|

गोरखा : जिल्लाका विभिन्न ठूला क्रसर उद्योगमा प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले अनुगमन गरेका छन्। विहान १२ बजे गोरखकाली क्रसर उद्योगमा पुगेका प्रजिअ भट्टराईले त्यहाँ रहेका आफूलाई सुपरभाइजर बताउने व्यक्तिसँग आफ्नो परिचय दिएर अनुगमन गर्न आएको बारे जानकारी गराए।

प्रजिअ : म चाहीँ प्रमुख जिल्ला अधिकारी। हामी सहायक सर, प्रहरी साथीहरू, नापीको सर, घरेलुको सर, पत्रकार मित्रहरू सबै आएका छौँ।

क्रसरका प्रतिनिधि : हजुर! हजुर!

प्रजिअ : यो क्रसरको सञ्चालन अनुमतिका लागि पाएको कागजात, विक्रि वितरण गरेको बिलहरू हेरौँ न।

क्रसरका प्रतिनिधि : मसँग काँ हुने होला। (कसैलाई बोलाएर कागजात दिन खोजेजस्तो मोबाइलमा नम्बर पनि डायल गर्छन, फेरि काट्छन्।)

प्रजिअ : सर (प्रहरी निरीक्षकलाई) सरकारको यत्रो प्रतिनिधि उपस्थित हुँदा ब्यवसाय कसरी सञ्चालन भएको छ, अनुमति पत्र, बीलहरू हेरौँ भन्दा नदिएपछि उसलाई गाडी हाल्नुस्।

क्रसका प्रतिनिधि : मलाई थाहा हुन्न कसरी दिनू। सरहरू हर्मि, आँपपिपलतिर हुनुहुन्छ सबै कागजात उहाँहरूसँगै छ। म दिन सक्दिन। उतै माग्नुस्।

प्रमुख जिल्ला अधिकारीले पटकपटक आग्रह गर्दा ती प्रतिनिधिले केही मान्छेसँग फोन गरे तर कागजात आउने छाँटकाँट नदेखिएपछि आफ्नै गाडीमा चढाए। उक्त गोरखकाली क्रसर उद्योग सञ्चालन अनुमति देउरालीमा भए पनि छेपेटारमा सञ्चालन हुँदै आइरहेको छ।

प्रमुख जिल्ला अधिकारी भट्टराई गोरखकालीको अनुगमन सके लगत्तै पालुंटार १ मा रहेको माइ मनकामना क्रसर उद्योग अनुगमन गर्न पुगे। अघिल्लो उद्योगमा जस्तै उनले उद्योगको निरीक्षण गरे र उद्योगको कार्यालयमा पुगेर परिचय दिई त्यहाँ आउनुको उद्देश्यबारे जानकारी दिए। त्यहाँ भएका उद्योगका कर्मचारीसँग सोधपुछ गर्न थाले। उद्योगका कर्मचारीले केही बिल र प्रमाण पत्रबाहेक अन्य केही कागजात देखाउन नसकेपछि आइतबार बिहान १० बजे जिल्ला प्रशासन कार्यालयमा आवश्यक कागजात उपलब्ध गराउने प्रतिबद्धता गराएर फर्के।

प्रमुख जिल्ला अधिकारी भट्टराईले सिम्रन क्रसर उद्योगमा पनि अनुगमन गरेको बताए। उनले अनुगमन गरेका मध्ये सबैभन्दा सन्तुष्ट सोही क्रसर उद्योगबाट भएको प्रतिक्रिया दिए। ‘केही क्राइटेरियाबाहेक सिम्रन क्रसर उद्योगले मापदण्ड पूरा गरेको पाइयो’ उनले भने ‘यहाँ उद्योगका सञ्चालकलाई पनि भेटियो। अन्य कुनै उद्योगमा जाँदा न सञ्चालक सम्पर्कमा आए न भेटिए।’

गोरखकाली क्रसर उद्योगमा कुनै कागजात नदेखाएपछि प्रजिअको निर्देशनमा प्रहरीले ल्याएको सुपरभाइजर प्रभोद रानालाई प्रहरीले नियन्त्रणमा लिएको हो। गोरखकालीका सुपरभाइजरलाई प्रहरीले नियन्त्रणमा लिएपछि प्रमुख जिल्ला अधिकारीलाई विभिन्न राजनीतिक दलका नेताहरूले फोन गरेर कारबाही नगर्न र ती व्यक्तिलाई छोड्न दबाब आइरहेको जिल्ला प्रशासन स्रोतले जनाएको छ। कानुनभन्दा माथि कोही नभएको भन्दै प्रजिअ भट्टराईले मापदण्ड पूरा गर्न सबै उद्योगका प्रतिनिधिहरूलाई सुझाब दिएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.