|

इलाम : घरेलु उद्योग खोलेर चिया प्रशोधन गर्दै आएका किसानहरूको चियाले अर्गानिक प्रमाणीकरण पाउन सकेको छैन। ठूला उद्योगहरूले राम्रो मूल्य नदिएपछि आफैं साना खालका उद्योग खोलेर प्रशोधन गरिरहेका किसानहरूले पहुँच नपुगेका कारण चियाको अर्गानिक (जैविक) प्रमाणीकरण गर्न नसक्दा तेश्रो मुलुक निर्यात हुन नसकेको हो।

घरेलु उद्योग चलाउने किसानहरूले जैविक अर्थोडक्स चिया तयार गरे पनि अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन सकेका छैनन्। ‘युरोपको बजारमा जैविक चियाको माग राम्रो छ तर, विश्वसनीय निकायबाट प्रमाणित हुनुपर्ने रहेछ,’ सांखेजुङस्थित पाथिभरा चिया प्रशोधन उद्योगका मोति दाहालले भने।

नेपालमा जैविक चियाको प्रमाणीकरण गरेर प्रमाणपत्र दिने निकाय छैन। नेपालभित्र चियामा रासायनिक पदार्थको मात्रा जाँच्ने प्रयोगशाला पनि छैन। विदेशी निकायसँग प्रमाणीकरणका लागि सम्पर्क र सम्बन्ध विस्तार गर्न पनि पहुँच नपुग्ने किसानहरूले बताएका छन्।

जर्मन टी काउन्सिल र युरोपियन टी कमिटीले सन् २००५ मा खाद्य पदार्थको रहल अवशेषको नयाँ मापदण्ड तयार गरेपछि रासायनिक पदार्थ मिसिएको चिया तेश्रो मुलुकमा निकासी हुन छाडेको छ। त्यसअघि काउन्सील र कमिटीमार्फत नै नेपाली अर्थोडक्स चिया युरोप र अमेरिका जाने गर्दथ्यो।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका पूर्वसदस्य एवं प्रदेश सांसद काजीमान कागतेले जैविक चियाको प्रमाणीकरण गराउन किसान एक्लैले नसक्ने बताए। घरेलु उद्योगले तयार गरेको अर्गानिक अर्थोडक्स चिया स्थानीय बजारमा लोकप्रिय छ। ‘तयारी चिया स्थानीय बजार गुणस्तरअनुसार प्रतिकिलो एक सयदेखि दुई हजार रुपैयाँसम्ममा बिक्री हुन्छ। तर, अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन सक्दा अझै राम्रो दाम पाउन सकिन्थ्यो,’ साँखेजुङका कञ्चनजंघा चिया प्रशोधन उद्योगकी मिलन खत्रीले बताइन्।

किसानहरूले अन्तर्राष्ट्रिय बजारलाई नै लक्षित गरेर जैविक चिया तयार गरिरहेका छन्। नेपाली बजारमा सस्तो सिटिसी चिया खपत बढी हुन्छ। सिटिसीसरह मूल्यमा अर्थोडक्स चिया बेच्न नसकिने भएकाले अन्तर्राष्ट्रिय बजारमा जानुको विकल्प नभएको साना उद्यमीहरूको भनाइ छ। ठूला उद्योगले चियापत्तिमा कम मूल्य दिन थालेपछि जितपुर, सांखेजुङ, कन्यामलगायतका क्षेत्रका किसानहरूले व्यक्तिगत, सामूहिक र सहकारीमार्फत एक सयभन्दा बढी घरेलु उद्योग चलाएका छन्। यस्ता उद्योगमा किसानले पाँच लाखदेखि एक करोड रुपैयाँसम्म लगानी गरेका छन्। किसानहरूले ड्रायर, रोलिङ मेशिनहरू आफैं परिमार्जन गरेर घरेलु खोलेका हुन्। किसानहरूले प्रमाणीकरणको प्रक्रिया अघि बढाउनका लागि सरकारले सहयोग गरे राहत मिल्ने बताएका छन्।

भारतबाहेकका देशले अर्गानिक चिया मात्र रुचाउँछन्। अर्गानिक चियाको प्रमाणीकरणमा एउटा कारखानाले दश लाखसम्म खर्च गर्नुपर्ने भएकाले साना उद्योगले अर्गानिक चिया युरोप निर्यात गर्न सकेका छैनन्। यसको विकल्पका रूपमा साना उद्योगले भारतमा चिया बिक्री गर्ने गरेको चिया उद्यमी गोपाल कट्टेल बताउँछन्।

सानो लगानीमा चिया कारखाना चलाउने चिया उद्यमीले कट्टेलको जस्तै समस्या अरू उद्यमीहरूले पनि भोग्नुपरेको छ। अहिले कतिले चिया विकाउन ठूला उद्यमीको सहारा लिइरहेका छन् भने कति अलमलमै छन्।

छैन सहज भारतमा पनि  

नेपाली चिया सहज रूपमा भारतसमेत निकासी हुँदैन भारत सरकार र नेपाल सरकारकै कतिपय प्रावधानका कारण समस्यमा परेको साना उद्यमीहरूको भनाइ छ। चियाविज्ञ चन्द्रभुषण सुब्बा भारतले लगाएको सेन्टर फुड ल्याव (सिएफएल)मा परीक्षण गराएर मात्र भारत निर्यात गर्ने महंगो र झन्झटीलो प्रावधानदेखि नेपाल सरकारले यस वर्षदेखि सुरु गरेको एक्जिम कोडको व्यवस्थासम्मको तगारोमा सानो उद्यमीहरू फसेको बताउँछन्।

भारतले केन्द्रीय खाद्य परीक्षण प्रयोशालाको प्रमाणपत्र लिन लगाएको महंगो प्रक्रियाले चिया उद्यमीहरूलाई भारतमा चिया बेच्न नै नसक्ने अवस्था बनाएको सुब्बाले बताए। उनले भने ‘एउटा नमूना परीक्षण गर्न एक महिना लाग्ने भएकाले पनि व्यापारमा समस्या छ। एक महिनाको अवधीमा त चियाको मूल्यमा कति फरक आइसक्छ।’ नेपाल सरकारले एक्जिम कोडको व्यवस्था गरेपछि साना उद्योगले वार्षिक तीन लाख रुपैयाँ धरौट राख्ने प्रावधानले पनि उद्यमीलाई थप व्यायभार थपिएको साना उद्यमीको संस्था स्पेसलिटी टी एसोसिएसन नेपाल (स्टान) अध्यक्ष राजु शेर्मा बताउँछन्। चियाको सामाग्री आयात र चिया निर्यात गर्ने कम्पनीका लागि सरकारले यो व्यवस्था लागू गरेपछि यस वर्ष साना उद्यमी पूरै प्रभावित भएको शेर्माले बताए।

के हो सिएफएल

सिएफएल भारतले खाद्य सामानको जाँच गर्ने निकाय हो यसको प्रमाणपत्र लिन मात्र भारु ६८ हजार अर्थात् एक लाख आठ हजार रुपैयाँ नेपाली लाग्ने गरेको छ। प्रत्येक छ महिनामा नवीकरण गर्नुपर्ने सिएफएल परीक्षणका लागि भारु २० हजार अर्थात् नेपाली ३२ हजार रुपैयाँ पर्ने गरेको छ।

परीक्षणका लागि एउटा उद्योगले थप दुई सय किलो चिया माग्ने गरेको छ। व्यवसायीहरूका अनुसार एजेण्टसँग मिलाउँदा ८० किलोसम्मले हुन्छ। ८० किलो चियाको मूल्य करिव ८० हजार नेपाली रुपैयाँ हुन आउँछ। सिएफएल प्रमाणीकरण नभएको चिया भारतले खरिद गर्न नमान्दा नेपाली चिया किसान मारमा छन्।

सन् २०१५ डिसेम्बरभन्दा अघि भारतका विभिन्न क्रेतालाई चिया निर्यात गर्दा एउटा नेपाली व्यवसायीले एकपटकमात्रै कलकत्तास्थित केन्द्रीय खाद्य प्रयोगशाला (सेन्ट्रल फुड ल्याबोरेट्री) बाट गुणस्तर परीक्षण गराउँदा ६ महिनासम्मलाई मान्य हुन्थ्यो। त्यसपछि भने नियम परिर्वतन भइहरेक व्यापारीसँग कारोवार गर्दा छुट्टाछुट्टै सिएफएल परीक्षण गराएर छुट्टाछुट्टै फाइल खडा गर्नुपर्ने भएको छ। यस अघि भारु ३० हजारमा सिफएल प्रमाणपत्र बन्ने गरेका थियो। नवीकरण गर्नका लागि दुई किलो चिया र भारु १२ हजार लाग्ने गरेको थियो। झन्डै दुई वर्षदेखि लागू भएको नयाँ व्यवस्थाले उद्यमीहरूमा झंझट र व्ययभार थपिएको कारण पनि किसानहरू सिएफएल बनाएका कम्पनीहरूलाई सस्तोमा चिया बेच्नु परेको चियाविज्ञ सुब्बा बताउँछन्।

व्यपारिक मुलुक ३० हाराहारी तर ९० प्रतिशत भारतकै भरमा

नेपालको चिया भारत बाहेक ३० वटाभन्दा बढी देशमा पुग्ने गरेको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले जनाएको छ। तर साना चिया उद्यमीका लागि प्रशोधीत चियाको ९० प्रतिशत बजार भारत नै रहेको चिया तथा कफी विकास बोर्डको विवरणमा उल्लेख छ। नेपालको साना/ठूला उद्योगले उत्पादन गरेको करिव ८५ प्रतिशत चिया भारत जाने गरेका छ। सुब्बाका अनुसार नेपालमा वार्षिक उत्पादन हुने ५० लाख किलो चियामध्ये ८५ प्रतिशत भारत जान्छ। भारत निकासी भएर बाँकी रहेको १५ प्रतिशत चियाको ४० प्रतिशत मात्र अर्गानिक प्रमाणीत भर्इ तेश्रो मुलुक निर्यात हुने गरेको छ।

साना चिया उद्योगका लागि स्वतन्त्र परामर्शदाताको रूपमा इलाममा काम गरिरहेका चियाविज्ञ आरसी नेपाल सिएफएल प्रावधानले नेपालको चियालाई भारतले निरुत्साहित गर्न खोजेको बताउँछन्। उनले परीक्षणका लागि भारतले गरेको कडाइले उद्यमीहरू भारतका एकजना व्यापारीसँग मात्र कारोबार गर्न बाध्य बन्दै गएको बताए।

विसं २०५६ सालसम्म विदेशबाट धेरै चिया आयात हुने गरेकामा त्यसयता यहाँबाट आन्तरिक खपतभन्दा बढी निर्यात हुन थालेको थियो। नेपालले आव २०७२/०७३ मा चिया निर्यातबाट दुर्इ अर्ब ४० करोड रुपैयाँ भित्र्याएकोमा ०७३/७४ मा दुर्इ अर्ब ५३ करोड रुपैयाँ भित्रिएको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांकले देखाउँछ। तर, वर्षेनी पाँच करोड रुपैयाँको तयारी चिया भने विदेशबाट आयात हुन्छ। इलाममा उत्पादन हुने करिब ५० लाख किलो अर्थोडक्स तयारी चियामध्ये वर्षेनी तीन लाख किलोजति मात्रै अर्गानिक रहेको हिमालयन अर्थोडक्स टि प्रोडयुसर्स एसोसिएन (होट्पा) पूर्वअध्यक्षमसेत रहेका उद्योगी उदय चापागाईंले बताए।

युरोप निर्यात गर्न १२ सयसम्म कार्गो भाडा

जर्मनलगातय युरोपेली मुलुकमा चिया निर्यातमा महंगो कार्गो भाडाले अधिकांश उद्योगीलाई कायल बनाइरहेको इलामका उद्यागी/व्यवसायी बताउँछन्। तयारी चिया अमेरिका वा जर्मन निर्यात गर्नका लागि १२ डलरसम्म कार्गो भाडा तिर्नु परिरहेको सन्दकफु टि प्रोसेर्ससका प्रोपाइटर एवं चियाविज्ञ सुब्बाले बताए। उनले भने ‘तीन हजारको चिया १२ सय रुपैयाँसम्म कार्गो भाडा खर्चेर पठाउनुपर्छ।’ थोरै चिया निर्यात गर्दा बढी रकम लाग्ने गरेको छ। धेरै चिया निर्यात गर्दा भने पाँच डलर जति मात्रै पर्ने उनी बताउँछन्।

कतिपय देशबाट थोरै मात्र चियाको माग आउने गरेको छ। त्यस्ता खरीदकर्ताका लागि चिया निर्यात गर्दा बढी रकम लाग्ने गरेको उद्योगी बताउँछन्। ‘कोही थोरैथोरै चिया माग गर्ने व्यापारी पनि हुन्छन,’ सुब्बाले भने, ‘थोरै माग्नेलाई पठाउँदा भाडा महंगो पर्छ।’ थोरै चिया एयर कार्गोमार्फत विदेश पुग्छ। एयर कार्गोका लागि बढी मूल्य तिर्नु परेको साना उद्यमीको भनाइ छ। थोरै चिया निर्यातका लागि पनि उत्ति नै प्रक्रिया पूरा गर्नुपर्छ।

नेपालमै अक्सन मार्केट संचालन अन्योलमा

चिया रोपेको तीन वर्षमा नै उत्पादन दिन्छ। चिया तथा कफी विकास बोर्डकाअनुसार अहिले १८ हजार किसानले चिया खेती गरिरहेको छन्। हरेकवर्ष चियाको उत्पादन र क्षेत्रफल वृद्धि हुँदै गएको छ।

चियाको सार्वजनिक खरिद–बिक्री हुने स्थान ‘अक्सन’ स्थापना नहुँदा स्वदेशी उत्पादन अन्तर्राष्ट्रिय बजारमा किनबेचमा अझै कठिनाइ रहेको सरोकारवाला बताउँछन्। नेपाली चिया काँक्रभिट्टा नाकाबाट भारत हुँदै विदेशी बजारमा जाने गरे पनि ‘अक्सन’ अभावमा यहाँबाट सिधै ‘अन्तर्राष्ट्रिय बजार’ मा निर्यात भएको छैन।

बेलायतबाट सुरु भएको यो ‘अक्सन’ विधि भारतले सन् १९८० देखि नै प्रयोगमा ल्याए पनि नेपालमा अझै छैन। चिया तथा कफी विकास बोर्डमार्फत चियाको सहज बजारीकरणका लागि २०७२ वैशाखबाट एकीकृत चिया बिक्री केन्द्र (अक्सन सेन्टर) झापाको बिर्तामोडमा  सञ्चालनमा ल्याइने भनिए पनि तीन वर्ष बित्नै लाग्यो अझै कहिलेबाट सञ्चालनमा आउने भन्ने अन्योल नै छ। अक्सन सेन्टर संचालनका लागि करिव चार करोड रुपैयाँ लाग्ने बोर्डको अनुमान थियो।

अक्सन सुरु गरे नेपाली चियाको ब्रान्ड अन्तर्राष्ट्रिय बजारमा स्थापित हुने बोर्डका निर्देशक शेषकान्त गौतमले बताए। ‘अक्सन स्थापना भए अन्तर्राष्ट्रिय व्यापारीले सिधै नेपालको चिया किन्छन्,’ उनले भने, ‘यसले हाम्रो चियालाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्छ।’ अक्सन सञ्चालनमा आए खरिद–बिक्री एकै ठाउँमा हुने भएकोले चियाको गुणस्तर कायम गर्न पनि सजिलो हुने उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.