|

ओखलढुंगा : ओखलढुंगाको लिखु गाउँपालिकाले कृषिको माध्यमबाट पर्यटनको सम्भाव्याता अध्ययन गरेको छ। प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजनामार्फत आधुनिक कृषि योग्य गाउँपालिका निमार्णमा जोड दिँदै पर्यटनको सम्भाव्याता अध्ययन गरेको हो।

आधुनिक कृषिको माध्यमबाट गाउँपालिकालाई समृद्ध बनाउने लक्ष्यका साथ पहिलो चरणमा कृषकहरूलाई आधुनिक कृषि औजार वितरण गरिएको गाउँपालिका अध्यक्ष गोविन्द पौडेलले बताए। गाउँपालिकालाई कृषिमा जिल्लाकै नमूना बनाइ पर्यटनको आधार तयार गर्ने लक्ष्य रहेको उनको भनाई छ।

गाउँपालिकाका १० वटा कृषक समूहलाई ९० प्रतिशत छुटमा कृषि औजारहरू वितरण गरिएको छ। गाउँपालिकाको १८ लाखको लागतमा खरिद गरिएका ४२ थान कृषि औजारहरूमा धान रोप्ने, गोड्ने, काट्ने र झार्नेलगायतका औजार रहेका छन्।

त्यस्तै जोत्ने, मकै रोप्ने, छोडाउने तथा कोदो कुट्ने औजारहरू रहेको गाउँपालिकाले जनाएको छ। खरिद गरिएको विभिन्न ४२ थान औजारमध्ये प्रर्दशनीका लागि एक/एक थान औजारहरू कार्यालयमा राखिएको र बाँकी कृषक समूहहरूलाई वितरण गरिएको छ। ७५ हजार रुपैयाँको औजारका लागि गाउँपालिकाको ६८ हजार र कृषक समूहको १० हजार रुपैयाँको लागानी पर्ने गाउँपालीकाले जनाएको छ।

औजार लिने समूहहरूमा लिखु खोला कृषि समूह वडा नम्बर ८,नवोदित बिउ उत्पान कृषक समूह वडा नम्बर ६,मझुवा कृषक समूह वडा नम्बर ५,प्रगतिशील कृषक समूह वडा नम्बर ५ लगायतका रहेका छन्। कृषकहरूले उत्पादन गरेका उपजलार्इ गाउँपालिकाकाले बजार प्रवर्द्धनको समेत व्यवस्था गर्ने अध्यक्ष पौडेलको भनाई छ। जसका लागि स्थानीय बजारलाई व्यवस्थित गर्ने र बाह्य बजारसँग पनि सहकार्य गर्ने लक्ष्य लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.