|

काठमाडौं : आदिकवि भानुभक्त आचार्यको २०१ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइएको छ। नेपाली भाषाका आदिकवि भानुभक्तको जन्मजयन्तीका अवसरमा शुक्रबार प्रभातफेरि, गोष्ठी, सम्मानलगायतका विविध कार्यक्रम गरिएका छन्।

विक्रम सम्वत १८७१ साल असार २९ गते तनहुँको चुँदी रम्घामा जन्मिएका भानुभक्तको सम्झनामा राजधानी काठमाडौंलगायत मुलुकभर विविध कार्यक्रम गरिएका हुन्। भानु प्रतिष्ठान काठमाण्डौले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थी र साहित्य अनुरागीहरु सहभागी भएका छन्।

प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एव रक्षामन्त्री ईश्वर पोखरेल, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीलगायत विशिष्ट व्यक्तिहरु सहभागी थिए। प्रधानमन्त्री ओलीले आदिकवि भानुभक्तले नेपाली भाषा र साहित्यमार्फत समाज सेवा र नेपालको एकीकरणमा ठूलो योगदान गरेको उल्लेख गर्दै नेपाललाई अनेक ढंगले एकतावद्ध बनाउने सवालमा उनीबाट सबैले प्रेरणा लिनुपर्ने बताए। प्रधानमन्त्री ओलीले भानुभक्तको शैली, प्रवृतिको महत्व अहिले पनि उत्तिकै रहेको भन्दै सबैले उनको योगदानको कदर गर्दै उनको शैली र भावनालाई पछ्याउनुपर्ने आवश्यकता औँल्याए।

प्रधानमन्त्री ओलीले भानु प्रतिष्ठानको कार्यालयका लागि आवश्यक स्थान र सञ्‍चालनको व्यवस्थाका सम्बन्धमा सरकारले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए।

कार्यक्रममा साहित्यकार ताना शर्मा लगायतका साहित्यकारहरुलाई नेपाली भाषा र साहित्यमा योगदान पुर्‍याएबापत सम्मान गरिएको थियो। नेपाली भाषा र साहित्यको विकासमा उल्लेखनीय योगदान गरेका भानुभक्तलाई सरकारले राष्ट्रिय विभूति घोषणा गरेको छ।

भानुभक्तको जन्मदिनलाई भारतको सिक्किम र दार्जिलिङका नेपाली भाषीले वर्षेनि उत्सवका रुपमा मनाउने गर्दछन्। त्यसैगरी भारतबाहेक अन्य देशमा रहेका नेपालीले आदिकवि भानुभक्तले नेपाली भाषा र साहित्यमा पुर्‍याएको योगदानको सम्झनामा भानु जयन्ती मनाउने गर्दछन्। भानुभक्तका भक्तमाला, वधुशिक्षा, प्रश्नोत्तर, रामगीता लगायतका कृति चर्चित छन्।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.