशको समेत दायित्व बढेको बताउँछन्। चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले उपहार दिइएको गैँडालाई जतनसँग सम्हालेर राख्न चीनलाई अनुरोध गरे। यसले नेपालको  दिगो संरक्षणमा योगदान दिने आशा उनको छ।

चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष मधुकर मल्ल घरपरिवार र आफन्त गुमाएर संरक्षण गरिएको गैँडालाई मन कुँड्याएर उपहार दिएकाले संरक्षणमा योगदान दिने विश्वास व्यक्त गरे।

राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख रामकुमार अर्याल दुई देशका संरक्षण अधिकारीहरूबाट उपयुक्त स्थान पहिचान भएपछि गैँडा उपहार दिएकाले गैँडा हुर्कने विश्वास दिलाए। अन्य देशमा उपहार दिइएका गैँडाको संख्या वृद्धि भएको उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.