|

काठमाडौं: झापाको प्रस्थावित बिएन्सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले आफूले सञ्चालन गर्दै आएको  बिएन्सी एण्ड सी टिचिङ अस्पतालको मेडिकल कलेज सञ्चालन गर्न सम्पूर्ण मापदण्ड पूरा गरेको हुँदा सम्बन्धन यथाशीघ्र दिन सरकारसँग माग गरेका छन्।

बि एण्ड सी टिचिङ अस्पतालका कार्यकारी निर्देशकसमेत रहेका प्रसाईंले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत आफ्नो अस्पतालले तीन वर्षअघि नै मेडिकल कलेज सञ्चालनको सम्पूर्ण मापदण्ड पूरा गरिसकेको भए पनि सम्बन्धन प्रक्रिया तीन वर्षदेखि अन्यायमा परेको उनको भनाइ छ।

यस्तै, उनले आफ्नै घर आँगनमा बसेर विद्यार्थीले पढ्न पाऊन् भनेर सेवा दिन इच्छा देखाउँदा पनि  माफियाको आरोप खेप्‍नुपरेकोमा आफू दुःखेसोमा परेको उनले बताए। उनले भने, ‘सरकारले मेडिकल कलेज खोल्नका लागि अपनाउनुपर्ने सम्पूर्ण मापदण्ड पूरा गरेर सुदूरपूर्वमा मैले मेडिकल कलेज खोल्दा गोविन्द केसी र उनका समर्थकहरूले माफिया भन्ने गरेका छन्,' उनले थपे, 'मैले कसैको पैसा लुटेको होइन, खाली माफिया-माफिया भनेका छन्, लगातार माफिया भनिरहँदा मन दुख्दोरहेछ।’

०६८ पुस १४ गते सरकारले नै मेडिकल कलेज सञ्चालन गर्नका लागि एलओआई दिएर आफू मेडिकल कलेज सञ्चालनमा लागेको उनको भनाइ छ। यस्तै उनले ०५६ सालबाट जनयुद्धमा होमिएको र ६ महिना सैनिक हिरासत भोगेको समेत बताए। वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र तात्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नो घरमा खाना खुवाएर बि एण्ड सीको सम्बन्धन लिन खोज्यो भन्नेहरूप्रति आफ्नो आपत्ति रहेको उनले सुनाए।

उनले भने, 'देशमा राजनितिक स्थिरताका लागि मैले भूमिका खेलेको हुँ, मेरो घरमा बिपीले पनि खाना खानुभएको छ, गिरिजाले पनि खानुभएको छ, नरहरि आचार्य, विश्वप्रकाश शर्माले पनि खाना खानुभएको छ, कांग्रेस, साझा विवेकशील पार्टी एक भएर अघि बढ्छन् भने मार्सी चामल मात्रै होइन, बासमतीको भात खुवाउन तयार छु,विरोधको लागि विरोध नगरौँ, विनाकारण कसैलाई माफिया नभनौँ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.