|

काठमाडौं : नेपाली कांग्रेसभित्र कोइराला परिवारले नेता कृष्णप्रसाद सिटौलासँग मिलेर जाने मनस्थिति बनाएको छ। कांग्रेस नेता डा.शेखर कोइरालाले सिटौलासँग मिलेर अघि बढ्न पहल थालेका छन्। पछिल्लो समय कांग्रेस सभापति शेरबहादुर देउवाको कार्यशैलीको विरोध गरिरहेका सिटौलासँग मिलेर जाने मन कोइरालाले गरेका हुन्।

यो बीचमा डा कोइराला र सिटौलाबीच पटक पटक छलफल भएको छ। सिटौलासँग प्रकाशमान सिंह र अर्जुननरसिंह केसी नजिक भएसँगै शेखर पनि नजिकिएका हुन्। कोइराला परिवार भित्रका निटस्थ मानिने सिटौला कांग्रेसको १३ औं महाधिवेशन पछि भने कोइराला परिवारको निकट छैनन्।

आफूलाई शक्तिशाली बनाउनको लागि सिटौला पनि कोइराला परिवारसँग विस्तारै नजिक बन्दै गएको बुझिएको छ। सिटौला र शेखर नजिक स्रोतका अनुसार केही दिनसम्म उनीहरूको भेट बाक्लिएको छ। झापा गएका सिटौला शनिबार मात्र काठमाडौं फर्किए भने शेखर पार्टी निकट जनसम्पर्क मञ्च हङकङको कार्यक्रममा हङकङ गएका छन्। उनी केही दिनपछि मात्र स्वदेशफर्कने उनीको निजी सचिवालयले जनाएको छ। उनी नेपाल फर्किपछि सिटौलासँगको वार्ताले निरन्तरता पाउने छ। 

पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल सभापति देउवासँग नजिक हुँदै गएपछि असन्तुष्ट अरु नेताहरू एक हुने प्रयत्नमा जुटेका छन्। सभापतिको कार्यशैली र ‘अलोकतान्त्रिक’ चरित्रप्रति शेखर पनि असन्तुष्ट छन्। सिटौला पछिल्लो समय शेखरसँग नजिक भएका छन्। सिटौलासँग कोइराला परिवारका महामन्त्री डा.शशांक कोइराला र सुजता कोइरालाको सम्बन्ध पनि राम्रो भएकाले कोइराला परिवार सिटौलालाई सँगै लिएर अघि बढ्ने सोचमा छ।

पछिल्लो समय शशांक र शेखरको पनि भेटघाट बाक्लिएको छ। शेखरले शशांकलाई सभापति देउवाबाट पार्टी नचल्ने भन्दै अब सिटौलसँग अघि बढ्नुपर्ने बताउँदै आएका छन्। ‘शेखरजी र शशांकजीको भेट बाक्लिएको छ,’ शेखर निकट स्रोतले भन्यो, ‘सभापतिले पार्टी बिगार्नुभयो। अब पार्टीको सुधारका लागि कोइराला परिवार एक हुनुपर्छ भन्ने उहाँहरूको विचार छ।’ 

कोइराला परिवारमा अटुट र कार्यशैलीगत एकता रहेको कोइराला परिवार निकट एक नेताले बताए। ‘कोइराला परिवारमा बाहिर आएको जस्तो केही छैन। उहाँबरुबीच हार्दिकता छ’, ती नेताले भने, ‘कोइराला परिवारका सदस्यबीच पहिलेकैजस्तो सम्बन्ध छ।’

कोइराला परिवारले आउँदो महाधिवेशनबाट पार्टीको नेतृत्व गर्ने रणनीति पनि बनाएको छ। तीन जना नेताले सल्लाह गरेर एक जना सभापतिको दावेदारको रूपमा देखापर्ने स्रोतहरू बताउँछन्। कोइराला परिवार र सिटौला नजिकिए पनि एउटै गुट बन्ने सम्भावना भने छैन। ‘अहिलेसम्मको अवस्था हेर्दा सिटौलाजीसँग एउटै गुट नबनाए पनि मिलेर जाने देखिन्छ’, स्रोतले भन्यो, ‘तर राजनीति हो कहिलेकाहीँ महत्वकांक्षाले पनि यताउता हुनसक्छ।’ 

शशांकलाई पछिल्लो समय सभापति देउवा निकट बनेको आरोप लाग्ने गरेको छ। तर कतिपयले उनको स्भाव नै गुटलाई प्रश्रय नगर्ने भएको भनि भन्ने गरेका छन्। १३ औँ महाधिवेशनपछि शसांक खुलेर गुटको पछि लाग्ने अवस्था नगरेको पनि नेताहरूले बताउँछन्। ‘पद अनुसार मध्यमार्गी भूमिकामा अघि बढ्नुभएको हो,तर उहाँ पनि अहिले एक्सरसाइज भइरहेको तेस्रो समुहकै सदस्य हो।’

विधान अनुसार पार्टी नचलाएको भनेर देउवाको तीब्र विरोध भइरहेको छ। शशांक भने अहिले नै देउवाको विरोध गरिहाल्ने पक्षमा छैनन्। ‘सभापतिले विधान विपरितका काम गर्नु भएकै हो’, स्रोतले भन्यो, ‘तर उहाँको गुट बलियो छ, त्यसकारण शशांकजी अहिले नै देउवालाई चिढ्याउने पक्षमा हुनुहुन्न।’ 
शशांकको आउने महाधिवेशनबाट पार्टीको सभापति बन्ने आकांक्षा छ। उनले केही हप्ताअघि थाहाखबरसँग अन्तवार्ताको क्रममा पनि आफू देशभरका कार्यकर्तासँग छलफल गर्ने र उनीहरूको आकांक्षा बझेर निर्णय लिने बताएका थिए। 

यो विषयले पनि सिटौलासँग कार्यगत एकता गर्न केही असहजता ल्याउँछ कि भन्ने धेरैको अनुमान छ। तर शशांकलाई प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र अर्जुनरसिंह केसीसँग कार्यगत एकतामा ल्याउन शेखर पनि निकै मिहिनेत गरिरहेको बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.