|

चितवन : रत्ननगर नगरपालिकाले बालबालिकालाई सामुदायिक विद्यालयमा आकर्षित गराउन शिशु कक्षामा खाजा कार्यक्रम सुरु गरेको छ। शिक्षाको जग नै शिशु कक्षा भएकाले जग बलियो भए घर बलियो हुन्छ भने झै नगरपालिकाले शिशु कक्षामा खाजा कार्यक्रम चलाएको रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले बताए।

रत्ननगरमा रहेका ३२ विद्यालयका ८७७ विद्यार्थी खाजा कार्यक्रममा सरिक भएका छन्। उनीहरुलाई प्रतिदिन १५ रपैयाँका दरले नगरपालिकाले खाजाका लागि रकम उपलब्ध गराएको छ। अहिलेसम्म खाजा कार्यक्रमका लागि १३ लाख ३४ हजार रुपैयाँ खर्च भएको नगरपालिकाले जनाएको छ। 

२०७४ पुसबाट सुरु भएको खाजा कार्यक्रम आगामी वर्ष एक हजार बालबालिकालाई ३२ लाखको खाजा कार्यक्रम सञ्चालन गर्ने रत्ननगर नगरपालिकाको शिक्षा शाखा प्रमुख राजेन्द्रप्रसाद बरालले जानकारी दिए। ‘अहिले विगतभन्दा बालबालिका बढेको छ,’ उनले भने, ‘कक्षा १ मा भर्ना हुने संख्या बढ्यो भने कार्यक्रमले निरन्तरता पाउँछ, नत्र बन्द हुन्छ भनेर सामुदायिक विद्यालयलाई भनिसकेका छौं।’ बालबालिकालाई शिक्षामा आकर्षित गराउनु नै खाजा कार्यक्रमको मुख्य उद्देश्य भएको उनको भनाइ छ।

अघिल्लो वर्ष सामुदायिक विद्यालयको शिशु कक्षामा ८७७ जना विद्यार्थी थिए। यस वर्ष ९९२ जना छन्। विद्यार्थी पढ्नुमा खाजा कार्यक्रमको प्रभाव भएको बरालको भनाइ छ। 

विद्यालयहरुले भने खाजा कार्यक्रम कम भएको गुनासो गरेका छन्। पोषणयुक्त खाजा खुवाउन रकम बढाउनुपर्ने विद्यालयका प्रधानाध्यापकले बताएको बराल बताउँछन्।

सरकारले चितवनको विकट चेपाङ गाउँमा अहिले पनि विद्यालर्थीहरूलाई आकर्षित गर्न खाजा कार्यक्रम चलाएको छ। खाजाको बहानामा बालबालिकाहरु स्कुल नियमित हुने गरेका छन्। 

सोही नजिरअनुसार पहाडी इलाकाले नछोएको रत्ननगर नगरपालिकाले पनि शिशु कक्षामै खाजा कार्यक्रम ल्याएको हो। तर, सामुदायिक विद्यालयमा खाजा खाएर केही सिकेपछि अभिभावकहरुले निजी .स्कुलमा बालबालिकाहरु पठाउने समस्या आउने सक्ने खतरा देखिएको जिल्ला शिक्षा समन्वय इकाइको रत्ननगर स्रोत केन्द्रका स्रोतव्यक्ति अनिता अधिकारीले बताइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.