|

सल्यान : दार्मा गाउँपालिका ६ की मनिषा चन्द बुढेसकालमा नागरिकता पाएपछि हर्षित भएकी छन्। नागरिकता बनाउनुपर्छ भन्ने चेतनाको अभाव तथा सदरमुकामसम्म पुगेर नागरिकता बनाउनबाट वञ्चित चन्दलाई जिल्ला प्रशासन कार्यालय सल्यानले सञ्चालन गरेको घुम्ती शिविर वरदान सावित भएकाे हाे। 

गाउँमा शिविर सञ्चालन नगरेको भए सायद नागरिकता नबनाई मरिन्थ्यो होला ६१ वर्षीया चन्दले भनिन्, ‘बुढेसकालमा भए पनि नागरिकता पाएपछि वृद्धा भत्ता पनि खान पाइने भो।’ गाउँमै पुगेर शिविर सञ्चालन गरी नागरिकता प्रदान गर्दा ज्येष्ठ नागरिक तथा अपांगता भएकाहरू व्यक्तिहरू बढी लाभान्वित भएको सहायक प्रमुख जिल्ला अधिकारी श्रीधर टन्डनले बताए। उनले भने युवा र सपांगरू त जिल्ला प्रशासन कार्यालयमा आएर नागरिता बनाएर जाने गर्दछन्। तर वृद्धवृद्धाहरू र अपांगता भएका व्यक्तिहरू सदरमुकामसम्म आउन सक्ने पहुँच नहुने भएकाले यस प्रकारको शिविर सञ्चालन गरेको र उक्त शिविरबाट लक्षित वर्ग बढी लाभान्वित भएका छन्। 

जिल्ला प्रशासन कार्यालय सल्यानले दार्मा गाउँपालिकाको फारुलाचौरमा सञ्चालन गरेको दुई दिने घुम्ती शिविरमा १४० महिला र १०० पुरुष गरी २४० जनालाई नागरिकता प्रमाण पत्र प्रदान गरिएको टन्डनले बताए। गाउँमै नागरिकता प्रमाणपत्र पाउँदा स्थानीय निकै खुशी भएका छन्।

'हामी जस्ता अपांगता भएकाहरूका लागि यस्तो शिविर वरदान सावित भएको छ,' दार्मा गाउँपालिका ३ की रुपा वलीले भनिन्, 'सदरमुकाम गएर नागरिता बनाउन सक्ने अवस्था थिएन। नेपाली हुँ भन्ने कुनै आधारै नभई मरिने रैछ। धन्न गाउँमा शिविर आयो र नागरिकता पाइयो।' नागरिकता नपाएका व्यक्तिहरूलाई कार्यालयमै बोलाएर सहजै उपलब्ध गराइने सहायक प्रमुख जिल्ला अधिकारी टन्डनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.