|

भक्तपुरः पहिरोले टहरा पुरिएर मृत्यु भएका चाँगुनारायण नगरपालिका–७ मझुवाका लामा परिवारलाई तत्काल एक लाख रुपैयाँ राहत दिने भएको छ। बुधवार रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोपछि बिहीबार साँझ बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले लामा परिवारलाई प्रकोप पिडित उद्धार र राहतसम्बन्धी मापदण्ड (छैंटौं संशोधन) २०७४ बमोजिम एक लाख रुपैयाँ राहत दिने निर्णय गरेको हो।

पहिरोले टहरा पुरिँदा एकै परिवारका ७० वर्षीय हिरा लामा, ६५ वर्षीया पानमाया लामा र साढे दुई वर्षीया सम्पदा लामाको मृत्यु भएको थियो।

समितिको बैठकले डुवानका कारण विस्थापितलाई खाद्यान्न, स्वच्छ खानेपानी, लत्ताकपडालगायतका राहत तथा पुनःस्थापनाका लागि सम्बन्धित स्थानीय तहको संयोजनमा अन्य सरोकारावाला निकाय तथा संघसंस्थाहरूको समन्वयमा एकद्वार प्रणालीबाट व्यवस्थापन गर्ने निर्णय समेत गरेको छ।

त्यसैगरी डुवान क्षेत्रमा रोगको प्रकोप फैलन नदिन जिल्ला जनस्वास्थ्य कार्यालयको संयोजनमा आवश्यक तयारी गर्ने र भविष्यमा आइपर्ने विपद्मा छिटो उद्धारका कार्य गर्न स्थानीय तहका प्रमुख, सुरक्षा निकायका प्रमुखहरू सम्मिलित ‘क्विक रेस्पोन्स टिम’ गठन गर्ने निर्णय समेत गरेको प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले बताए।

त्यसैगरी बैठकले विपद् तथा मनुसन पूर्वतयारी कार्ययोजनाको समीक्षा गरी आवश्यकताअनुसार सम्बन्धित निकायले पुनरावलोकन गर्ने, बाढी, पहिरो र डुवानका कारण भएको क्षतिको विवरण सम्बद्ध सरोकारवाला निकायहरूको सहयोगमा सम्बन्धित स्थानीय तहले संकलन गरी समितिलाई उपलब्ध गराउने निर्णयसमेत गरेको छ।

प्रजिअ भट्टको अध्यक्षतामा बसेको बैठकमा भक्तपुरका प्रतिनिधिसभा सदस्यद्वय प्रेम सुवाल र महेश बस्नेत, प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईं, जिल्ला समन्वय समितिका अध्यक्ष नवराज गेलाल, नगरप्रमुखहरू, राजनैतिक दलहरूका प्रतिनिधिहरू, सुरक्षा निकायका प्रमुखहरू, सरोकारवाला निकायका प्रतिनिधिहरू र सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

यसैबीच बाढी र डुवानमा फसेका १११ जनाको सकुशल उद्धार गरिएको र सो मध्ये घाइते भएका सल्लाघारी बस्ने १८ वर्षीया अमृता श्रेष्ठ, १९ वर्षीया अरुली श्रेष्ठ र सिर्जनानगर बस्ने ६५ वर्षीय सोमती लामाको भक्तपुर अस्पतालमा  उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ।

बाढीको कारण हालसम्म चौपाया २५, कुखुराको चल्ला दुर्इ हजार वटा बगाएको, ५० वटा घर तथा टहरामा आंशिक क्षति पुर्‍याएको, करिव ५०० घर परिवार आंशिक विस्थापित हुनका साथै अन्नबाली, लत्ताकपडालगायतका जिन्सी सामानहरू क्षति भएको महानगरिय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवम् सूचना अधिकृत प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए। उनले क्षतिको एकिन विवरण संकलन गर्ने कार्य जारी रहेको बताए।

बाढी तथा डुवान क्षेत्रको उद्धारका लागि नेपाल प्रहरीका ७८८ जवानसहित नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल रेडक्रस सोसाईटी भक्तपुर शाखा र विभिन्न उपशाखाको टोली परिचालन भएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.