|

काठमाडौं : ०५४ सालताका, जुनबेला तत्कालीन नेकपा माओवादीले आह्‍वान गरेको सशस्त्र संघर्षले भर्खर ‘पिकअप’ लिँदै थियो। युद्धका लागि माओवादीले आफ्ना सैनिक पनि तयार पार्दै थियो भने केही प्रहरी चौकीमा आक्रमण पनि गर्दै थियो। माओवादीको सशस्त्र संघर्षको माध्यमबाट देशमा परिवर्तन ल्याउनका लागि हजारौँले युद्धमा भाग लिए। तिनैमध्येका एक थिए सिपी गजुरेल। 

सशस्त्र युद्धका बेलामा उनी राजनीतिक फाँटतिर थिए। त्यसबेला सरकारले उनीलगायत माओवादीका नेतालाई आतकंकारी घोषणा गरेको थियो। गजुरेलको नाममा पनि सरकारले ‘वारेन्ट’ जारी गरिसकेको थियो। उनलाई लुक्नुबाहेकको कुनै विकल्प थिएन। आफ्नो ज्यान जोखिममा राखेर भए पनि उनी पूर्वी क्षेत्रमा संगठन विस्तार र तत्कालीन शाही सेनासँग भिड्न सक्ने जनमुक्ति सेना तयार पार्दै थिए। त्यसबेला उनी पार्टीको पूर्व क्षेत्रको कमाण्ड गर्थे। जतिबेला काठमाडौंमा पार्टीको बैठक बस्ने खबर आयो, त्यसबेला उनी मकवानपुरको ग्रामीण इलाकामा थिए। 

उनलाई जसरी काठमाडौं पुग्नैपर्ने थियो। भर्खरै युद्ध सुरु भएका कारण पनि त्यो बैठक अन्त्यन्तै महत्त्वपूर्ण थियो। तर, काठमाडौं पुग्न निकै समस्या थियो उनलाई। काठमाडौं पुग्न सार्वजनिक बसको विकल्प थिएन। सरकारले पक्राउ पुर्जी जारी गरेर जताततै प्रहरी खटाएको थियो।

फोटोहरू टाँसेको थियो। त्यसकारण उनलाई काठमाडौं पुग्न त्यति सहज थिएन। तर, नगई पनि भएको थिएन। अन्त्यमा गजुरेलले काठमाडौं जाने निर्णय गरे। आफू मात्र जाँदा प्रहरीले शंका गर्छ भनेर उनी श्रीमती कल्याणीलाई पनि सँगै लिएर काठमाडौं जाने निर्णयमा पुगे। ‘छिट्टै जाँदा सबैले देख्छन्। साँझमा गयो भने बसभित्र भइन्छ। कसैले थाहा पाउँदैन। बिहान त चाँडै सेल्टरमा पुग्छु भन्ने लाग्यो’, उनले  त्यो बेलाकाे क्षण सम्झिए, ‘ त्यसकारण हेटौँडाबाट साथीहरूलाई अन्तिम बसको टिकट काट्न लगाएँ। श्रीमतीसँग जाँदा शंका गर्दैनन् भन्ने पनि लाग्यो।’

जीवनको अन्त्य आजै रहेछ !

हेटौँडाबाट बस चड्दा निकै रात परेको थियो। उनी बसेको अगाडिका ८/९ वटा सिट पनि खाली भए। सुरुमा त उनले बस खाली नै जाने रहेछ भन्ने सोचेका थिए। तर, हटौँडाबाट बस केही पश्चिम लागिसक्दा गजुरेललाई एउटा आपत आइपर्‍यो। उनले त्यो समय त आफ्नो जीवनकै अन्तिम दिन हो कि भन्नेसम्म पनि सोचे। उनी चडेको बसमा त प्रहरीले पो सिट रोकेका रहेछन्।

‘त्यसबेला प्रहरीको पोसाक र हतियारसहित बसमा पसे। उनीहरू मलाई समात्न नै यहाँ चढेका होलान्जस्तो लाग्यो’, उनले भने, ‘अब जीवनको अन्तिम दिन आजै होला भन्ने सोचेँ। श्रीमती पनि धेरै आत्तिएकी थिइन्। तर, मैले सम्झाइरहेँ।’ ती प्रहरी उनलाई नै खोज्दै मकवानपुर आएका रहेछन् तर पत्ता लगाउन नसकेको रहेछ। जब प्रहरीले गजुरेलकै बारेमा कुरा गर्दै आए तब उनको मन ढुक्क हुन थाल्यो। उनलाई आजै जीवनको अन्त्य नहुने रहेछ भन्ने लाग्न थाल्यो।

‘उनीहरू मलाई नै खोज्दै मकवानपुर पुगेका रहेछन्। बर्खाको समय खोलामा बाढी आएको रहेछ। त्यहाँको एउटा खोला तर्ने क्रममा दुई जनालाई खोलाले बगाएछ’, उनले भने, ‘तर अलि तलसम्म मात्र पुर्‍याएछ। बाँच्न सफल भएछन्। एउटाको हातमा चोट लागेछ, एउटाको खुट्टामा। त्यही रिसको झोकमा मलाई भेटाए गोली ठोक्ने सल्लाह गर्दै थिए उनीहरू।’ 

केही समयपछि ती प्रहरीहरू निदाए। उनले भने, 'उनीहरू निदाएपछि मन ढुक्क भयो।' भोलिपल्ट बिहानै काठमाडौं आइपुगे उनी। प्रहरी सुतिरहेका थिए। उनी ओर्लिएर सेल्टर गए। त्यस दिनलाई उनी आफ्नो जीवनको बिर्सनै नसक्ने क्षणमा राख्छन्। उनी भन्छन्, ‘मृत्युको मुखबाट फुत्किएर आएँ।’ हुन त युद्धका समयमा उनी धेरैपटक मृत्युको मुखबाट फर्किएका थिए तर त्यसबेला झनै मुत्युको नजिक र मृत्युको क्षणको कल्पना गरेरै फर्किएका थिए उनी।
००००

भारतको जेलमा तीन वर्ष

बिर्सनै नसक्ने क्षणमध्येमा गजुरेललाई भारतका जेलमा बिताएका तीन वर्ष पनि पर्छ। ०६२ सालताका माओवादी युद्ध उत्कर्षमा पुगेको थियो। त्यही क्रममा तत्कालीन नेकपा माओवादीले ‘जनयुद्ध’लाई अन्तर्राष्ट्रिय समर्थन जुटाउने निर्णय गर्‍यो। त्यही निर्णयअनुसार गजुरेललाई समर्थन जुटाउने जिम्मेवारी दिइयो। गजुरेल युरोप जाने टुंगो लाग्यो तर उनलाई युरोप पुग्न सहज थिएन।

आतंककारीको जताततै नाममा उनको प्रचार गरिएको थियो। भारतका विमानस्थल र रेलवे स्टेसनमा उनीहरूको फोटो पुगिसकेको थियो। त्यसैले उनी सुरक्षित थिएनन्। यस्तो अवस्थामा आफ्नो राहदानीबाट युरोप जान सक्दैनन् थिए। पार्टीले सुरक्षित विमानस्थल खोज्ने क्रममा भारतको दिल्लीलाई रोज्यो। उनले युरोपेली नागरिकको राहदानीमा आफ्नो फोटो टाँसेर युरोप जाने तयारी गरे। तर, सफल भएनन्।

‘मेरो लगेज चेक भइसकेको थियो। बोर्डिङ पास लिएपछि राहदानी चेक भयो। त्यसमा पछि टाँसेको फोटो भएकाले प्रहरीले रोक्न खोज्यो’, उनल भने, ‘ मलाई धेरै प्रश्न गरे। मैले पासपोर्टमा भएको सबै कण्ठ पारेको थिएँ। सररर भन्दिएँ। तर, उसले शंका गर्‍यो।’ उनीसँग भएको ब्रिटिस राहदानीमा शंका गर्दै ब्रिटिस नै जान लागेकी एक महिलालाई प्रहरीले बोलाएछ र सोध्न लगाएछ। ती महिलाले धेरै सोधेपछि गजुरेलले प्रहरी हो भन्दै उल्टै थर्काएछन्। त्यतिकैमा ती महिलाले सोध्न त छाडिछन् तर शंका लागेको रिपोर्ट प्रहरीलाई गरिछन्। 

त्यसपछि उनलाई प्रहरीले तीन दिन हिरासतमा राख्यो। त्यो बेलासम्म उनी आतकंकारी भनेर हल्ला भइसकेको रहेछ। बिबिसीले आतकंकारी भारतमा पक्राउ परेको खबर बजाइसकेको रहेछ। तीन दिनपछि राति १२ बजे प्रहरीले गजुरेललाई अदालत लग्यो। ‘अदालतमा साह्रै राम्रो लाग्यो, न्यायाधीशले राति १२ बजे पनि आदेश दिने रहेछ’, उनले भने। त्यसपछि उनी नक्कली राहदानीको आरोपमा तीन वर्ष तीन महिना चेन्नाईको जेलमा बसे। आतंककारीको मुद्दामा उनी सिलिगुढीमा मोहन वैद्यसँग जेल परे। 

भारतको जेल नेपालको भन्दा राम्रो होला भन्ने सोचेका थिए रे उनले। तर त्यस्तो रहेनछ। ‘त्यहाँको जेल त नेपालको पञ्चायतको कालका भन्दा पनि गएगुज्रिएको रहेछ। अध्ययन गर्न पनि नपाइने’, भन्छन्, ‘गर्मी त्यति धेरै, पंखा पनि नहुने। साह्रै कस्टकर जेल जीवन बिताइयो, यातना पनि धेरै दिने।’ जेल जाँदा उनी ९७ केजी थिए रे। जेलबाट निक्लँदा ७२ केजी भएको उनी सम्झन्छन्। 

जेलमा रहँदा त्यहाँ श्रीलंकाका एक नागरिक पनि सँगै भएकाले उनलाई धेरै सहज भएको रहेछ। ती श्रीलंकाली नागरिक लामो समय त्यो जेलमा बसेका हुनाले पुस्तक ल्याउने रहेछन्। सिपीले पनि ती पुस्तक पढ्न पाएकाले दिन बिताउन केही सहज भएको रहेछ। 

‘हामीले भनेको गणतन्त्र यो होइन’

उनीहरू जेलमै हुँदा शान्ति प्रक्रिया सुरु भइसकेको थियो। वैद्य र गजुरेललाई शान्ति प्रक्रियाको पूरा कुरा त थाहा थिएन। तर, पत्रपत्रिका जेलमा आएकाले जनयुद्ध विश्राम भएको थाहा पाए। त्यही समय नै उनलाई नेतृत्वले गलत गरेको भन्ने त लागिरहेको थियो रे। उनीहरू जेलबाट छुटिसक्दा माओवादी आन्तरिम सरकारमा सहमागी भइसकेको थियो।  

‘त्यही बेला हामी दुवैले  (मोहन वैद्य र सिपी गजुरेल) नेतृत्वले गलत गरे भन्ने त सोचेका थियौँ। जनयुद्ध फिर्ता हुनेभो भन्ने सुन्दा पार्टी नेतृत्वले धेरै छाडेछन्’, उनले भने, ‘नेतृत्व गलत लाइन हिँडेछन् भन्ने त लागेकै थियो। आएर प्रचण्डसँग बहस पनि गर्‍यौँ।’ नेतृत्वको बेइमानीका कारण सशस्त्र युद्धले सफलता पाउन नसकेको उनी बताउँछन्। 

भन्छन्, ‘हामीले खोजेको गणतन्त्र यो होइन। हामीले भनेको त जनणतन्त्र हो। पुष्पकमल दाहाल जनयुद्ध सकिँदासम्म ठीक थिए। त्यसपछि उनी गलत बाटोमा हिँडे। अहिले संशोधनवादमा फसे।’ त्यस कारण वैद्यको नेतृत्वमा पार्टी फुटाउँदै नेता नेकपा (क्रान्तिकारी माओवादी) गठन गर्न पुगेको गजुरेल बताउँछन्। 

नेपाली समाजलाई परिवर्तन गर्न सशस्त्र संघर्ष ठीक रहेको उनको तर्क छ। ‘नेपाली समाजलाई परिवर्तन गर्न क्रान्तिको आवश्यक थियो’, उनले भने, ‘युद्धका क्रममा केही नहुनुपर्ने घटना पनि भए। जस्तो चितवनको बाँदरमुडे घटना। यो जनयुद्धको नकरात्मक पक्ष थियो।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.