|

सुर्खेत : कर्णाली प्रदेश सरकारले सम्भावित विपदको न्यूनीकरण गर्न मातहतका निकायलाई तयारी अवस्थामा राखेको जनाएको छ। विपतमा तत्काल राहत पुर्‍याउन र उद्धार गर्न टोली तयारी अवस्थामा राखिएको सरकारले बताएको छ। 

प्रदेशका १० वटै जिल्लामा हुन सक्ने प्राकृतिक प्रकोपका घटनामा तत्काल 'रेस्क्यू' गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयले उद्धार टोली तयारी अवस्थामा राखेकोे हो। विपतिको समाना गर्न प्रदेश भित्रका दशवटै जिल्ला प्रशासन कार्यालय र ७९ ओटा स्थानीय तहलाई उच्च सतर्कता अपनाउन भनिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव केशवराज आचार्यले जानकारी दिए। आचार्यका अनुसार कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले मातहतका जिल्ला प्रहरी कार्यालयबाट वर्षातको नियमित तथ्यांक संकलन गरिरहेको छ। 

वर्षात सुरू भएकाले खोला, सडक र पहिरोको जोखिममा रहेका नागरिकलाई विशेष सर्तकता अपनाउन समन्वयकारी भूमिका खेलिरहेको उनले बताए।
‘उद्धार र राहत सामग्री पुर्‍याउन केन्द्र सरकारले नेपाली सेनाको हेलिकोप्टर सुर्खेत विमानस्थलमा तयारी अवस्थामा राखेको छ’ उनले भने, ‘प्रदेशमा तत्काल प्राकृतिक विपतिका घटना भए उद्धारमा खटिन सेनाका झण्डै २००, नेपाल प्रहरीका ३५ र सशस्त्र प्रहरीका १५० जनाको छुट्टै टोली तयारी अवस्थामा छ।’ 

प्रदेशमा मुख्यमन्त्रीको संयोजकत्वमा विपद् व्यवस्थापन समिति बनाइएकाे छ। त्यसैगरी आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी कार्यकारी संयोजक रहेको समिति पनि रहेको छ। कर्णालीमा डुवान भन्दा पनि बाढी पहिरोले आक्रान्त हुने प्रदेशका नागरिकलाई तत्काल उद्धार गर्न कै लागि उच्च सतर्कता अपनाइएको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ।

‘सुरक्षाका तीनवटै निकायसँगै उद्धार र राहतमा खटिन रेडक्रस र स्वयंसेवक दस्ताहरू जिल्ला-जिल्लामा तयारी अवस्थामा छन्’ सचिव अचार्यले भने, ‘विपतिमा सजकता अपनाउन प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारले रणनीति बनाइएको छ।’ प्रदेशका १० वटै जिल्ला प्रहरी कार्यालयबाट दैनिक मौसमी अवस्थाको जानकारी संकलन गरिरहेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वीरबहादुर ओलीले जानकारी दिए।

उद्धारका लागि प्रहरीको प्रदेश कार्यालय, गण र तालिम केन्द्रमा प्रहरीको रिजर्व टोली तयारी अवस्थामा राखिएको ओलीको भनाई  छ। ओलीका अनुसार प्रत्येक जिल्लामा प्रहरी निरीक्षकको कमाण्डमा पनि २५ जनाको उद्धार टोली तयार गरेर घटना भएमा खटिन निर्देशन दिइएको छ। केन्द्र सरकारले कर्णाली प्रदेश सरकारलाई तत्काल उद्धार स्थलका लागि १०० थान त्रिपाल पठाएको छ।आवश्यक थप राहत सामग्रीको जोहो जिल्ला प्रशासन र नेपाल रेडक्रस सोसाइटीले गरिसकेको मन्त्रालयका सचिव आचार्यले जानकारी दिए।

प्रदेशको राजधानी, जिल्ला र स्थानीय तहसम्म जोड्ने सडकहरू अवरुद्ध भएमा तत्काल स‌ंचालन गर्न आवश्यक सामग्रीसहित सतर्कता अपनाइएको आचार्यको भनाई छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.