|

वीरगन्ज : मदिराको बोत्तलमा प्रयोग हुने नक्कली अन्तः शुल्क टिकट (स्टिकर) प्रकरणमा आन्तरिक राजश्व कार्यालय पर्साले ८ जनालाई कैद र ५४ करोड बढी जरिवाना तोकेको छ। आन्तरिक राजश्व कार्यालयले मात्र कारोवार गर्ने मदिराको स्टिकर नक्कली छपाई ओसारपसार गर्दै गरेको फेला पारेपछि झण्डै एकवर्ष अनुसन्धान गरी बिहीबार दोषी ठहर भएका आठजनालाई एकवर्ष कैद र ५४ करोड २९ लाख ६० हजार ९२८ रुपैयाँ जरिवाना तोकेको हो। 

आन्तरिक राजश्व कार्यालय पर्साले १० महिना १० दिनसम्म अनुसन्धान गरी १३ जना अभियोगीहरू मध्ये आठजना दोषी ठहर गरेको आन्तरिक राजश्व कार्यालय पर्साका प्रमुख गोपीकृष्ण कोइरालाले बताए। मदिराको नक्कली स्टिकर प्रकरणमा १० महिना १० दिन लामो अनुसन्धान गरेको उनको तर्क छ। 

दोषी ठहर भएकालाई अन्तः शुल्क ऐन २०५८ को दफा १६ (१) को खण्ड घ बमोजिम जनही ३ करोड ३९ लाख ३५ हजार ५८ रुपैयाँ विगो र विगो बराबरको जरिवाना र १ वर्ष कैद सजाय तोकिएको छ उनले भने। विगो र विगो बराबरको जरिवाना गर्दा एक व्यक्तिको हकमा कुल ६ करोड ७८ लाख ७० हजार ११६ रुपैयाँ परेको राजश्व कार्यालय वीरगन्ज पर्साले जनाएको हो। 

मदिराको नक्कली स्टिकर छपाउने र ओसारपसार गराउने मुख्य योजनाकार हरियाणा भारत घर भई काठमाडाैं महानगरपालिका  १४ कुलेश्वर बस्ने वर्ष ५२ का विनोदकुमार गुप्ता, उनकी श्रीमती बारा कलैया ६ स्थायी घर भई हाल काठमाडाैं १४ कुलेश्वर बस्ने हिमालयन कार्गोका प्रोप्राइटर मधुकुमारी चौधरी, कार्गोका साहु साहुनी गुप्ता र चौधरीका छोरा राहुल गुप्ता र विनोद गुप्ताका भाइ भारतमा दर्ता रहेको सनसाइन कार्गोका मालिक सतिस गुप्ता रहेको आन्तरिक राजश्व कार्यालय पर्साको तथ्यांकमा उल्लेख गरिएको छ। उनीहरू चारैजना अहिलेसम्म फरार छन्।

मुख्य योजनाकार फरार रहे पनि उनीहरूको हकमा पनि एकवर्ष कैद र जरिवानाको लगत कसी राख्नु भनी फैसला भएको छ। त्यसै गरी बिराटनगर महानगरपालिका  १ का हरिओम ट्रेडिङ प्रालि.का संचालक ५० वर्षीय कुलप्रसाद भण्डारी, भारत पूर्वी चम्पारण रक्सौल २० घर भएका वर्ष ४९ का वीरेन्द्रकुमार महतो, मोरङ जिल्ला विराटनगर ११ मधुमारा बस्ने ५४ वर्षीय प्रकाश घिमिरे र धादिङ जिल्ला धुनिवेंसी गाउँपालिका ३ ठेगाना भई हाल काठमाडाैं महानगरपालिका बुढानिलकण्ठ बस्ने ५० वर्षीय राजकुमार राजभण्डारी गरी थप ४ जना पनि दोषी ठहर भएका छन्। उनीहरू अन्तः शुल्क ऐन २०५८ को उक्त दफा उपदफा अनुसार दोषी ठहर गरिएको राजश्व कार्यालय पर्सा वीरगन्जका प्रमुख कोइरालाले बताए।

तेह्रजना अनुसन्धानको दायरामा रहे पनि बाँकी पाँचजना भने दोषी ठहर नभएपछि सफाई दिइएको छ। दोषीहरूबाट २५ यु.पी शक्ति मदिराको १८० एमएलको बोत्तलमा प्रयोग हुने नक्कली अन्तःशुल्क टिकट ८६ हजार ७४० थान गएको भदौ १८ गते वीरगन्ज भंसारमा जाँच पासका क्रममा बरामद भएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.