|

हेटौँडा : असार सकिनै लाग्दा सुरु भएको हेटौँडा-६ स्थित चौघडा-रंगशाला सडकको कालोपत्रे उक्किन थालेपछि स्थानीयले गुनासो गरेका छन्। शुक्रबार साँझ गरेको हात्तिलेट क्षेत्रको कालोपत्रे शनिबार उक्किन थालेपछि स्थानीयले गुनासो गरेका हुन्। 

माटोमाथि नै कालोपत्रेका कारण उक्किन थालेको स्थानीयको भनाई छ। सडक निर्माणको ठेक्का लिई काम नगरेको भन्दै हेटौँडा ६ वडा कार्यालयले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा कारवाहीका लागि पत्राचार गरेपछि असार अन्तिम साता काम थालेको शुभेच्छा निर्माण सेवाले ‘लतरपतर’ काम गरेको स्थानीयको भनाई छ। ‘हिजो साँझ गरेको पिच आज बिहानै उक्किन थालेको छ।’ स्थानीय प्रतिक्षा चौलागाईले भनिन्, ‘माटोमाथि नै पिच भइरहेको छ। तर हेटौँडा उपनगरपालिकाका इन्जिनियरहरूले वास्ता गरेका छैनन्।’ कमसल काम गरेर असार मसान्तमा रकम फर्छ्याैट गर्न हतारिएकाले काम यस्तो भएको स्थानीयको गुनासो छ। 

हेटौँडा-६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईले कालोपत्रेबारे गुनासो आएपछि उपमहानगरपालिकाका इन्जिनियरसहित आफूले निगरानी बढाएको बताए। जनप्रतिनिधिको निगरानी र स्थानीयको दवावपछि उक्किएको ठाउँमा निर्माण व्यवसायी पक्षले टालेर गए पनि काम गुणस्तरीय नभएको स्थानीयको भनाई छ।

आव २०७३/०७४ को बजेट अनुसार ठेक्का लिएको शुभेच्छा निर्माण सेवाले २०७४ बैशाख अघि भएको सम्झौता समाप्त भई २०७५ असार समान्तसम्मका लागि सम्झौताको म्याद थप भएको थियो। तर असार सकिन लाग्दा पनि निर्माण व्यवसायीले काम नगरेको भन्दै भुक्तानी रोक्का गरी छिटो भन्दा छिटो काम सम्पन्न गराउन आवश्यक प्रक्रिया अघि बढाउन जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिएको थियो। त्यस लगतै प्रशासन कार्यालयले निर्माण व्यवसायीलाई असार २० गतेभित्र काम सक्न निर्देशन दिएको थियो। तर निर्माण कम्पनी असार २० गते मात्रै सडकमा कालोपत्रेका लागि पुगेको थियो। असार अन्तिममा वर्षाले भिजेको जमिनमा कालोपत्रे गर्दा कालोपत्रे नटिक्ने भन्दै स्थानीयले विरोध गरिरहेका छन्।

निर्माण व्यवसायीले क्रसिङ गरेको गिटि नहाली कमसल गिटी र बालुवा छरेर खाल्डो पुरेको पनि स्थानीयको गुनासो छ। ५५ लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको सडकको लम्बाई २/४ किलोमिटर छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.