|

जाजरकोट : भेरी नगरपालिका ४ रानागाउँका दलवीर लुहार १० वर्ष अघिसम्म कुनै गैरदलितको घर र मन्दिर पस्न पाउँदैनथे। झन उनले छोएको पानी र खाना गैरदलित त्यसमा पनि बाहुन र ठकुरीले खाने कुरा त कल्पनासम्म पनि गर्न सकिँदैनथ्यो अहिले उनै दलवीरको दैनिकी र जीवनशैली फेरिएको छ।

१० वर्ष अघि जसले उनले छोएको पानी पिउँदैनथे अनि जसको घरभित्र उनी जान पाउँदैनथे। आज भाग्य हेरिदेऊ भनेर उनैहरू उनको घरमा लाइन लागेर आउँछन्। पहिले दलवीर गैर दलितको घर पुग्दा बाहिर पिँढीको छेउमा बस्नुपर्थ्याे। तर, अहिले गैरदलितहरू दलवीरको घरमा पुगे भने उनको बस्ने (आसन) नछोएर अलि पर बस्छन्। अनि आफ्नो समस्या सुनाउँछन्। दलवीरको घरमा पुग्ने गैरदलितको भीड र उनीहरूको दलवीर प्रभुप्रतिको विश्वास हेर्दा जाजरकोटमा जातीय छुवाछुत छ जस्तो कसैलाई लाग्दैन। 

कुशे गाउँपालिका-६ की तारा सिंहले भनिन्, ‘म ठकुरीकी छोरी हुँ। तर म आफूलाई समस्या परेको हेराउन यहाँ आएकी छु। यो घरमा आउँदा मलाई दलित र गैरदलित बीचको छुवाछुत गलत हो जस्तो लागेको छ।’ उनले थपिन्, ‘म उहाँ दलवीर प्रभुले दिएको पानी खान्छु। भोक लागे यतै खाना पनि खाइदिन्छु। यहाँ आउँदा कुनै छुवाछुत र भेदभावको अनुभूति नै हुँदैन।’

दलवीर आफ्नै घरमा बसेका छन्। तर उनले दिएको पानी र खानेकुरा खाने मात्र होइन। गैरदलितहरू सम्मानजनक भाषा शैलीको प्रयोगसमेत गर्छन्। १० वर्ष अघि दलवीरलाई सामान्य दलित मान्ने र अहिले उनलाई प्रभु मानेर आफ्नो भाग्य र समस्या देखाएर भविष्यवाणी गरिदिन आग्रह गर्नेहरू सवैजसो गैरदलित नै छन्।

बिहान उज्यालो नहुँदै एउटा सालको पात, थोरै नगद भेटी र अन्य सामग्रीको साथमा घरमा आउनेहरूको कुनै गणना छैन दलवीरसँग। व्यक्तिगत जीवनका समस्याहरू,स्वास्थ्य अवस्था, बच्चा नभएको समस्या,भाग्य, भविस्य, पढाइ-लेखाइदेखि दाम्पत्य जीवन र पारिवारिक सुख-दुखका हरेक कुराहरू हेराउन गैर दलितहरू दलवीरको घरमा पुग्छन्।

आफ्नो मान्यता अनुसारका दिन वा बारमा साइत जुराउँदै आफूसँग हेराउन आएका आगन्तुकलाई दलवीरले भने, ‘पानी, नास्ता, खाना र फलफूल लगायतका कुराहरू दिएर स्वागत सत्कार गर्ने गर्छन्।’ टाढाबाट आएका आगन्तुकलाई खाना पकाएर खुवाउनुका साथै उनीहरूको लागि घरमै बास वस्ने व्यवस्था पनि गरेका छन् दलवीरले। जातीय छुवाछुतको प्रभाव रहेको जाजरकोटमा आउने कोही पनि व्यक्ति दलवीरको घरमा पुगेपछि जातीय छुवाछुत पूरै भुल्छ। यति मात्र होइन दलवीरका जेठा छोरा बलवीर विकले ठकुरीकी छोरीसँग विवाह गरेपछि छुवाछुतबिरुद्ध लाग्न सहयोग पुगेको स्थानीयहरू बताउँछन्।

छेडागाड नगरपालिका-१२ की सीता सिंहसँग प्रेम विवाह गरेका दलवीरका छोरा बलवहादुरले गत वर्ष प्रेम विवाह गरेका हुन्। प्रभु मानेर आफ्नो हात हेराउने आफ्नो भाग्य भविस्य हेराउने उनै दलितले मन्तरेको पानी पिउने कार्यमा अधिकांश गैर दलितहरू भएपछि अन्य अवस्थामा उनीहरूबीच भेदभाव हुनु गतिलो नभएको असल शासनकर्मी बालकुमार शर्माले बताए। जातीय रूपमा भन्दा पनि व्यक्तिको व्यवहार र सरसफाइले छुवाछुत अन्त्य हुन मद्दत पुग्ने शर्माले बताए। उनले अहिलेको जमानामा पनि मान्छे-मान्छे बीचमा छुवाछुत हुनु दुखद कुरा भएको भन्दै शर्माले सरसफाइ र व्यक्तिगत सभ्य व्यवहारले हाम्रो हीन भावनालाई समाप्त गर्न सक्ने बताए।

घरमा आफूसँग दलित भन्दा वढी गैर दलितहरू नै हेराउन आउने गरेको दलवीरले बताए। उनले आफूसँग हेराउन आउनेहरू मध्य ठकुरी, वाहुन क्षेत्रीको संख्या नै बढी रहेको बताए। १० वर्ष देखि प्रभु वनेर ज्योतिषी काम गरिहेका दलवीरले आजसम्म तीस चालिस हजार बढी मानिस आफ्नो घरमा हेराउन आइसकेको बताए। जिल्लाभित्र र बाहिरबाट आउने अधिकांश मानिसहरू गैरदलित नै भएको उनको भनाइ छ।

१० वर्ष अघि भेरी नगरपालिका-४ गैरीखाली अर्थात साविकको खलंगा गाविस १ गैरीखालीमा एक स्थानीयको घरमा सप्ताह पूजामा सहभागी भइरहेकै वेला आफूलाई ज्योतिष विद्या आएको भन्दै दलवीरले आफूलाई प्रभुको रुपमा प्रस्तु गर्दै आएका छन्। विगतमा आफूलाई दलित भनेर फरक दृष्टिकोणले हेर्नेहरू आज भोलि प्रभुको रुपमा हात हेराउन आएको देखेर दलवीर जातीय छुवाछुत विपन्न र शक्तिहीनको लागि मात्र भएको अनुभूति आफूलाई भएको बताउँछन्।

दलबीरको घरमा गैरदलितहरू जानु भनेको जातीय समानताका लागि ठूलो मद्दत भएको नागरिक अगुवा राजेन्द्र विक्रम शाहले बताए। उनले दलित र गैरदलितका बीचमा हुने छुवाछुत र भेदभावलाई दलीवीर र गैर दलितबीचको धार्मिक सदभावपूर्ण व्यवहारले हटाउन सहयोग गरेको बताए। सदरमुकाम खलंगामा पछिल्लो चरणमा छुवाछुतको व्यवहार हट्दै गए पनि पुराना पुस्ताका व्यक्तिले जातीय छुवाछुतको चलन तोड्न नसकेकाे स्थानीय सरोकारवालाहरू बताउछन्।

जिल्लाको ग्रामीण भेग र बस्तीहरूमा अलि बढी जातीय छुवाछुतको चलन देखिएको भए पनि शिक्षित युवाले छुवाछुतको चलन  तोड्दै लिएको भेरी नगरपालिका-१ का स्थानीय सहदेव वस्नेतले बताए। उनले पछिल्लो चरणमा जातीका आधारमा भेदभाव र छुवाछुत गर्ने चलन घटेको र दलित गैरदलत एकै साथ खाने बस्ने जस्ता क्रियाकलापमा सहभागी हुन थालेको बताए। तर, नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ जाजरकोटका अध्यक्ष मानवहादुर सुनारले भने,‘अहिले पनि गाउँमा दलितहरूलाई घरमा बस्न नदिने नराम्रो चलन रहेको छ।’ पढेलेखेका युवामा छुवाछुतको भावना नभए पनि ग्रामीण भेग र अघिल्लो पुस्ताका मानिसले अहिले पनि छुवाछुत गर्ने गरेको सुनारले बताए।

दलवीर लुहार प्रभुका कारण धेरै हदसम्म जातीय छुवाछुत कम गर्न सहयोग पुगेको उनले बताए। राष्ट्रिय जनगणना २०६८ का अनुसार जाजरकोटको कुल १ लाख ७१ हजार ३०४ मध्ये ५० हजार बढी दलितको संख्या रहेको छ। जिल्लाको भौगोलिक विकट एवं आर्थिक विपन्नताका कारण दलित समुदायको सशक्तिकरण सवल बन्न नसकेको स्थानीय सरोकारवालाहरूको भनाइ रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.