|

सुर्खेत : फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायलाई दैलेखको गुराँस गाउपालिकाले स्थायी परिचयपत्र वितरण गरेको छ। गुराँस गाउँपालिकाले शनिबार एक कार्यक्रमको आयोजना गरेर स्थायी परिचयपत्र हस्तान्तरण गरेको हो।

अबदेखि राउटे समुदाय बसोबास सरेर जहाँ गए पनि गुराँस गाउँपालिकाले नै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने छ। गुराँस गाउँपालिकाको ८ को गर्चामा बसिरहेका ४२ घरधुरीका १४९ जना राउटे समुदायका सदस्यलाई परिचयपत्र प्रदान गरिएको हो। राउटे समुदायले सामजिक सुरक्षा भत्ता लगायत सरकारले दिने सबै सुविधाहरू परिचय पत्र देखाएर प्राप्त गर्ने भएका छन्। जेठ ३१ गतेको मन्त्रिपरिषद बैठकको निर्णय अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले राउटेको नामथर र ठेगाना खुल्ने गरी परिचयपत्र वितरणको व्यवस्था गर्न गाउँपालिकालाई परिपत्र गरेको थियो। यस अघि राउटे समुदायका नागरिकले विभिन्न ठाँउबाट टाउको गनेर सेवा सुविधा लिँदै आएका थिए। 

सामाजिक विकास मन्त्रालय कर्णालीका सचिव गिरिजा शर्माले परिचय पत्रले राउटे समुदायको वास्तविक तथ्यांक संकलनमा सहज भएको भन्दै यसलाई सही सदुपयोग गर्नुपर्ने बताए। उनले फिरन्ते जीवन बिताइरहेका राउटे समुदायलाई अब एउटै ठाउँमा वासस्थानका लागि व्यवस्था गर्नुपर्ने भन्दै त्यसका लागि सबैको साथ सहयोगको आवश्यक रहेको पनि उल्लेख गरे। 

गाउँपालिका अध्यक्ष खेमराज वलीले परिचय पत्र पाएसँगै अव उनीहरूले सेवा सुविधा पाउन सहज हुने बताए। अध्यक्ष वलीले यस अघि परिचयपत्र नभएका कारण राउटेको तथ्यांक संकलन गर्न समस्या हुने गरेको भन्दै अब सहज हुने बताए।

राउटेमा उत्साह देखिएन

यसैबीच परिचय पाए पनि राउटे समुदायका अगुवाहरू हर्ष न विस्मात को अवस्थामा देखिएका थिए। परिचय पत्र वितरण गर्न गएको टोली राउटे बस्तीमा पुग्दा उनीहरूलाई को आयो ? किन आए ? कुनै उत्साह थिएन्। आफ्नै काममा व्यस्त देखिन्थेँ। कोही टहरो मुनिको सुत्ने आँगन बनाउँदै थिए भने कोही साँझको अगेना तताउने दाउराको जोह गर्दै थिए। उनीहरू साउने संक्रान्ति मनाउने चटारोमा लागेका देखिन्थेँ। बस्तीका अधिकांश पुरुषहरू सिकार खेल्न जंगल गएका थिए।
लावालस्कर लगेर गएको टोली बस्तीमा पुगेर राउटेलाई बोलाउँदा केही बेर उनीहरू आइदिएनन्।

राउटेले भान्जी मानेकी राउटे प्रतिष्ठानकाअध्यक्ष सत्यदेवी अधिकारीको आग्रहमा केही राउटे कार्यक्रम स्थलमा सहभागी भए। तैपनि उनीहरूले खुलेर परिचय पत्र लिन मानिरहेका थिएनन्। कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव गिरिजा शर्माले पूर्व राउटे मुखिया महिनबहादुर शाहीलाई परिचय-पत्र दिन खोजिन्। महिनबहादुर हच्किँदै भने, ‘मुखिया शिकार खेल्न गएका छन्। उनी जे भन्छन् त्यहीअनुसार बुझौंला।’

राउटे समुदायका मुखिया सूर्यनारायण शाही शिकार खेल्न गएकाले मुखियाको आदेशविना अरु काम गर्न मिल्दैन। तर भान्जी सत्यदेवीले परिचय-पत्र बुझ्न मामा महिनबहादुरलाई आग्रह गरिन्। महिनाबहादुरले भने, 'मन नलाइनलाई परिचय-पत्र बुझेँ।' प्रदेश ७ को अछाम र कर्णालीका दैलेख, सुर्खेत तथा प्रदेश ५ का दाङसम्मको जंगलमा फिरन्ते जीवन जिउँदै आएको यो समुदायलाई यसअघि नै नागरिकता दिन पहल गरेका थिए। तर उनीहरूले उति बेला आफूहरू जंगलको राजा भएकाले जंगलमा बस्नेलाई नागरिकता दिएको कुनै अर्थ नभएको भन्दै स्वीकार गरेनन्। 

सरकारले लोपोन्मुख घुमन्ते राउटे जातिलाई सामाजिक सुरक्षा भत्ता दिन सहजताका लागि परिचय-पत्र दिएको हो। परिचय-पत्र दिएसँगै राउटे गुराँसका स्थायीबासी भएका छन्। उनीहरू बसोबास सरेर जहाँ गए पनि गुराँस गाउँपालिकाले नै अबदेखि सामाजिक सुरक्षा भत्ता वितरण गर्नेछ। सरकारले नै पठाएको निर्णायनुसार राउटे बस्तीमै पुगेर परिचय-पत्र बाँडिएको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज वलीले बताए। राउटेलाई दिएको परिचयपत्रका आधारमा उनीहरूलाई सामाजिक सुरक्षा भत्ता वितरणमा सहज हुने पनि विश्वास वलीको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.