'पार्टी एकीकरण प्रक्रिया साउनभित्र सकिन्छ'

|

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पछिल्लो समय संघीय संसद अवरुद्ध गरेकामा प्रधानमन्त्री केपी शर्मा ओली आक्रोशित भएका छन्। उनले उक्त आक्रोश प्रदेश ३ बाट संघीय संसदमा निर्वाचित सांसदहरूसँगको छलफलका क्रममा पोखेका हुन्।

प्रत्येक प्रदेशबाट निर्वचित भएर आएका संघीय संसदका सांसदहरूसँगको नियमित छलफलका क्रममा शुक्रबार प्रदेश ३ का सांसदहरूसँगको छलफलमा प्रधानमन्त्री ओलीले कांग्रेसले पछिल्लो समय डा. गोविन्द केसीको जीवनरक्षा र राष्ट्रिय चिकित्सा शिक्षा विधेयकका विषयमा प्रतिनिधिसभा अवरुद्ध गरेपछि आक्रोश व्यक्त गरेका हुन्।

प्रधानमन्त्री ओलीले अब केही सांसद उभिएकै भरमा संसद अवरुद्ध नहुने बताएका हुन्। संसदको नियमावलीमा सांसदहरू आफ्नो सिटमा नबसेमा अवरुद्ध भएको मानिने र संसदको कारबाही अगाडि नबढ्ने उल्लेख छ।

ओलीले भने, 'एउटा निहुँ झिकेर दुईजना सांसद ठिंग उभिँदा संसदका सबै गतिविधि अवरुद्ध हुने हुनु हुँदैन।' उनले थपे, 'नेपाली कांग्रेसले झिना मसिना कुरा झिक्ने अनि दुईजना सांसद ठिंग उभिने। अनि संसदको कारबाही अवरुद्ध हुने। अब यस्तो हुँदैन। दुईचार जना मान्छेले गलत नियतले उभिँदा संसद रोकिदैन।'

ओलीले संसदमा देशको विकासका, जनचासोका विषयमा बहस हुनुपर्ने भन्दै केही व्यक्तिको स्वार्थ पूर्ति गर्नका लागि प्रयोग हुनु नहुने बताए। उनले भने, 'हामी दुई तिहाइ बहुमतमा छौँ। हाम्रा माननीयहरूले विकासका कुरा संसदमा जोडदार उठाउनु पर्छ। आफ्ना अडानमा बसेर कुरा राख्नु पर्दछ।'

साउनभित्र पार्टी एकीकरण प्रक्रिया सकिन्छ

सांसदहरूले पार्टी एकताबारे जिज्ञासा राखेका थिए। उनीहरूले पार्टी केन्द्रमा एकीकरण भएको र तल्लो तहमा एकीकरण प्रक्रिया कहाँ पुगेको छ भनेर राखेको जिज्ञासामा नेकपाका अध्यक्ष समेत रहेका ओलीले साउन महिनाभित्र एकीकरणका सबै प्रक्रिया पूरा हुने बताए। तत्कालिन नेकपा एमाले र तत्कालिन माओवादी केन्द्र गत जेठ ३ गते एकीकरण भएर नेकपा गठन भएको थियो।

'साउनभित्र पार्टी एकीकरण प्रक्रिया सकिन्छ। त्यसपछि बनेका कमिटीहरूले स्थानीय तहको काममा सहजीकरण र नियन्त्रण गर्नेछन्' ओलीले भने, 'अहिले पार्टीका कमिटीको अभावमा केही स्थानीय तहमा स्वेच्छारिता आएको सुनिएको छ। अब त्यो रोकिन्छ।' 

सरकार भ्रष्टाचार रोक्न प्रतिबद्ध रहेको प्रधानमन्त्री ओलीले दोहोर्‍याएका थिए।  सरकार असफल नहुने र जनताको भरोसालाई सधै शिरोधार्य गर्ने ओलीको भनाइ थियो। 

सांसदहरू कृष्ण्भुक्त पोख्रेल,रामनारायण विडारी,पार्वत गुरुङ, बिरोध खतिवडा, महेश बस्नेत,कृष्णरज दाहाल, अन्जना बिशंखे, बिमला पौडेल राई, सुजिता शाक्य, कृष्ण राई, हितबहादुर तामाङ, गोमा देवकोटा लगायतले समसामयिक राजनीतिक विषय, जिल्ला तथा क्षेत्रहरूमा उठेका विभिन्न समस्याहरू प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.