|

चितवन : दक्षिण चितवनको माडी नगरपालिका –७ जिल्लाकै पहिलो ‘पूर्ण संस्थागत सुत्केरीयुक्त वडा’ घोषणा भएको छ। 

उक्त वडामा ७८ जना सुत्केरी मध्य ७५ जना स्वास्थ्य संस्था पुगेर सुत्केरी भएको र तीन जना अस्पताल लैजानेक्रममा बाटोमै सुरक्षित सुत्केरी भएको पाईएपछि ‘पूर्ण संस्थागत सुत्केरीयुक्त वडा’ घोषणा गरिएको माडी नगरपालिकाका स्वास्थ्य संयोजक शिवप्रसाद सुवेदीले जानकारी दिए।

 यही असार १३ र १४ गते यहाँ १६ जनाको सहभागितामा उक्त वडामा स्थलगत अध्ययन भएको थियो। सोही अध्ययन प्रतिवेदन अनुसार शुन्य होम डेलीभरी वडा भएको पाईएपछि शनिवार घोषणा गरी वडालाई प्रमाणपत्र हस्तान्तरण गरिएको सुवेदीले बताए।  उक्त वडामा माडीको जगन्नाथपुरी, देवेन्द्रपुर, घाँगर, किर्तनपुर, गोपालनगर र गौरीनगर गाउँ पर्दछ । कुनैपनि स्वास्थ्य संस्था नभएको उक्त वडामा यसरी घोषणा हुनु महत्वपूर्ण उपलब्धी भएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख विजय झाले प्रतिक्रिया दिए। 

“यो शुरुआत हो, अब पूर्ण सुरक्षित मातृत्व जिल्ला घोषणाका लागि सबै स्थानिय तह र स्वास्थ्य संस्थाहरु लाग्नुपर्छ, यस्ता सन्देश वडावडामा पुगोस्” झाको भनाई थियो। पूर्ण सुरक्षित मातृत्व घोषणा गर्न सबै गर्भवती र सुरत्केरीले विभिन्न ९ वटा सेवा पाएको हुनुपर्छ। वच्चा गर्भमा रहेको बेला ४ पटक चेकजाँच भएको,आईरन चक्की खाएको, टिटानस विरुद्धको खोप लगाएको, अस्पतालमा सुत्केरी भएको, जन्मेपछि नाभी मलम लगाएको लगायत सेवा पाएको हुनुपर्ने झा बताउँछन्।

 यसले मात्रै ‘समृद्ध नेपाल र सुखी नेपाली’ भन्ने सरकारी नाराले सार्थकता पाउने उहाँको भनाई छ। यी सबैसेवा लिंदा एकजना सुत्केरीले विभिन्न समयमा गरेर रु १ हजार ९०० भत्ता समेत पाउने भएकाले यस्ता सन्देशहरु गाउँगाउँ पुर्याउनुपर्नेमा जनस्वास्थ्य कार्यालको जोड छ।  माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले वडा नम्बर ७ को नतिजाले मानिसमा चेतना बढेको पाईएको भन्दै माडी क्षेत्रका स्वास्थ्य संस्थाको स्तरोन्नति गर्नतर्फ लागेको बताए।

जिल्लाको एक तथ्यांक अनुसार अस्पतालमा सुत्केरी हुनेको संख्या ६२ प्रतिशत छ। अझै पहाडी क्षेत्रमा अस्पताल जाने चलक कम छ। अस्पतालमा ढिलो गरी पुग्ने अबस्थाले कतिपय जोखिम हुने गरेको छ। सरकारले सन् २०३० सम्म अस्पतालमै सुत्केरी गराउने संख्या ९० प्रतिशत पुर्‍याउने लक्ष्य राखेको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.