|

बारा :  बारामा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सरकारी योजना छ। राष्ट्रिय गौरबको उक्त आयोजनाभित्र भने धमाधम हुलाकी सडकको काम भइरहेको छ। विमानस्थल निर्माण क्षेत्रको पूर्वी सिमाना नजिकै पूर्वपश्चिम राजमार्गलाई जोड्ने गरी हुलाकी राजमार्गअन्तर्गत तामागढी–सिम्रौनगढ सडकखण्ड बनिरहेको हो।

उक्त सडकखण्ड करिब एक अर्ब रुपैयाँमा निर्माण सम्पन्न गर्ने सम्झौता भएको छ। ३० महिनामा सक्ने गरी २०७४ असार ३ मा शर्मा/पप्पु/रोशन जेभी र पप्पु/महावीर जेभी कन्ट्रक्सन कम्पनीसँग सम्झौता भएको हो।

सरकारले विमानस्थल क्षेत्र घोषणा गरेको क्षेत्रमा भौतिक संरचना बनाउन प्रतिबन्ध छ। हुलाकी राजमार्ग निर्माण भइरहँदा आयोजनाले भने जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराए पनि निर्माण कार्य नरोकिएको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख रामहरि महर्जनले बताए। ‘हामीले हुलाकी राजमार्गको कार्यालयमा पुगेर विमानस्थल क्षेत्रको नक्सासहित पत्र समेत बुझायौं,’ आयोजना प्रमुख महर्जनले भने, ‘छलफल गरेर रोक्नुपरे रोकौंला भनेर प्रतिबद्धता जनाए पनि काम रोकिएको छैन।’

विमानस्थलको मास्टर प्लान नबनेको अवस्था सडक निर्माण हुँदा विमानस्थलको धावनमार्गमा परे अहिले गरेको लगानी खेर जाने प्रमुख महर्जनको भनाइ छ।

निर्माणाधीन सडकको पश्चिमतर्फ भवन निर्माण गर्ने विमानस्थल आयोजनाको तयारी छ। ‘भवन निर्माण भएपछि आयोजनाको प्रयोगमा आउन सक्छ,’ आयोजना प्रमुख महर्जनले भने, ‘सुरक्षाका कारण सर्वसाधारणले प्रयोग गर्न मिल्दैन।’

सन् १९६० मा नेपालका आठ स्थानमा अध्ययन भएकोमा सबैभन्दा उपयुक्त यस स्थानलाई रोजिएको थियो। लामो समयदेखि चर्चा भए पनि प्रारम्भिक प्रकृयामा नै अल्झिएको छ। विमानस्थल निर्माणका लागि ११ हजार ७७५ बिगाहा जमिन वन मन्त्रालयबाट आयोजनाको नाममा आइसकेको छ।

निजगढ नयाँ विकल्प

विमानस्थल आयोजनाले असन्तुष्टि जनाइरहेको बेला निजगढ नगरपालिकाले नयाँ विकल्प अघि सारेको छ। हुलाकी सडकलाई निजगढ नगरपालिकाले निर्माण भएको बाइपास सडक जोड्न प्रस्ताव गरिएको निजगढ नगरपालिकाका उपप्रमुख लीलादेवी लामिछानेले बताइन्।

तीन किलो मिटरको नदीकट्टा नजिकबाट पुल बनाएर निजगढको बाइपास सडकमा जोडेर पूर्वपश्चिम राजमार्गसँग जोड्न सकिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.