|

पर्सा : बहुदरमाई नगरपालिका र जगरनाथपुर गाउँपालिकामा एकै दिन पहिचान खुल्न नसकेका दुईवटा शव फेला परेका छन्। बहुदरमाई नगरपालिका २ बैरियाविर्ताको शव भने स्थानीय शिवजी साहको ६ वर्षीय छोरा आयोग साहको हुन सक्ने स्थानीयको दावी छ।

बिहान खाना खाएर घरबाट बाहिर निस्केका बालक अहिलेसम्म कतै फेला नपर्नु र उस्तै उमेरका बालको शव नजिकैको पानीको खाल्डोमा फेला पर्नुले त्यो शव आयोगकै हुनसक्ने बच्चाका आफन्त र स्थानीयले दावी गरेका छन्।  तर पर्सा प्रहरीले भने पानीको खाल्डोमा डुवेको अवस्थामा हातको कुहिनो मात्र देखिएकोले ठोस रूपमा पहिचान हुन नसकेको बताएको छ। उनै बालकलाई कसैले हत्या गरेर पानीको खाल्डोमा फालिदिएको हुन शक्ने भन्दै शवको मुचुल्का तयार गर्न र त्यहाबाट शव उठाउनसमेत स्थानीय दिएका छैनन्। उनीहरूले ठोस अनुसन्धान नगरेसम्म शव उठाउन नदिने उनीहरूको अडान छ।

गएको ७ महिना पहिले अर्थात ०७४ मंसिर १६ गते पनि शिवजी साहका दाइ संजय साहको १० वर्षीय छोरा सुमित साहको पनि हत्या गरिएको अवस्थामा शव फेला परेको थियो। तर सो घटनामा अहिलेसम्म कोही दोषी पक्राउ नपरेको भन्दै फेरि अर्को घटना दोहोरिएको बच्चाका आफन्त र स्थानीयको जिकिर छ। स्थानीयको अडान रहिरहेपछि घटनाको थप अनुसन्धान गर्न पर्सा प्रहरीले मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौँडाबाट तालिम प्राप्त कुकुर मगाएर घटनास्थल तर्फ पठाइएको जनाइएको छ।

घटनास्थलमा पुगेका पर्साका प्रहरी नायव उपरीक्षक मानबहादुर राई नेतृत्वको प्रहरी टोलीले पनि स्थानीयको अडानअनुसार नै घटनाका बारे अगाडि बढिएको बताए। मध्यान्हतिर घर नजिकैको ‘पोखरीमा शव देखिएको प्रहरीलाई जानकारी आएपछि प्रहरी टोली त्यहाँ पुगेको उनको भनाइ छ।

उता पर्साको जगरनाथपुर गाउँपालिकामा फेला परेको अधबैंसे जस्तो देखिने महिलाको शवलाई भने पोष्टमार्टमका लागि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा पठाइएको पर्सा प्रहरीले बताएको हो। किरा पर्न थालेको अवस्थामा फेला परेको शवको प्रकृति हेर्दा मृतक महिला झण्डै ४० वर्षीया जस्तो देखिएको पर्साका प्रहरी प्रवक्ता सत्य नारायण थापाले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.