|

संखुवासभा : पाँचखपन नगरपालिका–६ वानामा हराउँदै गएको बेठी रोपाइँ गरिएको छ। पञ्चे बाजा वा नौमती बाजा बजाउँदै गरिने रोपाइँलाई बेठी भनिन्छ। यस क्षेत्रमा पहिले–पहिले मुखिया वा राईको खेतबारीमा रोपाइँ गर्दा बेठी लगाउने चलन थियो। बेठी रोपाइँमा दर्जी समुदायले बाजा बजाउने र अन्यले खेतमा काम गर्नुपर्ने चलन रहेको स्थानीय रत्नमणि बोगटीले बताए। 

बेठी रोपाइँमा असारे गीत गाउँदै नौमती बाजाको तालमा हिलो छ्यापाछ्याप गर्ने, रोपाइँ सकेपछि भोज खाने गरिन्छ। यस दिन चेलीबेटीलाई समेत बोलाएर रोपाइँ गर्ने चलन छ। नौमती बाजा, दर्जनौं हल गोरु, सयौं रोपार र बाउसेहरुले सामेल रोपाइँ पर्व झै हुन्छ। अन्य बेलाको रोपाइँमा काम गर्नेलाई ज्याला दिनुपर्ने वा पर्म तिर्नुपर्ने भए पनि बेठीमा आएकाहरूलाई ज्याला दिनु पर्दैन। रोपाइँ सकिएपछि माटोको टीका र धानको बीउको फूल लगाएर रोपार र चेलिबेटीहरुलाई दक्षिणा स्वरुप केही रकम दिने चलन छ। 

उहिले उहिले मुखिया र जमिनदारहरुले बेठी लगाउने दिन छेउछाउका सर्वसाधरण आफ्ना सम्पूर्ण काम त्यागेर बेठीमा सामेल हुने गर्दथे। तर, मुखिया प्रथा हराउनु, पहिलेजस्तो धेरै मात्रामा रोपाइँ नहुनु लगायतका कारण पछिल्लो समय बेठी हराउँदै गएको स्थानीयहरु बताउँछन्।

यही लोपोन्मुख बेठी परम्पराको जगेर्ना गर्ने केही दिनअघि वानाका चार दाजुभाइले बेठी लगाएका थिए। बेठीमा नौमती बाजाको धुनसँगै छुपुछुपु धान रोपिरहेका रोपाहारहरू, हातमा प्mयाउरी (काठले बनेको हिलो सम्याउन प्रयोग गरीने सामग्री) लिएका बाउसे र हल गोरु साइरहेकाहरुको क्रियाकलाप रोमाञ्चक देखिन्थे। आधा उमेर कटिसकेकाहरुले कही कतै देखेको भए पनि अहिलेका युवायुवातीका लागि त्यो दृश्य नौलो र रोचक थियो।

चन्द्रबहादुर, मानबहादुर, भक्तबहादुर र यत्नकुमार श्रेष्ठले २० वर्षपछि लगाएको बेठी धेरैका लागि नौलो थियो। गाउँलेहरू बेठी हेर्नकै लागि खेत वरिपरि उपस्थित थिए। बेठी संस्कारको लोप भई सकेको बेला पछिल्लो पुस्तामा बेठी रोपाइँबारे जानकारी दिन र संस्कार, संस्कृति संरक्षणको लागि बेठीको आयोजना गरिएको विष्णु श्रेष्ठले बताउँछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.