|

बर्दिबास : महोत्तरी जिल्लामा यसपालि आँपले उचित मूल्य नपाउँदा किसान निरास भएका छन्। मुख्य व्यवसाय नै आँप खेती रोजेका यस जिल्लाका किसान आँप कौडीको मूल्यमा बेच्नु परेपछि वर्षभरिको गुजारा कसरी टार्ने चिन्ताले पिरोलिएका छन्। 

आँपको मुख्य माग हुने असारे पन्द्र पर्वतामा पनि यसपालि आँपको मूल्य बगैँचामा १० रुपैयाँ प्रतिकिलो मात्र रहेको यहाँका किसानको गुनासो छ। ‘आँप त ठीकै फलेको हो’ बर्दिवास–९ पशुपतिनगरका किसान सुरजसिंह कुशवाहाले भने, ‘तर कौडीको मूल्यमा बेच्नु प¥यो, वर्षभरिको गुजारा अब कसरी टार्ने होला।’ गत वर्ष ७० रुपैयाँ प्रतिकिलोसम्म बिक्री भएको बताउँदै सम्झँदै कुशवाहाले यसपालि भने १०० बोट आँपबाट ५० हजार रुपैयाँ आम्दानी लिन पनि नसकिएको गुनासो गरे। 

महोत्तरी जिल्लामा बर्दिवास नगरपालिकाका खयरमारा, माईस्थान, बिजलपुरा, पशुपतिनगर र किसाननगर गौशाला नगरपालिकाका भरतपुर, रजखोर, लक्ष्मीनियाँ, बिसरपुर, फुलकाहा, बेलगाछी र भाण्टाबारी आँप खेतीका लागि कहलिएका ठाउँ हुन्। त्यसैगरी भंगाहा नगरपालिकाका रामनगर, जलेश्वर नगरपालिकाका पर्सापतैली, पिगौना र परिकौली र पिपरा गाउँपालिकाकाको पिपरा आँप खेतीका लागि पकेट क्षेत्र मानिन्छन्। 

गत वर्ष जिल्लामा आँप राम्रो नफलेकाले यसपालि बगैँचा खरिदप्रति व्यापारीले रुची नदेखाउँदा धेरैजसो बगैँचा किसान आफैँले रेखदेख गरेका थिए। ‘अरु वर्षजस्तो पहिले व्यापारी झुम्मिएनन्,’ भंगहा–४ रामनगरका किसान गंगाराम महतोले भने, ‘आँप टिपेर बजार पु¥याइएको ज्याला पनि बिक्रीबाट पाइएन।’ 

किसानले आँप बिक्रीबाट राम्रो आम्दानी लिन नसके पनि अहिले असार निकल्दो भने व्यापारीले भण्डारण गरेका आँपको मूल्य प्रतिकिलो रु ५० नाघेको छ। साउन महिना शिव उपासना गर्दा फलाहार मात्र गर्ने धार्मिक, सामाजिक परम्पराको फाइदा उठाउँदै व्यापारीले १० रुपैयाँ प्रतिकिलो लिएका आँप अहिले प्रतिकिलो ५० रुपैयाँ नघाइसकेका उपभोक्ताहरु बताउँछन्। 

महोत्तरीमा करिब तीन हजार हेक्टर क्षेत्रफलमा उत्पादन दिइरहेका आँपका बोट र आउने वर्ष उत्पादन दिने बोट ५०० हेक्टरमा रहेका जिल्ला कृषि विकास कार्यालय महोत्तरीले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.