|

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच आगामी सोमबार द्विपक्षीय वार्ता हुने भएको छ।

सोमबार फिनल्यान्डको हेलसिन्की हुन लागेको शिखर सम्मेलनका क्रममा उनीहरूबीच वार्ता हुने कार्यतालिका सार्वजनिक भएको छ। पछिल्लो समयमा रुस र अमेरिकाबीच कूटनीतिक विवाद उत्कर्षमा पुगेको थियो।

दुई महिना मात्र अघि पनि पुटिनको कडा आलोचना गर्दै अमेरिकाले रुसी कूटनीतिज्ञलाई देश निकाला गरेको थियो।

अमेरिकाको यो कदमको स्वागत गर्दै केही बेलायत र युरोपेली देशले पनि रुसी कूटनीतिज्ञलाई आ–आफ्ना देशबाट निकाला गरेका थिए। यो कार्यको अपजस सबै अमेरिकालाई गएको थियो।

यसको जवाफमा रुसले पनि मस्कोमा रहेको एक कन्सुलेट अफिस बन्द गराएको थियो। जसका कारण केही दर्जन अमेरिकी कूटनीतिज्ञले रुस छोड्नु परेको थियो।

त्यो विवादपछि पहिलो पटक यी दुई शक्तिशाली देशका राष्ट्रपतिले आपसी भेटवार्ता गर्ने भएका छन्। विश्वभर यसलाई बहुप्रतिक्षित वार्ताका रुपमा हेरिएको छ।

उनीहरूले सोमबारको भेटवार्ता पछि संयुक्त पत्रकार सम्मेलन गर्ने तयारी भएको रुसको प्रमुख प्रशासनिक केन्द्र क्रेमलिनले जनाएको छ।

पुटिन र ट्रम्पले संयुक्त पत्रकार सम्मेलन पनि गर्ने रुसबाट प्राप्त समाचारमा जनाइएको छ। हेलसिन्की वार्तापछि उनीहरूले पत्रकार सम्मेलन गर्नेछन्।

क्रेमलिनका प्रवक्ताले शिखर सम्मेलनपछि उनीहरूले संयुक्त वक्तव्य नै जारी गर्ने निश्चित भने नभएको गत शुक्रबार मस्कोमा आयोजना गरिएको एक पत्रकार सम्मेलनमा जानकारी दिएका थिए।

दुई शक्तिशाली राष्ट्रपति पुटिन र ट्रम्पको पहिलो बैठक आउँदो सोमबार हुने जानकारी रुसी सञ्चारमाध्यमहरूले दिएका छन्। साथै ती सञ्चारले यी दुई राज्यप्रमुखहरूले भेटेपछि के विषयमा कुराकानी गर्नेछन् भन्ने बारेमा पनि आ–आफ्ना अनुमानहरू सार्वजनिक गरेका छन्।

एक अर्काले विपरित धारको नेतृत्व गर्दै आएका तथा पछिल्लो समयमा विविध विषयमा एक अर्काप्रति विवादास्पद अभिव्यक्ति दिँदै आएका पुटिन र ट्रम्पको भेटवार्तालाई महत्वका साथ हेरिएको छ।

यसअघि उनीहरूबीच गत वर्षको नोभेम्बरमा भएको एपेक शिखर सम्मेलनका क्रममा भियतनाममा पछिल्लो भेटवार्ता भएको थियो। त्यस समयमा उनीहरूबीच छिट्टै वार्ता गर्ने सहमति भएको बताइएको थियो।

त्यसपछि उनीहरूबीच भेट भएन र दुई देशबीच कुटनीति खिचातानी भयो।

पुटिन मेरा प्रतिश्पर्धी : ट्रम्प

यसैबीच राष्ट्रपति ट्रम्पले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनलाई आफ्नो एकजना ‘प्रतिश्पर्धी’ मात्र भएको टिप्पणी गरेका छन्।

गतहप्तामात्र ब्रसेल्समा भएको एउटा शिखर सम्मेलनका क्रममा राष्ट्रपति ट्रम्पले समकक्षी पुटिनलाई आफ्नो शत्रु भने नभएको प्रतिक्रिया दिएका हुन्।

ब्रसेल्सको उक्त सम्मेलनपछि आयोजना भएको एक पत्रकार सम्मेलनका क्रममा एकजना पत्रकारले उनलाई “के पुटिन तपाईको सत्रु हुन्?” भनेर प्रश्न सोधेका थिए।

त्यस प्रश्नको जवाफमा उनले भने “होइन, पुटिन मेरा सत्रु होइनन्, बरु उनी मेरा प्रतिश्पर्धी चाहिँ होलान्।”

त्यस प्रश्नमा राष्ट्रपति ट्रम्पको जवाफ थियो– “पुटिन मेरा प्रतिश्पर्धी भने अवश्य हुन्, किनभने उनले रुसको प्रतिनिधित्व गर्छन्, मैले अमेरिकाको प्रतिनिधित्व गर्दछु।”

बेल्जियमको ब्रसेल्समा गतहप्ता नेटो राष्ट्रहरूको एक शिखर सम्मेलन भएको थियो। त्यस क्रममा उनले यो अभिव्यक्ति दिएका हुन्।

उक्त सम्मेलनकै क्रममा पनि राष्ट्रपति ट्रम्पले आगामी हप्ता पुटिनसँग आफ्नो भेटहुने जानकारी दिएका थिए।

ट्रम्प र पुटिनबीच हुने लागेको शिखर सम्मेलनपूर्व भने अमेरिकामा उनको विरोध भएको छ। अमेरिकी कंग्रेसका सदस्यहरूले ट्रम्पले तयारी नगरेको र पुटिन पूर्व तयारीसहित सम्मेलनमा उपस्थित हुने हुँदा अमेरिकी पक्ष कमजोर हुने भन्दै ट्रम्पको आलोचना गरेका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.