|

बाँके : बाँकेमा बाख्रापालन व्यवसाय फस्टाउँदै गएको छ। राप्तीसोनारी, बैजनाथ र खजुरा गाउँपालिकाका किसानले बाख्रापालनलाई व्यवसाय बनाएका छन्। राप्तीसोनारी गाउँपालिकाका महिलाले मात्र वार्षिक तीन करोड बढी रुपैयाँको खसी/बोका बिक्री गरेका छन्।

राप्तीसोनारी गाउँपालिकाका महिलाले स्थापना गरेका १० वटा सहकारीमार्फत महिलाले तीन करोडभन्दा बढी रुपैयाँका खसी/बोका बिक्री गरेका हुन्। सहकारीबाट ऋण लिएर व्यावसायिक बाख्रा पालन गरेका एकजना महिलाले वार्षिक झण्डै चार लाख रुपैयाँको खसी/बोका बिक्री गर्न थालेको नयाँ सिर्जनशील सामाजिक महिला उद्यमी सहकारी संस्थाका अध्यक्ष गंगा शाहले बताइन्। उनको सहकारीमार्फत महिलाले तीन करोड १२ हजार रुपैयाँका खसी/बोका बिक्री गरिसकेका छन्।

उनले महिलाको सक्रियतामा भारतबाट हुँदै आएको खसी/बोका आयातलाई कम गर्न महिलाले महत्त्वपूर्ण भूमिका खेलेको बताइन्। तौल गरेर बिक्री गर्दै आएका महिलाले पालेका खसी/बोका काठमाडौं, पोखरा, विराटनगरलगायतका शहरमा जाने गरेका छन्। ‘राप्तीसोनारी गाउँपालिकाबाट मात्र मासिक कम्तिमा ५०० खसी/बोका बाहिर जान्छ,’ उनले भनिन्।

महिलाले जिउँदो खसी प्रतिकिलो रु. ३५०–३८० मा बिक्री गर्दै आएका छन्। खसीको ग्रेडिङ गरेर खसी बिक्री गर्दै आएको राप्तीसोनारी गाउँपालिका–७ मा रहेको परिवर्तन महिला सामाजिक उद्यमी सहकारी संस्थाका अध्यक्ष सुनिता खाँडले बताइन्। ‘चिल्लो, खाइलाग्दो खसीको घाँटी र ढाड छामेर मूल्य तोकिन्छ,’ उनले भनिन्।

पाँच हजार बाख्रा पालन गर्ने शिव शिखर अर्गनाइजेसनको योजना

बैजनाथ गाउँपालिका–१, गाभरमा संचालनमा रहेको शिव शिखर कृषि सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित शिव शिखर कृषि अनुसन्धान केन्द्रले पाँच वर्षमा पाँच हजार बाख्रा पालन गर्ने भएको छ। गाभरस्थित २२ विगाह जमिन वार्षिक १० लाख रुपैयाँमा भाडामा लिएको उक्त सहकारीले अहिले ५४ वटा बाख्रा पालन गरेको छ। अबको एक हप्तामा १०० बाख्रा थप्ने तयारी भएको शिव शिखर अर्गनाइजेशनका क्षेत्रीय प्रमुख विनोद कुमार घिमिरेले जानकारी दिए।

‘एक सय बाख्रा खरिदका लागि कर्मचारी भारत पठाइएको छ, अबको एक हप्ताभित्र बाख्रा यहाँ आइपुग्ने छन्,’ उनले भने। यस क्षेत्रकै नमूना बाख्रा पालन बनाउने र भारतबाट आयात हुने खसीलाई प्रतिस्थापन गर्ने लक्ष्य लिइएको घिमिरेले बताए। उनल शिव शिखर कृषि अनुसन्धान केन्द्रमा ५२ वटा बामरी र जमुना जातका बाख्रा रहेको बताए।

पाँच वर्षमा लगानी १० करोड पुर्‍याइने

शिव शिखर कृषि अनुसन्धान केन्द्रले बाख्रा फार्ममा दुई करोड लगानी गरिसकेको छ। सय र १५० बाख्रा अट्ने आधुनिक खोर निर्माण भइसकेको संस्थाका कोहलपुर शाखा व्यवस्थापक चेतन न्यौपानेले बताए। उनले पाँच वर्षभित्र १० करोड रुपैयाँ लगानी गर्ने उद्देश्य रहेको बताए।

केन्द्रले आफ्नो फार्ममा २०० जनाले प्रत्यक्ष रोजगारी पाउने भएका छन्। बाख्रालाई चाहिने घाँसको व्यवस्था फार्मभित्रै मिलाइएको न्यौपानेले बताए। 'रोजगारीमा स्थानीयलाई पहिलो प्राथमिकता दिइनेछ,’ उनले भने।

एउटै फार्मभित्र च्याउ, तरकारी खेती र खरायो पालन

अनुसन्धान केन्द्रले फार्मभित्र च्याउ खेती, खरायो र कुखुरा पालनसमेत गर्ने योजना अघि सारेको छ। च्याउ खेतीका लागि टनेल निर्माण भइरहेको केन्द्रका प्रेस सल्लाहकार जयसिंह केसीले बताए। उनले एक हजार खरायो र कडक जातका एक हजार कुखुरा पालन गर्न लागेको जानकारी दिए। ‘वर्षमा दश हजार प्याकेट च्याउ खेती र १० विघा क्षेत्रफलमा अर्गानीक तरकारी खेती गर्ने तयारी छ,’ उनले भने।

केन्द्रले कामका लागि विदेश जाने युवालाई रोजगारी प्रदान गरी स्वदेशमै वातावरण मिलाउने जनाएको छ। फार्मलाई उत्कृष्ट बनाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने र अध्ययन केन्द्रका रूपमा विकास गरिने क्षेत्रीय प्रमुख घिमिरेले बताए। ‘अध्ययन र अवलोकनका लागि आउनेहरू फार्ममा प्रवेश गरेपछि धेरै कुराको जानकारी दिने र अनुसन्धानका लागि पर्याप्त बातावरण मिलाउने प्रयासमा छौँ,’ उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.