|

सुर्खेत : जुम्लामा अनशनरत वरिष्ठ डाक्टर गोविन्द केसीका मागहरूको पक्षमा समर्थन जनाउँदै आएका कर्णालीका डाक्टरहरूले २४ घण्टाभित्र माग सम्बोधन नभए आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने चेतावनी दिएका छन्। चिकित्सा क्षेत्रमा भएका विकृतिको अत्यका लागि जुम्लामा अनशनरत डा. केसीको स्वास्थ्य अवस्था नाजुक हुँदै गएको भन्दै सुर्खेतका डाक्टरहरू दबाबस्वरूप २४ घण्टे अल्टिमेटम दिएका हुन्।

असार १९ गतेदेखि हातमा कालोपट्टी बाँधेर काम गरेका सुर्खेत क्षेत्रीय अस्पतालका डाक्टरहरूले असार २६ गतेदेखि एक घण्टा ओपिडि अर्थात बहिरङ सेवा बन्द गरेर काम गरिरहेका छन्। अनशन बसेको १६औं दिन भइसक्दा पनि सरकारले केसीका मागप्रति गम्भीर नभएको भन्दै कर्णाली प्रदेशका डाक्टरहरूले आन्दोलनलाई भोलिदेखि झनै चर्काउने भएका छन्।

केसीले उठाएका मागहरू जायज हुँदाहुँदै पनि सरकारले आजसम्म पनि वार्ता टोलिसमेत गठन नगरेकोमा आपत्ति जनाउँदै यहाँका डाक्टरहरूले आजदेखि थप आन्दोलनका कार्यक्रमहरू गर्ने भएका छन्।

आन्दोलनका कार्यक्रमअन्तर्गत आइतबार प्रदेश सरकारलाई दबाबस्वरूप ज्ञापनपत्र बुझाउँदै २४ घण्टाभित्र कुनै प्रतिक्रिया नआएर कर्णाली प्रदेशका आकस्मिक बाहेकका सबै सेवा टप्प पार्ने चेतावनीसमेत दिए।

आइतबार सञ्चारकर्मीसँग कुराकानी गर्दै क्षेत्रीय अस्पताल सुर्खेतका मेडिकल सुपरटेन्डेन डम्बर खड्काले केसीका माग सम्बोधन नभएर जागिर छोडेर भए पनि आन्दोलन चर्काउने बताए। उपचारको अभावमा अकालमै मृत्युवरण गर्नुपर्ने कर्णालीवासीका लागि डा.केसीको पक्षमा समर्थन गर्नुको विकल्प नभएको उनको भनाई थियो। दुर्गम र पहाडी क्षेत्रको प्रतिनिधित्व कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले मात्र गर्नसक्ने भन्दै खड्काले केसी अनशन गरिबी जनता र स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका जनताको पक्षमा भएको दाबी गरे। 

त्यस्तै नेपाल चिकित्सक संघ सुर्खेतका अध्यक्ष डा नवराज केसीले सरकार चाउचाउवादमा फसेको आरोप लगाए। उनले भने ‘सरकार चाउचाउवाद अर्थात् दुर्इ दिनमा पैसा कमाएर धनी हुनेहरूको पछि लागको छ, यदि २४ घण्टाभित्र माग सम्बोधन नभएर जागिर छोडेर भए पनि आन्दोनल चर्काउँछौँ।’ काठमाडौंका मात्रै जनता हुन् भन्ने मानसिकताबाट सरकारले अघि बढेको भन्दै दुर्गम क्षेत्रमा समेत डाक्टरी पढाउनुपर्ने बताए।

कार्यक्रममा क्षेत्रीय अस्पताल सुर्खेतमा कार्यरत डाक्टहरूले केसीको स्वास्थ्य अवस्था बिग्रदै गएको भन्दै तत्काल सरकार गम्भीर हुनुपर्ने बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.