‘काममा व्यस्त भएपछि घोडालाई पट्टी बाँधेजस्तो’

|

रेडियो नेपालमा २७ वर्ष काम गरेपछि दामोदर अधिकारी २०४९ मा स्थायी भए, सातौँ तह वरिष्ठ समन्वय अधिकृत पदमा।

मुलुकको एक मात्र रेडियो पूर्ण सरकारी स्वामित्वबाट हटेर सोही वर्ष समितिमा परिणत भएको थियो। यसअघि रेडियो रेडियो प्रसार सेवा विभाग रहेकोमा रेडियो प्रसार सेवा विकास समिति बन्यो ।

रेडियो नेपाल व्यवस्थापन गर्न एउटा टोली आयो। टोलीले कुन कर्मचारीले कति काम गरेको छ भन्ने आधारमा स्थायी बनायो धेरै पत्रकार कार्यक्रम निर्माता सञ्चालकको पद गयो। उपेन्द्रराज प्रेमी, हरिप्रसाद रिमाल, निरोधराज पाण्डेलगायत स्थायी भएनन्।

‘२२ सालदेखि काम गरेको’, उनले भने, तर  मूल्यांकन गर्दा मेरो साढे १७ वर्ष भयो। पेन्सन पाक्न केही महिना नपुग्ने।’

तर बुझ्दै जाँदा अधिकारीले थाहा पाए, आठौँ तह पाउनुपर्नेमा एक पद घटाएर दिइएको रहेछ। निर्देशक घननाथ ओझालाई दुःखको पेटारो फुकाए। जवाफ आएन। एक दिन मर्निङ वाकमा ओझासँगै घुमे। दुखेसो पोख्न नपाउँदै ओझाले भनिदिए, ‘तपाइँले पञ्चायतमा पनि काम गर्नुभएको रहेछ (प्रधानपञ्च पनि भएका थिए, दामोदर )।’ अरु कुरा बोलिरहनै परेन। आँ गर्दा दामोदरले अलंकार बुझिहाले, ‘ओहो पद घटुवाको कारण यस्तो रहेछ।’ उनी नबोली घर फर्किए। पाँच वर्ष प्रधानपञ्च हुनुको कारण पद घटुवामा परेको थाहा पाए।

मनमा त लागेको थियो रे! पञ्चायतकालमा सीडीओ हुँदा के के करतुत गर्नुभएको  थियो भुल्नुभयो डाइरेक्टर सा’प? ‘तर हाकिमलाई जवाफ लगाउन मन लागेन’, उनले भने, ‘चुप लागेर फर्किएँ।’

यसरी पसे रेडियो नेपालमा

त्रिचन्द्र क्याम्पसमा कमर्सका विद्यार्थी उनी। आईकम पास गरेपछि जिविकाका लागि काठमाडौंमा ‘अडिटर’को जागिर गर्न थालेका थिए। देविकानाथ जोशी र मणिराम भण्डारीको ज्वाइन्ट अडिट कम्पनीमा आबद्ध भएर विराट जुट मिलमा 'अडिट' गर्न पुगे। पढाइ र कामकै धुन थियो। जुटमिलमै बस्दा उनमा एउटा रहर पलायो, ‘यी रेडियोमा बोल्ने मान्छेसँग भेट्न र कुरा गर्न पाए कस्तो हुँदो हो!’  

जुट मिलमा ठूलो स्वरमा रेडियो नेपाल बजाइन्थ्यो। रेडियो नेपालको जन्मथलो पनि यहीँ हो क्यारे! अरुणा लामा, तारादेवी र नारायणगोपालको स्वर सुन्दा सुनिरहुँ लाग्ने। महत्त्वाकांक्षाले विराटनगर टिक्न दिएन उनलाई। पुनः काठमाडौं आइपुगे। जागिर पनि छुटेका उनी केही समय भौँतारिए।

नेपाल प्रहरीको महानिरीक्षकसम्म बनेका अच्यूतकृष्ण खरेल दामोदरको माइला भाइका मित्र। अच्युतका दाजु यादव खरेल, जो रेडियो नेपालमा कार्यक्रम सञ्चालक थिए। अच्यूतले भन्दा रहेछन्, ‘तेरो दाजुको स्वर यति राम्रो रहेछ। मेरो दाजुसँग भेट गर भन् न ।’ 

‘लौन भन्देऊ न त’, दामोदरले अच्यूतसँग भने। सिहंदरबारमा आरामसँग आउजाउ गर्न पाइन्थ्यो । दक्षिण गेट थिएन पश्चिम गेटबाटै आउजाउ हुन्थ्यो। यादवले स्वर सुनाउ भने। सुने। ‘ए राम्रो रहेछ’, उनको प्रतिक्रिया थियो। मुखको भरको जागिर थियो। करार। ‘कन्ट्रयाक्ट पेपर’मा ‘साइन’ गर्नुपर्ने नि नपर्ने। त्यतिखेर यादवले भनेका थिए, ‘ अहिले पैसा थोरै दिन्छन्, पछि राम्रो हुन्छ।’

ग्रामीण कार्यक्रममा सहसञ्चालक भई काम गर्न थाले। त्यतिखेर रेडियो नेपालका डाइरेक्टर थिए, प्रकाशमान सिंह। दामोदर सम्झिन्छन्, ‘काजी खलकका मान्छे तर, दम्भ पटक्कै थिएन। साह्रै भलादमी मान्छे।’ भर्‍याङबाट उक्लेर माथि पुग्नेबित्तिकै भित्तामा लहरै बाकस राखिएका थिए, कार्यक्रम नै पिच्छेका। सञ्चालकले आफ्नो कार्यक्रमको बाकस हेरेर रचना पढ्ने वा पाठको प्रतिक्रिया दिने गर्थे।

एक महिनामै सहायक सञ्चालक

एक महिना काम गरेपछि सञ्चालक माग भयो। अन्तरवार्तामा प्रकाशमानले सोधे, ‘रेडियो नेपालमा अहिले कतिवटा कार्यक्रम चल्छ?’ लौ त्यो त याद नै गरेकै थिएन तर झटपट भित्ताका बाकस सम्झिए र फ्याट्ट भनिदिए, सात। ‘कसरी थाहा पाउनुभयो?’ दामोदरले भने, ‘एक महिनाभरि काम गरिसकेँ। थाहा हुँदैन त सर!’ अन्तरवार्ताकार हाँसेँ। रिजल्ट भयो। उनी पास भए।

‘त्यसताका यादव खरेल, किरण खरेल र नारायणभक्त श्रेष्ठलगायत कार्यक्रम चलाउँथे’, दामोदरले सम्झिए, ‘मधुकर बस्नेत सहसञ्चालक। म लगायत तीन चार जना सहायक सञ्चालक।’ अर्काले लेखेको कति पढ्ने? स्क्रिप्ट लेख्न खुब रहर लाग्यो उनलाई। तर अध्ययन छैन। श्यामदास वैष्णव, पहिले रेडियो नेपाल नै काम गरेका। उनले सिकाउँथे, ‘यसरी लेख्नुपर्छ बाबु!, यसो यसो गर्नुपर्छ।’ उनी हस् दाइ भन्थे। सबैसँग मीठो बोल्थे। 

यादव र  किरणले पनि सिकाउँथे। शब्द मिलेन। वाक्य मिलेन भन्थे। कार्यक्रमका लागि लेख्न दिएको स्क्रिप्ट पाँच पटक फेल भएर छैँटौँ पटकमा पास भयो। उनी सम्झिन्छन्, ‘थोरै भए पनि लेखेको छुट्टै पैसा आउँथ्यो।’ 

थपिए कार्यक्रम

२०२४ चलचित्र निर्देशन पढ्न यादव बेलायत गए। उनले चलाएका बाल लगायतका कार्यक्रम उनकै हातमा आइपुगे। अहिलेका प्रसिद्ध दिपक जंगमले भने,  रेडियोमा माउथ अर्गान बजाउन पाए हुन्थ्यो।’ रेकर्डिङको व्यवस्था थिएन लाइभ नै बजाउन लगाए, छात्र कार्यक्रममा। 

मजदुर, भूतपूर्व सैनिक एक दिनमै पाँच वटा कार्यक्रम चलाउँथेँ। ‘रेकर्डिङ गर्ने भए के भ्याउँथ्यो होला र!’, त्यो बेलाको खटाइ सम्झिँदै भन्छन्, ‘रेकर्डिङ गर्दा कहिले के बिग्रिन्छ, कहिले के।’ ‘लाइभ’ भएपछि सबै सजग हुन्थे। बिगार्नै भएन। बिहानदेखि बेलुकी सम्म रेडियो नेपालमै। कमलपोखरीमा रहेको कोठामा खाना खान आउँथे। पछि डिल्लीबजार सरे। 

साइकलमा सरर कोठा। कोठाबाट फेरि रेडियो नेपाल। कार्यक्रम भन्दा १५ मिनेटअघि पस्नैपर्‍यो। ‘एक्लैले चलाउँदा त केही छैन। ‘गेस्ट’ बोलाइएको छ भने त तयारी गर्न केही समय चाहिन्थ्यो। यस्तो यस्तो प्रश्न छ भनेर तयार हुन लगाउनुपर्थ्यो। रमाइलो तरिकाले प्रश्न उत्तर नगरे स्रोताको मन जित्न सकिँदैन भन्ने राम्ररी बुझेका थिए दामोदरले।

सपार्न नसकेको भए ...

माइक्रोफोन वरिपरि बालबालिका राखेर बाल कार्यक्रम चलाउँथे। कविता, चुटकिला आदि रचना पढिसकेपछि जय नेपाल भन्नुपथ्र्याे। ‘लाइभ’ चलाउँदै थिए। ‘कार्यक्रम सकिनै लागेको थियो केटाहरू स्टुडियोको ढोकानजिकै पुग्न लागेका थिए। एउटाले भनिदियो, ‘नेपालले खायो कपाल।’ तिनलाई अहिलेसम्म भुल्न सकेका छैनन् दामोदरले, ‘दिपकजंग सिजापति, अहिले पुलिसमा छन् क्यारे।’

ल परेन आपत! के गर्ने? तर तत्कालै सम्हालिए। ‘बाबु दीपक बस त! तिमीहरू अहिले साना छौ। अनुशासनमा बस्यौ, ठूला मान्छेले भनेको मान्यौ, राम्ररी पढ्यौ, पढेर ठूलो मान्छे बन्यौ भने नेपालले कपाल खाँदैन। राम्ररी पढेनौ, योग्य बनेनौ र देशका लागि केही गर्न सकेन भने त नेपालले पक्कै कपाल खान्छ। होइन त बाबु भुवन!’ उनले अहिले ठ्याक्कै बिर्से तिनी अहिलेका चर्चित नायक भुवन केसी थिए कि! उनले हो दाइ भने। यसरी परिस्थिति नियन्त्रणमा लिन सफल भए। ‘यसलाई नसच्याई छोडेको भए स्पष्टीकरण खानुपर्थ्यो’, उनले हाँस्दै भने।

प्रत्यक्ष प्रसारण

प्रत्यक्ष प्रसारणमा पनि गाह्रो हुन्थ्यो विशेषगरी राजा जाने समारोह र विदेशी विशिष्ट पाहुना आउँदा रेडियो नेपालले प्रत्यक्ष प्रसारण गर्थ्यो। उनी पहिलोपटक २०२६ सालमा युवराज वीरेन्द्रको विवाहका बेला प्रत्यक्ष प्रसारण। ब्लक छुट्याइएको थियो। एक ब्लकमा दुई जना हुन्थे।

वीर अस्पताल महांकाल मन्दिर र राष्ट्रिय नाचघर बिचमा परेका थिए, उनी। ‘देखेका कुरा सबै वर्णन गर्नुपर्ने’ उनले सम्झिए, ‘के भइरहेको छ? बाजा कसरी बजाइएको छ? राजा–युवराज के गर्दैछन्? घोडामा को को छन्? हात्तीमा कति मान्छे छन्? हात्तीको गरगहना कस्तो छ? कति मान्छे छन्? देखेजति सबै भन्नुपर्ने। प्रत्यक्ष प्रसारणमा अलिअलि बिगारे पनि स्रोताले चाल नपाउने किनभने रमाइलोमा उनीहरूको ध्यान गइरहेको हुने।

यस्ता थिए सहकर्मी
खगेन्द्र नेपाली जनकशिक्षाको शैक्षिक कार्यक्रममा काम गर्थे। प्रत्यक्ष प्रसारणमा सघाउन रेडियो नेपाल आउँथे। शान्ता श्रेष्ठ, समाचार वाचिका कृष्णा ताम्राकार उनीभन्दा वरिष्ठ। कुवेर गर्तौला, (रामबहादुर) भट्ट लेकाली र उनकी श्रीमती सरिता भट्ट, धन लामा प्रवीण गिरी सहकर्मी थिए। अंग्रेजीमा हरिश चन्द थिए। नाटक सिकाउने हरिप्रसाद रिमाल थिए।

कल्याणी रिमाल, सावित्री ठाकुर, शकुन्तला गुरुङ(शर्मा), हरिहर शर्मालाई अझै सम्झन्छन् उनी। ‘एकले अर्कोलाई सहयोग कसरी गर्न सकिन्छ भन्ने धुनमा हुन्थ्यौँ। ‘करेक्सन’ गरिदिइहाल्ने’, उनले भने, ‘हिजो तपाइँले यस्तो गर्नुभयो नि भन्दा नराम्रो मान्दैनथे। अँ फुस्केछ भन्थे।’ पैसाको सम्बन्धले काम गरिन्थ्यो आत्मीयता थियो। ‘धेरै गरियो । काम गर्दागर्दै असाध्यै थाकिन्थ्यो’, चार दशकअघिको रेडियो नेपालमा गरेको संघर्ष सम्झिँदै लामो सास फेरे उनले।

साथीहरू पिएर रमाइलो गर्थे रे! उनी नपिउने। त्यसैले गोप्य ठाउँमा लाँदैनथे। यो मोरो खाँदैन लग्नुहुँदैन भन्थे रे! ‘नपिउने मान्छेका सम्पर्क कमजोर हुने रहेछ’, उनले भोगेको तथ्य, ‘तर खानेको दुर्दशा देखेका हुनाले कहिल्यै योप्रति आशक्ति भएन।’

स्रोताको मन जित्ने सूत्र

‘जुन विषय साधारण जनताले बुझ्दैनन्। छलफलमा राख्नुपर्छ अनि ‘इफेक्टिभ’ हुन्छ’, उनले बुझेको अनि प्रयोग गरेको तथ्य। परिवार नियोजन संघको एउटै कार्यक्रम २६ सालदेखि ५२ सालसम्म चलाएको अनुभव छ उनलाई। 

हप्तामा दुईवटा कार्यक्रम जान्थ्यो। आफ्नै परिकल्पनामा उनले ‘घर तपाइँको परिवार हाम्रो’ भन्ने कार्यक्रम चलाउँथे। कार्यक्रम प्रभावकारी बनाउन डल्ली फूपु, पण्डित लुरे र आनन्द पात्र खडा गरेका थिए। पण्डित बाजेलाई 'शिव ओम् शिव ओम्' भन्ने थेगो प्रयोग गर्न लगाए। उनले शास्त्रका कुरा गर्थे। आनन्द बाबु नयाँ जमानाका। लुरे अलमलमा पर्ने पात्र। पुरानो पुस्ताकी डल्ली फूपुलाई मेरी बस्सै थेगो प्रयोग गर्न लगाए। कालान्तरमा एक हास्य श्रृंखलाको नाम नै यसैबाट राखियो। यो कार्यक्रम खुबै चल्यो।

वन वाटिका आठ बजेको अंग्रेजी समाचारपछि आउँथ्यो। पहाडतिरका मानिसले यो नसुनी भातै खाँदनथे रे! वनको विषयमा श्री ५ को सरकारको नीति कस्तो छ, वन मास्दा पृथ्वी र वायुमण्डलमा कस्तो असर पर्छ, कसरी वन जोगाउने भन्ने कुरा प्रस्तुत गर्नुपर्थ्यो तर लेख पढेर सर्वसाधारणले बुझ्दैनथे। 

वनवाटिकामा चञ्चली र मञ्चली पात्र बनाए। सरिता भट्टले चञ्चलीको भूमिका निभाइन्। मञ्चली बनिन्, धन लामा। कार्यक्रम दिनेहरूले राम्रो रेस्पोन्स गर्थे। त्यसले उनमा उत्साह थप्थ्यो नयाँ नयाँ प्रयोग गर्ने जाँगर चल्थ्यो।

२६\२७ सालतिर ‘रेकर्डिङ सिस्टम’ आयो। रेकर्डिङ गर्न जाँदा पनि राम्रो तयारी गरेर जान्थे। पहिले रेडियो नेपालमा अहिलेको जस्तो राम्रो स्टुडियो नै थिएन। पुरानो भवनमा वरिष्ठ प्राविधिक केदारलाल ठाकुर आफैँ रेकर्डिङ गर्न बस्थे।

सुदन खत्री, वसन्तकेशर पण्डित क्षेत्रीलगायत प्राविधिकलाई सम्झन्छिन् उनी। सञ्चालकले गल्ती गरे भने तत्काल उपयुक्त कदम चालेर सपार्न लगाउँथे।

स्वरपरीक्षाको जिम्मा

त्यतिखेर समाचारका हाकिम थिए प्रकाशमानका भाइ प्रचण्डमान सिंह थिए। स्वरपरीक्षा तपाइँले नै लिइदिनुपर्छ भन्थे दामोदरलाई। आफू कार्यक्रमतर्फ भए पनि समाचारतिरकाको पनि स्वरपरीक्षा लिए उनले। कडाइ गर्थे। ‘जस्तोपाए त्यस्तो स्वर भएकालाई पास गराउँदा पछि आफैँलाई अवगाल आउनसक्थ्यो’, उनी सम्झिन्छन्, ‘सम्भावना भएकालाई दोस्रो वा तेस्रो परीक्षा लिएर पनि रेडियो नेपाल प्रवेश गराइन्थ्यो।’

सिकारुका लागि पनि राम्रा गुरु थिए उनी। पुराना वा वरिष्ठ भनिएकाहरूले भन्दा बढी राम्रो सिकाउथेँ। धार्मिक कार्यक्रम सञ्चालक पुरुषोत्तम सापकोटालाई २८ सालतिर उनैले स्वरपरीक्षा लिएका थिए। 

२९ सालमा सबैको तलब बढ्यो। उनी कार्यक्रमतर्फका पूर्ण सञ्चालक भए। शाखा अधिकृत सरह। तलब २९०० रुपैयाँ । जागिर १०–५ को होइन। आफ्नो काम पूरा गर्‍यो बाटो लाग्यो। काम हुँदा साँझ बिहान भन्न नपाइने। एकताका त महिनामा एकैपटक हाजिर गरे पनि हुने।

दामोदरको क्रेज 

क्रेज कस्तो थियो। उनको बोली यति बिकेको थियो, यसो गर्नुपर्‍यो भनेर प्रस्ताव लिएर गयो भने नाइँ भन्ने कुरै थिएन। उनी भन्छन्, ‘व्यक्तिगत स्वार्थका कुरा गर्दैनथेँ। त्यसैले प्रशासनले सहयोग नगर्ने कुरै थिएन।’

२०३० सालमा रामराज पौडेल डाइरेक्टर थिए। गृहमन्त्रालयदेखि परिवार नियोजनको कार्यक्रममा समेत उद्घोषण गर्न दामोदरकै खोजी हुन्थ्यो। शाही नेपाली सैनिक मञ्चमा हुने हरेक कार्यक्रममा एमसी गर्ने उनै। एमसी गरेपिच्छे पैसा आउँथ्यो। कार्यक्रमवालाले पठाएको गाडी चढ्दैनथे। साइकलमा सरर गयो। मञ्चको पछाडिपट्टि साइकल थन्क्यायो। कार्यक्रम चलायो। दामोदरले माइक्रोफोन समातेपछि सबै ढुक्क। 

सरकारी एक मात्र प्रसारण संस्थाका कार्यक्रम सञ्चालक उद्घोषक उनी। रेडियोमा बोल्ने भएकाले आवाज चिन्थे। धेरैले चिन्दैनथे। ‘सर्वसाधारणले चिन्लान् भनेर बसमा बोल्देनथेँ’ उनले भने, ‘बोलेपछि चिनिहाल्थे। घाँटी खराब छ भनेर हातले इशारा गर्थेँ। बोल्नैपरे कम बोल्थेँ।’

मान्छे खाने बाज

काव्यकुञ्ज चलाउँलाको सन्दर्भ। कार्यक्रम लाइभ हुने भएकाले कविता रेडियो नेपालमा पहिले नै बुझाउनुभथ्र्यो। दामोदरले नै जाँच गरेर कार्यक्रममा कविलाई बोलाउँथे। एकदिन पण्डित हरिहर शास्त्री कविता पढिरहन्थे। यही सिलसिलामा एक दिन दामोदरलाई एउटा कविता दिए। शीर्षक थियो, बाज। शास्त्री कविता पढ्न भनेर आए तर दामोदरले भनिदिए, 'कविजी पण्डितजी तपाइँ नरिसाउनुहोस्, म तपाईँको छोराजस्तो मान्छे। तर बाज त चरा  खाने पो हुनुपर्ने। यो त मान्छे खाने बाज पो रहेछ।’ पण्डितजी 'ओहो दामोदर बाबु तपाईँसँग त नसकिने रहेछ' भन्दै बाटो लागे। 

पहिलो सांगीतिक कार्यक्रम

रेडियो नेपालमा सांगीतिक कार्यक्रम ल्याउने पहिलो व्यक्ति आफू भएको दाबी गर्छन्, दामोदर। ४२ सालतिर सुन्दर सुशील संगीतको नाममा आएको थियो कार्यक्रम। किरण खरेलले स्क्रिप्ट लेख्थे। किरण र धन लामा बसेर प्रेमका कुरा गर्थे बिचबिचमा गीत बज्थ्यो। कलाकारलाई रोयल्टी दिने चलन त्यही कार्यक्रमबाट सुरु गरेको उनले बताए। ‘वर्षभरिमा कार्यक्रममा बढी गीत बजेका स्रष्टालाई पुरस्कार दिइन्थ्यो।’ 

केडिया समूहको प्रायोजनमा बज्ने कार्यक्रमको नाम शंकर केडियाका बुबा सुन्दर र छोरा सुशीलको नाममा थियो। कार्यक्रमको न्वारान दामोदरले नै गरेका थिए। तर व्यक्तिको नाममा हो भन्ने स्रोताले थाहा पाएनन्। ‘राजाको जन्मोत्सवमा पहिलो सांगीतिक कार्यक्रम सुरु गरियो’, उनी सम्झिन्छन्, ‘एक वर्षपछि पाण्डव सुनुवारले ‘फोन इन’ सुरु गरे।’

स्क्रिप्ट नबुझ्दा

कार्यक्रम रेकर्डिङका रमाइला अनुभूति सँगालेका छन्, दामोदरले। गाउँ फर्क कार्यक्रमको रेकर्डिङ हुँदै थियो। अन्तिमतिर एउटा बूढो पात्र खोक्दै आउनुपर्ने थियो। तर त्यो पात्र खु खु खु... गर्दै आयो। प्राविधिक ठाकुरले रेकर्डिङ क्यान्सिल गरेर ती पात्रलाई गाली गर्न थाले, ‘ह्या मुला, के खु खु खु... भनेको!’ पात्रले हाँस्दै भने, 'खै यहाँ खु खु खु... लेखेको रहेछ मैले त यही भन्ने होला भन्ठानेर पढिदिएको।' वास्तवमा दामोदरले यहाँ घाँटीको समस्या भएका बुढो मान्छेले निकाल्ने स्वरको कल्पना गरेका थिए। पहिले स्क्रिप्ट नपढी रेकर्डिङमा जाँदाको परिणाम थियो त्यो।

'ज्लाला मार्का तेल' र प्रधानमन्त्री निवास

घटना र विचार कार्यक्रम होला सायद उनी यकिन हुन सकेनन्। उमेरका कारण हो कि स्मृति अलि धुमिल हुँदै गएको छ। कार्यक्रमको बिचमा ज्वामार्का तोरीको तेलको विज्ञापन बज्यो। विज्ञापनमा ठेगाना प्रधानमन्त्री निवास भनिएको भन्दै खैलाबैला भयो। ‘दामोदरजीले सेन्सर गरेर पठाएको कार्यक्रममा त्यस्तो गम्भीर गल्ती हुनै सक्दैन’,धेरैले भने।

अञ्चलाधीश विष्णुप्रताप शाह थिए। उनले पनि विश्वास मानेनन्। दामोदरजीले सेन्सर गरेर पठाएको त्यस्तो नहुनुपर्ने भन्दै थिए। तर विभागीय मन्त्री, सचिवलगायत रेडियो नेपाल आए। कार्यक्रम दोहोर्‍याएर सुनाइयो। विज्ञापनमा भनिएको थियो, ‘...प्रधानमन्त्रीको सरकारी निवास नजिकै।’

कार्यक्रमका फेहरिस्त

उनले धार्मिक कार्यक्रमदेखि काव्यकुञ्ज, विदेशमा बस्नेहरूका लागि, छात्र, बैंकिङ भूतपूर्व सैनिकका लागि, मजदुरलगायत अनेकौँ कार्यक्रम सञ्चालन गरे। शान्ति संगीत, गीतिकथा जस्ता मनोरञ्जनात्मक कार्यक्रम पनि गरे। रेडिया नाटकको पात्र पनि बने। चाडपर्व, दिवस तथा विशेष दिनमा परिसंवाद चलाउँथे। सम्बन्धित विज्ञहरूसँग कुराकानी गर्थे। कार्यक्रम गर्दा कसैले खोट नलगाउन् भनेर सचेत हुन्थे। सन्दर्भ सामग्री राम्ररी अध्ययन गर्थे। 

काव्यकुञ्जमा कविता दिन त्यतिबेलाका नाम कविहरू आउँथे। संगीतकर्मीसँग त दिनहुँजसो भेटघाट भइरहन्थ्यो। उनले लेखेका विज्ञापनमा नाम चलेका संगीतकार नातिकाजी, शिवशंकर थापा, राम थापाले संगीत भर्थे। 

केही समय समाचारसमेत पढे। बिहान सात बजेको समाचार पढ्थे। केही समय साँझमा पनि पढे। तर उनलाई समाचारले भन्दा कार्यक्रमले नै सन्तुष्टि दियो। ‘काममा व्यस्त भएपछि घोडाको पट्टी बाँधेजस्तो’, ती दिन सम्झिँदै उनले भने, ‘ एउटा गर्दागर्दै अर्को काम आइपुग्थ्यो। कुनै पीर चिन्ता थिएन। रोग थिएन निन्द्रा लाग्थ्यो।’

पाँच वर्ष प्रधानपञ्च
३३ सालमा गृहजिल्ला काभ्रेको नित्य चण्डेश्वर गाउँपञ्चायतको प्रधानपञ्च भए। तर जागिर छोडेनन्। ‘म सरकारको पूर्णकालीन कर्मचारी नै थिइनँ। महिनावारी पारिश्रमिकमा काम गर्ने’, उनले भने। शुक्रबार कार्यक्रम बुझाएर धुलिखेल जाने बस चढ्थे। त्यसपछि हिँडेर आधा घण्टामा घर पुग्थे। प्रधानपञ्च आउँछन् भनेपछि जनता बाटो ढुकेर बस्थे। बाटाभरि जनताको काम गर्दै घर पुग्थे। आइतबार पुन: रेडियो नेपाल फर्किन्थे।

‘जहाँ बसे पनि 'क्रियटिभ' हुनुपर्छ गफ मात्र गरेर हुँदैन भन्ने मान्छे म’,उनले भने, ‘गाउँमा यसअघि नभएका विकासका काम भए।’ पञ्चायतमा जाँदा राजनीतिका कुरा हुन्थ्यो। रेडियोमा जाँदा राजनीतिको ‘र’ पनि उच्चारण नगरेको दाबी गरे उनले। चाहेको भए अर्को कार्यकाल पनि प्रधानपञ्च जित्थे। तर उनका केही वडा अर्कै गाविसमा गाभिए। ‘प्रहरी प्रशासनले सहयोग गर्छु भनेको थियो’, उनले भने, ‘मैले नै जनताले जस्तो मत दिन्छन्, स्वीकार गर्छु भनेँ। झिनो मतले हारेँ।’ रेडियोको सेलिब्रेटी हुन छाडेर उनलाई राजनीति गर्ने रहर भएन। 

नेता मन्त्रीहरूसँगको निकटता

सिंहदरबारभित्र रेडियो नेपाल। सधैंजस्तो नेता मन्त्रीहरू भेट भइरहने। एक मात्र प्रसारण माध्यममा अन्तरवार्ता लिइरहने पत्रकार पनि उनी। कति मन्त्रीहरूसँग मात्र होइन प्रधानमन्त्रीसँग समेत राम्रो सम्बन्ध थियो। तत्कालीन प्रधानमन्त्री नगेन्द्र रिजाललाई बुबा भन्थे। कीर्तिनिधि बिष्टले पनि उनलाई मन पराउँथे। मरिचमान श्रेष्ठसँग राम्रै सम्बन्ध थियो। सुनील थापासँग राम्रै सम्बन्ध भएकाले उनका बुबा सूर्यबहादुर थापासम्म पनि पहुँच थियो। तर दामोदरले व्यक्तिगत स्वार्थका लागि कहिल्यै कसैसँग गुनासो गरेनन्।

उत्तरार्धका वर्षहरू

५३ सालमा अघि आठौँ तहमा बढुवा भएका उनी २०५८ सालमा नवौँ तहमा पुगे। ५९ सालमा अनिवार्य अवकाश पाएका दामोदरले थप दुई वर्ष पारिश्रमिकमा काम गरे र ६२ सालमा रेडियो नेपालबाट बिदा लिए।

अहिलेका रेडियो र रेडियोकर्मी

पहिलेको तुलनामा समय परिस्थिति र मानिसको सोचाइ नै फरक भएकाले धेरै टिप्पणी गर्न नचहाने उनी बताउँछन्। तै पनि यत्रो वर्ष काम गरेको क्षेत्र अहिलेको काम गराइप्रति त्यति चित्त बुझ्दैन। अहिले रेडियोमा बज्ने समाचार वा समाचारमूलक प्रस्तुतिमा ज्यादै तीव्र गतिको (फास्ट) भएको उनको बुझाइ छ। ‘समाचार त समाजका तल्ला तहमा मान्छेले पनि बुझ्नपर्ने होइन र’, उनी भन्छन्, ‘शुद्ध र अशुद्ध बोल्ने कुरामा ख्याल छैन। बहुवचन र एकवचनको विचारै छैन।’ निजी क्षेत्रको रेडियोको प्रभाव सरकारी सञ्चार माध्यममा पनि सरेकोमा उनी अचम्मित छन्।

‘उतिबेला सरकारी सञ्चार माध्यमबाट केही खुस्केला भन्ने डर हुन्थ्यो। तरबारको धारमा बसेर काम गर्नुपर्ने अवस्था थियो’, उनी भन्छन्, ‘स्वतन्त्रताको नाममा जथाभावी बोलेको देख्दा अचम्म लाग्छ।’  पञ्चायतमा गाली कसैलाई गर्न पाइँदैनथ्यो। अहिले मनपरी छ। 'मनपरी लेखे\बोलेपछि विश्वास कसरी गर्ने?', उनी प्रश्न गर्छन्।

दामाेदरकाे दिनचर्या 

जीवन चलाउन सहज नै छ। छोराछोरीमात्र होइन नातिनातिनासमेत सक्षम भइसकेका छन्। मध्यपुर ठिमीस्थित लोकन्थलीको घरमा उनीसँग कुरा गरिहँदा भने, ‘रेडियो नेपालको पेन्सन खाइरहेको छु। मेरो जिन्दगी नै रेडियो नेपालले चलाएको हो।’ 

बिहान उठेर पौने घण्टा कौसीमा घुम्ने, १५ मिनेट जति योगाभ्यास गर्ने उनको नियमित काम हो। बिहानै चार पाँचवटा औषधि खान्छन्। मुटुको तीन वटा अप्रेसन गरिसकेका उनलाई मधुमेह पनि छ। ‘माइनस हुन लाग्यो भने थाहा हुन्छ। चकलेट खाइदिन्छु। ठीक भइहाल्छ’, उनले भने। दिनको तेह्र वटा औषधि खान्छन् दामोदर। 'इन्सुलिन' पनि लिनैपर्छ।

बिहान सबेरैदेखि रेडियो नेपाल सुन्छन्।  ‘जीवनमा कति काम राम्रो गरेको रहेछु, कति नराम्रो भन्ने विश्लेषण गर्ने वेला हो मेरो’,‘त्यसैले टेलिभिजनमा धार्मिक आध्यात्मिक कार्यक्रम हेर्छु।’ वेलामौका मन्दिर धाउँछन्। रमाइलोका लागि कहिलेकाहीँ ‘रेस्लिङ’ हेर्छन्। पुराना धेरैसँग सम्पर्क टुटिसक्यो।

सम्झनामा मात्रै

वर्ष रेडियो नेपालमा कार्यक्रम चलाएका उनीसँग आफूले गरेका श्रव्य रेकर्ड केही छैन। ‘उही सम्झना मात्रै हो’, उनी भन्छन्, तर अचेल सम्झना पनि हराउन थाल्यो। पर पर गा’को जस्तो हुन लाग्यो।’ उनले ठट्टा गरे, 'धेरै उमेर त भा होइन नि! ७५ त हो।'

‘तपाइँले जानेबुझेका कुरा टिपोट गर्छौँ, नयाँ पुस्ताका लागि पाठ हुन्छ' भनेर भन्नेहरू पनि छन्। तर यसमा उनलाई उति रुचि छैन। भन्छन्, ‘मरेपछिको प्रशंसा मलाई चाहिएन भन्दै फर्काउने गरेको छु।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.