|

बाँके : बर्दिया माछागढकी मोतीदेवी चौधरी २०६३ सालकी संविधानसभा सदस्य हुन्। उनी मुक्तकमैयाको प्रतिनिधित्व गर्दै संसद भवन छिरेकी थिइन्। उनले संविधान लेखनलगायत कानुन निर्माणमा मुक्तकमैयाको प्रतिनिधि भएर १८ महिना बिताइन्। तर, यीनै मोतीदेवी अहिले आर्थिक अभावमा भेरी अंचल अस्पतालको शैयामा छटपटाई रहेकी छन्।

उपचारमा संलग्न चिकित्सकले भारत रेफर गरे पनि रकम अभावमा भेरी अंचल अस्पतालमै रहन बाध्य भएको मोतीदेवीले बताइन्। उनले उपचारका लागि आफूसँग रकम नभएकोले जीवन रक्षाका लागि सरकारसँग याचना गरेकी छन्। नेपालगन्जस्थित भेरी अंचल अस्पतालमा उपचाररत चौधरीले समयमा उपचार पाए आफूले पुनर्जीवन पाउने बताउँदै सरकारसँग आर्थिक सहयोगको याचना गरेकी हुन्।

रकम अभावमा भेरी अंचल अस्पतालमा उपचार गराउन बाध्य भएको बताउँदै उनले अहिलेसम्म कहिँ कतैबाट सहयोग नपाएको गुनासो पनि गरिन्।  उनले भनिन्, ‘जसले पनि हुनेखाने र पावर पुग्नेलाई हेर्ने त हो नी। मेरो न त राजनीतिमा पावर छ न त म आर्थिक रूपमा नै बलियो छु।’

तत्कालीन माओवादीले मुक्तकमैयाँको प्रतिनिधित्व हुने गरी पुनर्स्थापित प्रतिनिधिसभा सदस्य बनाए पनि बिरामी परेपछि पार्टीले पनि बेवास्ता गरेको उनले गुनासो गरिन्। ‘उपचारका लागि आर्थिक सहयोग पाएँ भने म बाच्न सक्छु, नत्र मेरो जीवन यत्तिकै हो,’ चौधरीले भनिन्।

उनी विगत दुर्इ वर्षदेखि उपचाररत छिन्। भेरी अंचल अस्पताल हुँदै भरतपुर क्यान्सर अस्पताल र वीर अस्पतालमा उपचार गराइसकेकी उनले अहिलेसम्म १०/१२ लाख रुपैयाँ खर्च भइसकेको बताइन्। ऋण काढेर उपचार गराएको बताउँदै उनले भएको चार कट्ठा जमिन पनि बैंकमा राखेर ऋण लिएको बताइन्। ‘अब सरकारको सहयोगबिना मेरो कुनै उपाय छैन,’ उनले भनिन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.