अर्थ

सम्झौता म्यादभन्दा डेढ वर्षअघि नै बन्यो रातु पुल
SHARES

असार २९, २०७५

    महोत्तरी : देशभरका विभिन्न विकास निर्माणका आयोजना ठेकेदारको लापरवाही र ढिलाइले अलपत्र परेका खबर सार्वजनिक भइरहँदा पूर्व–पश्चिम राजमार्ग अन्तर्गत धनुषा र महोत्तरीलाई जोड्ने रातु पुल सम्पन्न गर्ने सम्झौता भएको मिति भन्दा डेढ वर्ष पहिले नै पूरा भएको छ।

    २०७४ असारमा सरकारसँग सम्झौता गरी मंसिरमा काम शुरु गरेको कालिका टु दी रसुवा जेभी कम्पनीले २०७६ पुस मसान्त सम्ममा पुल बुझाउनुपर्ने सम्झौता छ। तर काम सक्नुपर्ने मिति भन्दा डेढ वर्ष पहिले नै पुल निर्माणको काम सकिएको हो।

    पुल निर्माणको काम सकिएको र सञ्चालन गर्ने अन्तिम तयारी भइरहेको पुल निर्माण ठेकेदार कम्पनी कालिका टु दी का सुपरभाइजर राजकुमार कटुवालले जानकारी दिए।  'साउन १५ गतेभित्रै हामी सवारी आवागमनका लागि पुल खुला गर्छौँ’, उनले भने। २३ करोड ७० लाख लागतमा बनेको रातु पुलको लम्बाइ २२५ मिटर र चौडाइ करिब ११ मिटर छ। 

    रातु पुल निर्माण योजनामा आएको बजेट सोही योजनामा खर्चिएका कारण र चाडपर्व बाहेकका दिनमा रातिसमेत टुकी बालेर काम गरेकाले योजना समय अगावै सकिएको ठेकेदार कम्पनिका साइड इन्चार्ज कृष्ण ढुङ्गेलले बताए। 

    नेपालमा योजनाका लागि छुट्याइने बजेटबाट ठेकेदारहरूले व्यक्तिगत सम्पत्ति जोड्ने र त्यसको आम्दानी मात्रै आयोजना निर्माणमा खर्चिने गरेका कारण योजनाहरु अलपत्र हुने गरेको ढुङ्गेलले बताए। देशको विकास निर्माणका काममा आफ्नो कम्पनी सधैँ जवाफदेही हुने भन्दै उनले कुनै पनि योजना सम्पन्न गर्न कालिका टु दी रसुवा जेभीले म्याद थप गरेको रेकर्ड नभएको बताए। 

    पुलको काम सकिए पनि ठेकेदारले तत्काल सडक विभागलाई पुल बुझाउन भने नपाउने भएको छ। दायाँ बायाँ करिब तीन सय मिटर सडक वर्षाको समयमा पिच गर्न नमिल्ने भएकाले पिच गरेर बुझाउनु पर्ने भएकाले आगामी असोजमा मात्रै कालिका टु दी ले सडक विभागलाई पुल बुझाउने जनाएको छ। 

    रातु नदीमा अहिले सञ्चालन भइरहेको पुलको आसपास क्षेत्रबाट मापदण्डविपरीत ढुंगा गिटी र बालुवा उत्खनन् गर्दा यसअघि सञ्चालनमा रहेको पुल केही वर्षयता जोखिमपूर्ण बनेको हो। गत सालको बाढीले पुलका थप दुई वटा पिलर भासिएपछि बेलिब्रिजबाट सवारी पास भइरहेका छन्। पुल भासिएर जीर्ण भएका कारण बर्सेनि वर्षाको समयमा सवारी आवत जावतमा समस्या हुँदै आएको थियो।  

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]