|

काठमाडौं : गुटगत राजनीतिले बेलाबेला तताइरहने नेपाली कांग्रेसलाई फेरि एक पटक तताउने निश्चित भएको छ। सभापति शेरबहादुर देउवाको विपक्षमा खरो उत्रिने वरिष्ठ नेता रामचन्द्र पौडले जिल्ला सभापतिहरूको भेलापछि मौन बसेको आरोप खेपिरहेका बेला फेरि उनी एक पटक तातेका छन्। 

उनी निकटका नेताहरूले देउवासँग संझौता गर्न पुगेको भन्दै असन्तुष्टि व्यक्त गरिरहेका बेला नेता पौडेलले आफू निकटका केन्द्रीय सदस्यलाई छलफलका लागि बोलाएका छन्। उनले आफूप्रति लागेको आरोपको खण्डन गर्नका लागि आफू निकट केन्द्रीय सदस्यहरूलाई बोलाएका हुन्। योसँगै कांग्रेसको राजनीति पुनः तात्ने निश्चित छ। पछिल्लो समय देउवासँग असन्तुष्ट बनेका नेताहरू एक ठाउँमा उभिएका बेला देउवा निकट भएको आरोप लगाएर झण्डै उनी ‘बाइपास’ भएका थिए।

उनी देउवा नजिक भएको भन्दै उनी निकटका प्रकाशमान सिंहसमेत कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी र शेखर कोइरालाको अभियानमा सरिक भएका थिए। तर उनीहरूबीचमा पनि आफूलाई सिध्याउनका लागि कसैले गलत प्रचार गरेको भन्दै पौडेलले स्पष्टीकरण दिँदै आएका थिए। 

देउवाइतर पक्षको मत शक्तिशाली बन्दै गएका बेला आफूमाथि यस्तो आरोप लाग्नु घातक हुने भन्दै उनले आफू निकट केन्द्रीय सदस्यलाई छलफलका लागि बोलाएका स्रोतले बताएको छ। पौडेल समूहका भनेर चिनिएका केन्द्रीय सदस्य गुरुराज घिमिरेले वरिष्ठ नेता पौडेलले साउन २ गते दिउँसो राजधानीको एक पार्टी प्यालेसमा भेला बोलाएका बताएका छन्। 

पछिल्लो समय पौडेल समूह निकै शक्तिशाली बनेको छ। निर्वाचनमा हार व्यहोरेपछि सभापतिको कमजोरी देखाउँदै धेरै नेता उनीसँग मोर्चाबन्दी गर्न आइपुगेका छन्। १३औँ महाधिवेशनमा देउवालाई साथ दिएका कुलबहादुर गुरुङले केन्द्रीय समितिको बैठकमै देउवासँगको सहकार्य टुटेको घोषणा गरिसकेका छन्। उनी पौडेल समूहको उक्त भेलामा आउने निश्चित छ। 

यस्तै, १३औँ महाधिवेशनमा देउवालाई सहयोग गरेका पार्टी नेता कृष्णप्रसाद सिटौला र अर्जुननरसिंह केसीले पनि पौडेलसँग सहकार्य गरेर अघि बढ्ने घोषणा गरिसकेका छन्। यसअघि पौडेल समूहमा २७ जना मात्र केन्द्रीय सदस्य थिए। ‘पहिला २७ जना केन्द्रीय सदस्य पौडेल समूहबाट थिए। अहिले ३५ जनाजति पुग्नुहुन्छ’, उनले भने, ‘अझ देउवासँग असन्तुष्ट कति जना आउनुहुन्छ र पौडल समूहमा अब कति पुग्छन् भन्ने भेलाबाट थाहा हुन्छ।’ 

शक्तिशाली भएको समयमा आफूलाई विभिन्न आरोप लगाउँदै पछि हटाउने खेल भएको भन्दै पौडेल आत्तिएकाले भेला बोलाएको उनी निकट स्रोतले बताएको छ। 
भेलाबाट अब देउवाको कार्यशैलीविरुद्ध कसरी अघि बढ्ने भन्ने विषयमा छलफल हुने उनीसँग मोर्चाबन्दी गर्न आएका एक शीर्ष नेताले जानकारी दिए। उनले भने, ‘एक उहाँको आरोपको खण्डन गर्न हो, अर्को सभापति विधानविपरीत चल्नुहुन्छ। उहाँको कसरी विरोध गर्ने भन्ने रणनीतिका लागि बैठक बोलाइएको हो। तर केन्द्रीय सदस्यलाई खासै केही एजेण्डा छैन भनेका छौँ।’ 

पछिल्लो समय पार्टी सभापतिले महासमिति बैठक सार्ने रणनीति बनाएपछि वरिष्ठ नेता पौडेलले यसको विरोध गर्नका लागि पनि आफू निकटका केन्द्रीय सदस्यलाई बोलाएको उनी निकट एक केन्द्रीय सदस्यले जानकारी दिए। 

‘विशेषत: उहाँले आफूप्रति लागेको आरोप झूटो भएको सावित गर्न बोलाउनुभएको हो’, ती केन्द्रीय सदस्यले भने, ‘अर्को कुरा पार्टीमा विभिन्न विभाग गठन गर्नुपर्नेछ। विधान परिमार्जन समिति बनाउनुपर्नेछ। यसका लागि छलफल गर्न पनि भेला बोलाएको हो।’

पछिल्लो समय पार्टी संघीय संरचनाअनुसार नचलेको भन्दै पार्टी कार्यकर्ताहरूले नेतृत्वको आलोचना गर्दै आएका छन्। असार पहिलो साता हेटौँडामा भएको जिल्ला सभापतिहरूको भेलामा सभापति देउवाले प्रदेश समिति गठन गर्ने प्रतिवद्धता जनाएका थिए।

देउवाले वरिष्ठ नेता पौडेललाई प्रदेशमा तदर्थ समिति गठनका लागि प्रस्ताव पनि गरेका थिए, जसमा देउवाले चार प्रदेशका संयोजक आफू निकटकालाई बनाउने र पौडेल समूहलाई तीन प्रदेश दिने प्रस्ताव गरेका थिए। तर सिटौला र केसी समूहले भने प्रत्येक प्रदेशमा महाधिवेशन प्रतिनिधिबाट प्रदेश समिति गठन गर्नुपर्ने अडान राख्दै आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.