|

काभ्रेपलाञ्चोक : आन्तरिक पर्यटकहरूको गन्तव्य बनेको पनौती नगरपालिकास्थित गुर्दुमडाँडा व्यवस्थित गर्न नसक्दा बाह्य पर्यटक भित्र्याउने योजना पूरा हुन सकेको छैन। यो क्षेत्रको पर्यटकीय विकास र प्रवर्धनका लागि नगरपालिका र स्थानीय संघसंस्थाले आवश्यक व्यवस्था गर्ने भने पनि अझै ठोस कार्ययोजना बनेको छैन।

‘शान्त वातावरण, स्वच्छ हावापानी र हिमालको मनोरम दृश्यावलोकन गर्नका साथै जंगली चराचुरु‌ंगीको आवाज सुन्नकै लागि पर्यटकहरू यहाँ आउने गर्छन्’ फूलचोकी होमस्टेका सञ्चालक कान्छामान तामाङले भने, 'पहिला एकान्त लाग्थ्यो, बाटो थिएन अहिले बाटोको सुविधा र अरु पनि धेरै सुविधा भएकाले घुम्न आउनेहरूको संख्या बढ्दै गएको छ।'

यसरी घुम्न आउने मासिनहरूको संख्या बढ्दै गए पनि अझ व्यवस्थित बासस्थान, खानपान र पिउने पानीको उचित व्यवस्थापनको कमीका कारण पर्यटकलाई भने जस्तो सेवा दिन नसकेको स्थानीय सरिता तामाङले बताइन्।

पनौती नगरपालिका–२ मा पर्ने गुर्दुमडाँडामानगरपालिका र स्थानीय संस्था कुशादेवी क्षेत्र सरोकार विकास समाजले पर्यटन विकासको लागि गुर्दुमडाँडा उपयुक्त भएकाले त्यसको विकास गर्नका लागि काम गर्ने जनाएको थियो। त्यसैको लागि प्रवर्धन गर्न गत वैशाख १५ गते कुशादेवी क्षेत्र सरोकार विकास समाज र पनौती नगरपालिकाले तीन दिने ‘विहाबर क्षेत्र पर्यटन महोत्सव २०७५’ समेत सम्पन्न गरिसकेको छ।

नगरको नीति, कार्यक्रम तथा बजेटको पर्यटन शीर्षकमा पर्यकटका लागि अावश्यक जनशक्ति नगरमा नै उत्पादन हुन् भन्ने उद्देश्यले प्रत्येक वर्ष दुई जना ट्रेकिङ गाइड तथा दुई जनालाई टुर गाइडको लागि छात्रवृत्ति दिने व्यवस्था मिलाइने र नगरपालिकाद्वारा पर्यटन क्षेत्रमा काम गर्ने गरी आफ्नै मातहतमा रहने गरी पर्यटनसँग सम्बन्धित संस्था स्थापना गर्ने व्यवस्था मिलाउने उल्लेख छ।

नगरपालिकाले गुर्दुमडाँडाको पर्यटन प्रवर्धनको लागि काम गर्न छुट्टै व्यवस्था भने गरेको छैन। सो विषयमा पनौती नगरपालिकाका प्रमुख भीम न्यौपानेले भने नीति तथा कार्यक्रममा समेट्न नसके पनि त्यसका लागि नगरको तर्फबाट बजेट मिलाउने बताए। ‘हामीले विशेषगरी प्याराग्लाइडिङको लागि संस्था दर्ता गर्न आवश्यक सहयोग र प्रबन्ध मिलाउने भनेपनि स्थानीयद्वारा सो काममा अघि नबढेको र टाढाबाट कुनै संस्था इच्छुक नदेखिएको कारण प्रक्रिया अगाडि बढ्न नसकेको हो’, न्यौपानेले भने। 

पर्यटन प्रवर्धनकै लागि प्याराग्लाइडिङ उडानको सफल परीक्षण समेत सफल भइसकेको सो ठाउँमा पर्यटन प्रवर्धनका लागि अरु थप योजनाको काम भने अझै अगाडि बढ्न नसकेको स्थानीय बासिन्दाको गुनासो छ। नगरपालिकाको आर्थिक वर्ष ०७५\७६ को नीति, कार्यक्रम तथा बजेटमा समेत गुर्दुमडाँडाको पर्यटन प्रवर्धनको लाागि समेट्न नसकेको उनीहरू बताउँछन्।

दूई हजार सात सय मिटरको उचाईमा रहेको सो डाँडाबाट हिमालका दृश्यहरु समेत अवलोकन गर्न सकिन्छ। महाभारत श्रृंखलामा पर्ने सो क्षेत्रमा दूई सय ८० प्रजातिका चराचुरुङ्गीहरु, वन्यजन्तुको बासस्थान रहेकाले पर्यटन क्षेत्रको विकासको लागि थप आकर्षणको केन्द्र बन्ने आधार रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.