पोलको विषयमा स्थानीय र ठेकेदारबीच विवाद

|
साँघुटार–ओखलढुंगा विद्युत् आयोजनाका बेवारीसे अवस्थामा ढलेका पोल तथा लत्रिएका तार

ओखलढुंगा :  स्थानीय र ठेकेदार कम्पनीबीचको विवादका कारण रामेछाप र ओखलढुंगा जोड्ने विद्युत् आयोजना नौ वर्षदेखि अलपत्र अवस्थामा  छ। रामेछापको साँघुटारदेखि ओखलढुंगा सदरमुकाम जोड्ने साँघुटार–ओखलढुंगा ३३ केभी केन्द्रीय विद्युत् प्रशारण लाइन आयोजना पोलको विषयमा बढेको विवादले अलपत्र परेको हो।

पोलको विषयमा विवाद

तत्कालीन समयमै साँघुटारदेखि घोराखोरीसम्मको १० किलोमिटर क्षेत्रमा गाडिएको पोल हराएको विषयमा स्थानीय र ठेकेदार कम्पनी न्यु साताक्री कन्ट्रक्सनबीच विवाद बढेको थियो। ठेकेदार कम्पनीले उक्त क्षेत्रमा पोल गाडिएको र बीचका केही क्षेत्रको पोल स्थानीयले उखेलेर माइक्रोहाइड्रोमा प्रयोग गरेको प्रतिक्रिया दिँदै आएको छ। तर, स्थानीयले भने ठेकेदार कम्पनीले पोल नै नगाडी वर्षौ राखेपछि आफूहरूमाथि आरोप लगाएको बताउँदै आएका छन्।

ठेकेदार कम्पनी न्यु साताक्री कन्ट्रक्सनका कृष्ण खड्काले आफूले घोराखोरीमा लगेर स्टोर गरिएका ६० भन्दा बढी पोल चोरी भएको बताएका छन्। आफूहरूले खोलाबाट र पहिरोबाट ज्यान जोखिममा राखेर बेवारिसे पोलहरू माइक्रो हाइड्रोको तार टाँग्न प्रयोग गरिएको नाम नबताउने सर्तमा घोराखोरीका एक सामाजिक अगुवाले बताए।

०६६ मा सुरू भएको आयोजनाले विवादका कारण गति लिन सकेको छैन। १३ करोड लागत अनुमानमा सुरू गरिएको उक्त आयोजना विद्युत् प्राधिकरणको जनकपुर क्षेत्रीय कार्यालयले ठेक्का लगाएको थियो। आयोजनाको कुल लम्बाइ ४० किलोमिटर रहेको छ। विवाद बढेपछि आयोजना क्षेत्रका साँघुटार–रानीवन क्षेत्रमा गाडिएका पोल तथा टाँगिएको तार अलपत्र छन्।

घोराखोरी-फेदीगुठमा गाडिएका अधिकांश पोलहरू ढलेका छन् भने कति पोलहरु त अझै सडकमा अलपत्र अवस्थामा रहेका छन्। ठेकेदार र स्थानीयबीच विवाद बढेपछि दुई वर्षदेखि कामको टेण्डर नै हुन नसकेको र आँफुले चाँडो विवाद सल्टाएर काम अगाडि बढाउनका लागि प्रयास गरिरहेको नेपाल विद्युत् प्राधिकरण ओखलढुंगा वितरण केन्द्र रूम्जाटारका प्रमुख सञ्जिव शाहले बताए।

जिल्लाको ग्रामीण विद्युतीकरणमा महत्वपूर्ण भूमिका खेल्ने भनिएको उक्त आयोजना थलिएपछि अन्योल बढेको छ। ओखलढुंगा सदरमुकाममा भने खोटाङतर्फबाट केन्द्रीय विद्युत् प्रशारण लाइन सञ्चालन गरिए पनि भरपर्दो छैन। ०५७ बाट सुरू भएको बुइपा-ओखलढुंगा ३३ केभी प्रशारण लाइन आयोजना दुई वर्ष अघिदेखि नै सञ्चालनमा आइसकेको छ।

ग्रामीण विद्युतीकरणमा समस्या

हालसम्म ओखलढुंगाको १५ प्रतिशत क्षेत्रमा मात्रै केन्द्रीय विद्युत प्रशारण लाइन जोड्नका लागि काम भइरहेको छ। ग्रामीण विद्युतीकरणको काम सुस्त गतिमा हुँदा र विद्युत् कार्यालयले भरपर्दो सेवा दिन नसक्दा ग्रामीण भेगका बासिन्दाहरू पेल्ट्रिक सेट र माइक्रो हाइड्रोमा लगानी गरेर विद्युत् उपभोग गरिरहेका छन्। विद्युत विस्तार गर्नका लागि सुरूवात गरिएका क्षेत्रहरूमा ग्रामीण विद्युतीकरणको अवस्था एकदमै सुस्त छ। जिल्लाका धेरैजसो भेगमा विद्युत् विस्तारका लागि पोल गाडिए पनि विद्युत् कार्यालयले मिटरबक्स वितरणमा ढिलाई गर्दै आएको छ।

जिल्लाको पश्चिमी भेगको रानीवनमा विद्युत् विस्तारका लागि तार, पोल र ट्रान्समिटरको काम पूरा भए पनि विद्युत् कार्यालयले मिटरबक्स उपलब्ध नगराउँदा ६ महिनादेखि तार हेरेर एउटै वडाका ५ सयभन्दा बढी बासिन्दा केन्द्रीय विद्युत् सेवा उपभोगबाट बञ्चित भएको चम्पादेवी गाउँपालिका-१० का वडाध्यक्ष उज्जन बुढाथोकीले गुनासो गरे।

प्रभावित बन्यो मोलुङ्ग हाइड्रो

केन्द्रीय प्रशारण लाइन भरपर्दो नहुँदा हालै सञ्चालनमा आएको मोलुङ हाइड्रो प्रभावित बनेको छ। जिल्ला सदरमुकाम आसपास मात्रै केन्द्रीय विद्युत प्रसाण लाइन वितरण गरिएको र मागभन्दा आपूर्ति बढि भएकै कारण मोलुङ हाइड्रो प्रभावित बनेको हो। ७ मेगावाट विद्युत् उत्पादन गर्ने क्षमता रहेको हाइड्रोको उत्पादन गोरूमारे भञ्ज्याङ सवस्टेशनबाट जोडिए पनि केन्द्रीय विद्युत् प्रशारण लाइनमा आइरहने खराबीका कारण प्रभावित बनेको छ।

जिल्लाभित्रै ७ मेगावाट विद्युत उत्पादन भए पनि जलजले बुइपा प्रसाण लाइनको खराबीका कारण जिल्ला अन्धकारमा बस्नुपर्ने बाध्यता रहेको छ। गोरुमारे सवस्टेसनमा जलजले बुइपा प्रसारण लाइनमा विद्युत नआउँदा हाइड्रोको मेसिनमा खराबी आउने भएका कारण विद्युत उत्पादन नै बन्द गर्नुपर्ने मोलुङहाइड्रोले जनाएको छ।

केन्द्रीय प्रशारण लाइनको जलजले–बुइपा खण्डमा खराबी आउँदा हाइड्रोबाट उत्पादित विद्युत् जिल्लाभित्र वितरण गरिँदैन। जिल्लामा साँझको मुख्य समयमा ५ सय किलोवाट मात्रै विद्युत् खपत हुने गरेको छ। विद्युत् खपत थोरै भएका कारण केन्द्रीय प्रशारण लाइनमा खराबी आउँदा जिल्लाभित्र लाइन काट्ने गरिएको नेपाल विद्युत् प्राधिकरण ओखलढुंगा वितरण केन्द्र रूम्जाटारका प्रमुख शाहले बताए। उत्पादन र खपतको सन्तुलन नमिल्दा सवस्टेसन र हाइड्रोका मेसिनहरू पड्किने सम्‍भावना हुने उनको भनाइ छ।

ओखलढुंगामा मोलुङ जलविद्युत् आयोजनाबाट परीक्षण प्रसारण थालियो 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.