|
'स्केच' सौजन्य– स्वाद्ध्यायशाला

भानूभक्त भनेर आदिकविमा भाषा सरल्ले गरी\रामायण्कन श्लोकले रचिदिया बैराग्यरस्ले भरी। ठामठाम्मा करुणा र वीररसको खासा मजा पाइन्या, यस्ता यी कविराजको गुण उसै भुल्नन् कसोरी भनि। –मोतिराम भट्ट (भानुभक्तको रामायणकाे भूमिकामा)

भाषाको दिव्य शैलीमय दृढ जगमा रामको सच्चरित्र, पक्की गारो बनाइ उपर गजुरमा भक्ति राखी पवित्र। हाम्रो साहित्यको यो महलकन खडा गर्नमा अग्रगण्य\उत्साही भानुभक्त प्रिय कविवर हुन् लोकसम्पूज्य धन्य । –लेखनाथ पौड्याल (भानुभक्त स्मारक ग्रन्थ)

...साहित्यिक श्रेष्ठताको नाप जनतामा परेको प्रभाव र सर्वकालीन हृदयस्पर्शितामा निर्भर गर्दछ। नेपाली साहित्यको इतिहास हर्दा हामीलाई तेत्तिको प्रभावकारी र सर्वप्रिय अरु जँच्दैनन् जत्ति भानुभक्त कविको रामायण। –लक्ष्मीप्रसाद देवकोटा (लक्ष्मीनिबन्ध संग्रह)।

युवाकवि भट्ट, कविशिरोमणि पौड्याल र महाकवि देवकोटामात्र होइन अन्य कैयौँ कवि साहित्यकारले अादिकवि भानुभक्त अाचार्यको तारिफमा मसी खर्चिएका छन्। प्रवासमा रहेका नेपालीभाषीहरूले भाषिक एकीकरणका योद्धा मान्ने गरेका भानुभक्त आचार्यलाई आदिकवि भनिएकोमा आपत्ति जनाउनेहरू पनि नेपाली साहित्यमै छन्। रामायणलाई धार्मिक ग्रन्थ र भानुभक्तलाई जातीय कविको पगरी गुथाएर उनको कवित्वमाथि प्रश्न उठाउने गरेको पनि नपाइने होइन।

संस्कृत भाषाको जगजगी रहेको र नेपाली भाषालाई हेय दृष्टिले हेरिने त्यो समयमा रामायण लेख्नु कम्ता चुनौतीपूर्ण काम थिएन। संस्कृत भाषामा रहेको रामकथा र रामगीताको वेदान्त दर्शनलाई जनजनको घरमा पुर्याएर भानुभक्तले भाषिक एकीकरणमा योगदान दिए। 

भानुभक्तभन्दा अघि शक्तिबल्लभ अर्ज्याल, रघुनाथ पोखर्याल, गुमानी पन्त लगायतका कविहरूले सिर्जना गरेका थिए। कतिले आफूले गरेका अनुवादलाई मौलिक बनाउन सकेनन् भने कतिले शासकको गुणगानलाई कविधर्म माने। यसैकारण पनि उनीहरू लोकप्रिय बन्न सकेनन्। रचना सरल, सरस र अनुवादमा मौलिक भएकाले उनी सर्वसाधारणबीच चाँडै भिज्न सफल भए। नेपाली भाषामा लेखिएको सबै अंग पुगेको पहिलो महाकाव्य भानुभक्तकै रामायण मानिन्छ। यही आदिकाव्यका सर्जकलाई आदिकविको सम्मान दिइएको हो। 

रचना सरल, सरस र अनुवादमा मौलिक भएकाले उनी सर्वसाधारणबीच चाँडै भिज्न सफल भए। नेपाली भाषामा लेखिएको सबै अंग पुगेको पहिलो महाकाव्य भानुभक्तकै रामायण मानिन्छ। यही आदिकाव्यका सर्जकलाई आदिकविको सम्मान दिइएको हो।

एक् दीन् नारद सत्यलोक पुगिगया लोक्को गरू हीत भनी\ब्रह्मा ताहिँ थिया पर्या चरणमा खूसी बनाया पनी।... साँच्चै नै लोकको हित गर्न भनेरै भानुभक्तले रामायणको अनुवाद गरेका थिए। संस्कृत भाषाको महत्व रहेको त्यसबेला अपहेलित रूपमा रहेको जनबोलीको नेपाली भाषामा रामायण अनुवाद गरेर प्रशंसा पाइएला भन्ने भानुभक्तले पक्कै पनि सोचेका थिएनन् होला।

रामायणमात्र नभई आदिकविका फुटकर कविताको मात्र अध्ययन गर्ने हो भने पनि उनको प्रतिभा अहिलेसम्मका कुनै कविसँग तुलना गर्न सकिँदैन। कान्तिपुर शहरको प्रशंसामा बनाएको ‘चपला अबला...’ होस् या गिरिधारिको मुद्दा सदरमा पुगेपछि न्यायाधीशलाई लेखेको ‘न मृत्यु टर्न्या...’ लगायतका कविता कालजयी छन्। ‘बिन्ती डिट्ठा–विचारीसँग...’ पद्य लेखेर उनले त्यतिबेला पनि चलिरहेको भोलिवादलाई शालीन रूपमा व्यंग्य गरे। ‘रोज् रोज् दर्शन पाउँछू...’ कविता लेखेर कुमारीचोकमा थुनिँदाको पीडालाई सभ्य किसिमले व्यंग्य गरे।

‘धनी म छैन...’ होस् वा गजाधर् सोतीकी घरबुढीलाई ठेगानमा लगाउन बनाएको कविता ‘गजाधर् सोतीका घर बुढि...’ होस् यी सबै कालजयी मानिन्छन्। परिस्थिति हेरेर जुनसुकै विषयलाई तत्काल हृदयस्पर्शी ढंगबाट प्रस्तुत गर्नु यिनको विशेषता थियो।

भर्–जन्म घाँसतिर मन् दिइ धन कमायो\ नाम् क्यै रहोस् पछि भनेर कुआ खनायो। घाँसी दरिद्रि घरको तर बुद्धि कस्तो\ मो भानभक्त धनि भैकन आज यस्तो।। मेरा इनार न त सत्तल पाटि क्यै छन्\ जो धन् र चीजहरु छन् घरभित्र नै छन्। यस् घाँसिले कसरि आज दिएछ अर्ती\धिक्कार हो मकन बस्नु नराखि कीर्ति।। आदिकवि भानुभक्तको जीवनचरित्र लेख्ने क्रममा युवाकवि मोतिराम भट्टले भानुभक्तले यी दुई पद्य १८९१ सालमा लेखेको उल्लेख गरेका छन्। 

मोतिरामका अनुसार २० वर्षको युवावस्थामा भानुभक्तले यी पद्यका रचना गरेका थिए अर्थात् जब घाँसीबाट प्रेरणा पाए अनि मात्र उनको काव्ययात्रा अघि बढ्यो। उनीपछि भानुभक्तसम्बन्धी अनुसन्धान गर्नेहरूले पनि यही भनाइलाई पछ्याउँदै आए। अझै पनि पाठ्यपुस्तक र भानुभक्तको जीवनी लेख्नेहरूले यसैलाई आधार मानेर घाँसीबाट प्रभावित भए कवितालेखन सुरु गरेको भन्दै आएका छन्।

२०१७ सालमा प्रकाशित भानुभक्त आचार्यको सच्चा जीवनचरित्र पुस्तकमा नरनाथ आचार्यले यी पद्य भानुभक्तले आफ्नो जीवनकालका उत्तरार्धतिर लेखेका हुन् भन्ने तथ्य बाहिर ल्याए। १९२० सालको जेठमा ससुराली मानुङ जाने क्रमममा चुँदी रम्घाभन्दा तीन चारकोष परको बुल्दीखोलामा पानी खाएर थकाइ मार्ने क्रममा भानुभक्तले ती घाँसीलाई भेटेका थिए। घाँसीको लोक उपकारको कुरा सुनेर चकित भएका उनले आफ्नो मनमा उत्पन्न भएको भाव व्यक्त गर्दै दुई पद्य रचना गरेका थिए। भानुभक्तकृत भाषारामायण (२०६७) का सम्पादक शिवराज आचार्य कौण्डिन्न्यायनले ती घाँसीको नाम वसन्त पन्थ भएको खुलाएका छन्।(पृ.५६०)

यस्ता बहुमुखी प्रतिभा भएका कवि भानुभक्त धनञ्जयका छोराका रूपमा धर्मावतदिेवीको कोखबाट १८७१ सालमा चुँदीरम्घामा जन्मेका थिए। तनहुँका विद्वान् श्रीकृष्ण आर्चायका नाति भानुभक्तले १४ वर्षको उमेरसम्म बाजेकै सान्निध्यमा रहेर देवीमाहात्म्य, अमरकोष, रुद्री, वेदको अध्ययन गरे। यस्तै ज्योतिष, साहित्य र आयुर्वेदको समेत ज्ञान लिए।

१८९० सालतिरै काशीमा पढ्ने क्रममा एक सभामा आफ्नो परिचय दिने क्रममा भानुभक्तले यस्तो पद्य सुनाएका थिए– पाहाड्को अतिबेस देश् तनहुँमा श्रीकृष्ण ब्राह्मण थिया\खुप् उच्चा–कुल आर्यवंशि हुन गै सत्कर्ममा मन्दिया। विद्यामा पनि जो धुरन्धर भई शिक्षा मलाई दिया। तिन्को नाति म भानुभक्त भनि हुम् यो जानि चिह्नीलिया।   

१४ वर्षको उमेरमा  भानुभक्त विद्याध्यायनका लागि वनारस  गएका उनले विभिन्न शास्त्रार्थमा आफ्नो विद्वता प्रदर्शन गरे। पितामह श्रीकृष्ण आचार्यले पाठ गर्ने गरेको शंकराचार्यकृत प्रश्नोत्तर मालिका सुन्ने गरेका र मन परेका केही श्लोकहरू कण्ठ पारी ‘प्रश्नोत्तर’ बनाएका थिए। यसैगरी बाजे श्रीकृष्ण आचार्यबाट सुनेका वैराग्यसम्बन्धी संस्कृत श्लोकबाट प्रभावित भई ‘भक्तमाला’ रचना गरेका थिए। कवितामा रस बस्दै गएपछि उनले वाल्मीकिको संस्कृत रामायणलाई श्लोकबद्ध रूपमै अनुवाद गर्न थालेका थिए। आफ्नै घरमा बाजेलगायतसँग चण्डी रुद्री व्याकरण काव्य ज्योतिष लगायतका विषय अध्ययन गरेका भानुभक्त वाराणसीमा लिएको दर्शन आदिको ज्ञानबाट अझ खारिएका थिए।  

१८९० सालतिरै काशीमा पढ्ने क्रममा एक सभामा आफ्नो परिचय दिने क्रममा भानुभक्तले यस्तो पद्य सुनाएका थिए– पाहाड्को अतिबेस देश् तनहुँमा श्रीकृष्ण ब्राह्मण थिया\खुप् उच्चा–कुल आर्यवंशि हुन गै सत्कर्ममा मन्दिया। विद्यामा पनि जो धुरन्धर भई शिक्षा मलाई दिया। तिन्को नाति म भानुभक्त भनि हुम् यो जानि चिह्नीलिया।   

उनको रामायण लेखन १८९८ मा प्रारम्भ भएको थियो। यसैगरी जीवनको उत्तरार्धतिर वेदान्त दर्शनको सार रामगीताको समेत अनुवाद गरी भ्याएका थिए। वि.सं. १९२५ मा दिवंगत भएका भानुभक्तका रचनाहरू उनको जीवनकालमा नछापिएपनि सर्वसाधारणको मुख मुखमा झुण्डिएको थियो। यसैलाई पछ्याउँदै मोतिरामले भानुभक्तको रामायणको खोजी गरी छपाउन लगाएका थिए।

भानुभक्तकृत रामायण बालकाण्डको प्रथम प्रकाशन भारतजीवन प्रेस वाराणासीबाट वि.संं. १९४१ मा भएको थियो। यसैवर्ष वनारसकै अर्को एक प्रकाशनबाट  प्रश्नोत्तरमाला र भक्तमाला छापिएको थियो। वि.संं.१९४२ मा सातैकाण्डको रामायण ‘रामायण भाषा’ को नाममा छापियो। रामगीता भाषा र बधूशिक्षा क्रमशः १९४७ र ४८ मा भारत जीवन यन्त्रालय काशीबाट प्रकाशित भएका थिए।

मोतिराम भट्टले पहिलोपटक भानुभक्तको खोजी गरी उनका रामायणलगायत कृति र उनको जीवनीसमेत छपाए। त्यसपछि भानुभक्त आचार्य सर्वसाधारण नेपालीको मनमनमा बस्न थाले। उनले सबैले बुझ्ने भाषामा तयार पारेको रामायण नेपालमा मात्र होइन नेपाली रहेका भारत भुटान बर्मा लगायतका क्षेत्रसम्म फैलिन पुग्यो। ३० वर्षकै मोतिराम कलिलो उमेरमा दिवंगत भएका कारण मोतिरामले त्यतिबेला खोज गरेका भानुभक्त र उनका कृतिहरूमा कतिपय अपूर्ण रहेका थिए। 

मोतिरामपछि आजसम्म पनि आदिकविका बारेमा अध्ययन अनुसन्धानहरू चलिरहेकै छन्। भानुभक्तका कृतिहरू र उनको योगदानलाई जनसमक्ष ल्याउन आदिकविकी नातिनी विष्णुमाया, साहित्यकार शम्भुप्रसाद ढुंगेल, सूर्यविक्रम ज्ञवाली, इतिहासकार बाबुराम आचार्य, कविका पनाति मुक्तिनाथ आचार्य, नरेन्द्रराज प्रसाइँले विभिन्न प्रयास गरेको पाइन्छ। यसैगरी पण्डित कविराज नरनाथ आचार्य र शिवराज आचार्य कौण्डिन्न्यायनले पनि पुस्तकमार्फत आदिकविका बारेमा विभिन्न तथ्य प्रकाशमा ल्याएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.