|

ओखलढुंगा : ओखलढुंगामा परम्परागत बालीहरू देखीन छाडेका छन्। कृषिमा आधुनीकीकरण भित्रिएसँगै ग्रामीण भेगमा परम्परागत बालीहरू देखिन छाडेका हुन्। कृषिमा आधुनीकीकरण भित्रिएसँगै परम्परागत पुख्र्यौली अन्न बालीहरू मार्सी, अटे, भंगेरी, मसिनो, रामबिलास धान, स्थानीय मकै, कोदो, तिते र मिठे फापर, आलुलगायतका परम्परागत अन्नबाली तथा फलफूल देखिन छाडेका  छन्।

अन्नबाली मासिनुमा प्रमुख कुरा परनिर्भरता बढेको सिद्धिचरण नगरपालिकाको कृषि शाखाका प्रमुख हेम आलेमगरको भनाइ छ। ‘पहिले चामलको भात खान दसैंतिहार कुर्नुपर्थ्यो भने अहिले घरघरमै चामलको बोरा आइपुग्छ। आफूले खेती गर्नु पर्दैन खान पाइहालिन्छ । अनि कसले गर्ने गर्ने ?’ वैदेशिक रोजगारीमा जाने र पैसा ल्याएर मिठो खाने प्रवृत्तिले युव पुस्ता खेतीबालीमा आकर्षण नभएको मगरको ठम्याइ छ।

मिठो मसिनो खाने बाहनामा मान्छेहरूले  फापर, कोदोको त खेती नै गर्न छाडेको लिखु गाउँपालिका-८ का स्थानीय तथा अगुवा कृषक बेदबहादुर पौडेल बताउँछन्। आफू एउटा कृषि प्रविधिक भए पनि म आफूले नै परम्परागत बालीहरू बिर्संदै गएको उनले बताए।

परम्परागत अन्नबालीको संक्षणका लागि कम्पनी दर्ता

परम्पागत बाली हराउँदै गएपछि ओखलढुंगाको पस्चिमी भेगमा किसानहरूलाई परम्परागत बाली संरक्षणमा अगुवा भएर युवाहरू लागिपरेका छन्। लिखु गाउँपालिकाका केही युवाहरूले ‘लिखु एग्रिकल्चर’ कम्पनी नै दर्ता गरी राजधानीमा गाउँघरका अर्गानिक खाद्यान्न बिक्री गर्ने योजना बनाएर काम थालेका छन्। उनीहरूले सिस्नोको पिठो, कोदो, फापरको पिठो, मकैजस्ता अन्न कृषकहरूबाट खरिद गरी किसानहरूलार्य हौसला प्रदान गर्न लागिपरेका छन्।

कम्पनीका अध्यक्ष सान्तोष बस्नेत लोचनका अनुसार पूर्ण रुपमा अर्गानिक र परम्परागत अन्न बाली खोजे पनि अहिलेसम्म पाउनै कठीन भएको छ। 'हामीले परम्परागत अन्न बाली र अर्गानिक कृषिजन्य सामग्री खोजिरहेका छौँ तर, अहिले पाउनै गाह्रो छ अहिले मान्छेहरूले खेती गर्नै छाडिसकेकाले खोजी गरेको अन्नबाली पाउनै समस्या छ' उनले भने।

कम्पनीले भाडामा लिएको जग्गामा अहिले फलफूल, तरकारी लगाउनका साथै बाख्रा पालन, माछा पालन र परम्परागत अन्नबालीको खोजी गरी लगाउन सुरु गरिएको लिखु एग्रीकल्चरका फिल्ड शाखा प्रमुख पुष्पराज भट्टराईले बताए। उनका अनुसार अहिले कम्पनीले कतिपय कृषकहरूलाई प्रोत्साहनस्वरूप परम्परागत अन्नबालीको खेती लगाउनसमेत हौस्याइरहेको छ।

लिखु गाउँपालिका-६ मा अहिले लिखु एग्री कल्भरले अनार १० हजार, अम्वा, आँप, कागती, केरा, किवी र पिपीनोमेलनलगायतका १५ हजार फलफूलका विरुवा तथा स्थानीय जातका राज्मा, सिमी, फापर, कोदो, मकै र धान बाली लगाइरहेको छ। १४ वटा पोखरीमा ६० हजार माछा, बोयर र खरी जातका १५० बढी बाख्रापालनसमेत गरिरहेको कम्पनीले जनाएको छ।  

क्षेत्री ब्राह्‍मणका हरेक धार्मिक परम्परा र संस्कारमा अनिवार्य रुपमा चाहिने जौ र तिल अहिले गाउँघरमा पाइन छाडेको छ। केही वर्ष अघिसम्म मान्छेहरूले खेतीकै रूपमा गर्ने गरेको गहुँ, जौं र तिल अहिले पाइन छाडेको लिखु-६ का स्थानीय हरि भट्टराईले बताए। अहिलेको केटाकेटीले गहुँको खेती कसै कसैले गर्ने भएका कारण जौ पनि त्यस्तै हुन्छ भनेर चिन्छन् तर तिल कस्तो हुन्छ भनेर थाहा पाउन छोडिसकेको उनले बताए। स्वास्थ्यका दृष्टिकोणबाट समेत राम्रो मानिने यस्ता अन्न बाली मासिन थालेपछि अहिले नयाँ र हाईब्रिड बालीहरू भित्रिन थालेका छन्।

साबिकको कृषि विकास कार्यालयको ०७२/७३ को तथ्यांकअनुसार ओखलढुंगा खाद्यान्न अपुग हुने जिल्लामा पर्दछ । जिल्लाका लागि आवश्यक पर्ने खाद्यान्न २९ हजार ७ सय ४४ टन हो भने खाद्यान्नको कुल उत्पादन २७ हजार ५ सय ८७ टन मात्रै छ ।

२ हजार १ सय ५७ टन वर्षमा अपुग देखिन्छ । परम्परागत बालीको तथ्यांक हेर्ने हो भने अत्यन्तै न्यून क्षेत्रफलमा लगाउने गरेको देखिन्छ । ओखलढुंगामा फापर त जिल्लाभरिमा जम्मा १ सय ५ हेक्टरमा मात्र लगाउने गरेको देखिन्छ । फिलुंगे १९ हेक्टरमा सीमित छ भने थुप्रै अन्न बालीको अध्ययन हुनै छाडिसकेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.