|

स्टार खेलाडीलाई विश्वकपमा राम्रोसँग परिचालन गर्न नसकेको आरोप खेपिरहेका अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पाओलीले अर्जेन्टिनी फुटबल टोलीको जिम्मेवारी छाडेका छन्।

अर्जेन्टिना फुटबल संघसँगको आपसी समझदारीपछि दुवै पक्ष सम्झौता अन्त्य गर्ने सहमती भएपछि उनले राजिनामा दिएका हुन्। अर्जेन्टिना रुसमा सम्पन्न विश्वकपमा प्री-क्वाटरफाइनलबाटै बाहिरिएपछि साम्पाओली निकै आलोचित बनेका थिए। उनले सन् २०१७ को मेमा अर्जेन्टिनाको प्रशिक्षक जिम्मेवारी सम्हालेका थिए।

राम्रो रणनिती बनाउन नसकेको र खेलाडी छनोटमा समेत परिपक्वता नभएको भन्दै विश्वकपको समूह चरणमा अर्जेन्टिनाकै खेलाडीले साम्पाओलीको आलोचना गरेका थिए। ५८ वर्षीय साम्पाओलीसँगको सम्झौता अन्त्यबारे अर्जेन्टिनी फुटबल संघले भनेको छ ‘आज, अर्जेन्टिनी फुटबल संघ र प्रशिक्षक जर्ज साम्पाओली आपसी सहमतीमा सम्झौता अन्त्य गर्न सहमत भएका छन्।’

अर्जेन्टिनाले यो विश्वकपको समूहगत चरणमा आइसल्यान्डसँग १-१ गोलको बराबरी, क्रोएसियासँग ३-० गोलको हार र नाइजेरियासँग २-१ गोलको जित निकालेको थियो। अर्जेन्टिनाले सन् १९७४ पछि पहिलोपटक समूह चरणमा दुई जित हात पार्न असफल समेत भयाे। यसैगरी  क्रोएसियासँगको हार, सन् १९५४ को विश्वकपमा चेकोस्लोभाकियासँग ६-१ गोलले पराजित भएयता  विश्वकपको समूह चरणमा अर्जेन्टिनाको पहिलो फराकिलो पराजय समेत ब्योहोर्‍यो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.