|

बाँके : बाढीको उच्च जोखिममा बाँकेका ६३ गाउँ रहेको जिल्ला विपद ब्यपस्थापन समितिले जनाएको छ। बाढीको उच्च जोखिममा रहेका गाउँको पहिचान गरी जोखिम न्यूनीकरणका लागि उद्धार, खोजतलास, राहत तथा पुनर्स्थापनाका लागि योजना तयार पारेको समितिले जनाएको छ। 

समितिले जिल्ला विपद पूर्व तयारी तथा प्रतिकार्य योजना तयार पारेर बाढीको उच्च जोखिम क्षेत्रको पहिचान गरी उद्धार, राहत तथा पुनर्स्थापनाका लागि कार्ययोजना बनाएको जिल्ला विपद ब्यवस्थापन समितिका अध्यक्ष एव‌ं प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिए। राप्ती नदी आसपासमा रहेका स्थानीय निकायमा पर्ने गाउँलाई उच्च जोखिम क्षेत्रमा राखिएको छ।

राप्ती नदी आसपासका राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाका गाउँलाई बाढीको उच्चजोखिम क्षेत्रको रुपमा राखिएको उनले बताए। केसीका अनुसार, राप्तीसोनारी गाउँपालिका-६ र ७ का खल्ला झगडिया, पिप्रहवा, देउपुरा, शान्तिपुर, वसन्तापुर, पहाडीपुर,सर्री, सर्रा, जोरैया, सिधनवा, खल्ला टपरी, ढलैया र गोडियनपूर्वालाई बाढीको उच्चजोखिममा राखिएको छ। 

डुडुवा गाउँपालिका अन्तर्गत पर्ने साविक होलिया गाविसको होलिया, कुडुवा, कुडुवा चौफेरी, कृषि चौफेरी, गोडियनपूर्वा, अमृतपूर्वा, सोमरहना, बालुपूर्वा, नयाँ वस्ती, पिप्रहवा, खडैचा, कधईपूर्वा, सन्तलिया र हलबलडोलीलाई राप्ती नदीमा आउने बाढीको उच्च जोखिममा राखिएको प्रजिअ केसीले बताए। विपद व्यवस्थापन समितिले राप्ती नदी किनारमा रहेको साविक बनकट्टी गाविसलाई पनि बाढीको उच्च जोखिममा राखेको छ। समितिका अनुसार, साविक बनकट्टी गाविसका बनकटवा, रमपूर्वा, कटैहिया, लतपूर्वा, राजारामपूर्वा र हल्कारापूर्वालाई बाढीको उच्चजोखिमको रुपमा सूचीकृत गरिएको छ।  

कम्दी गाविसको सिधनवा, लालपुर, खटनपुर र लडियाघाट गाउँ डुवानको उच्चजोखिमको सूचीमा छन्। भने, कचनापुर गाविसको कचनापुर, अम्रहवा, महेन्द्रपुर, टिकुलीपुर, अम्रहवा, शम्शेरगंज खल्ला, मटैया, बेलबास, राजपुर र हरदेवा पनि उच्चजोखिम क्षेत्रको रुपमा रहेका छन्। नरैनापुर गाउँपालिका-६, गंगापुरको सोनवर्षा, कुदरवेटवा, गंगापुर र खल्लादोन्द्रा तथा नरैनापुर गाउँपालिका-५, मटेहियाका भगवानपुर गाउँ बाढीको उच्च जोखिमको सूचीमा छ। 

राप्ती नदीको उच्चजोखिममा रहेका साविकका बैजापुर, बिनौना र खास कुश्मा गाविस भने बाढीको उच्चजोखिमको सूचीमा नपरेको जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ। गत वर्ष आएको बाढीले बैजापुरमा एकै घरका तीन जनाको मृत्यु हुनुका साथै लाखौँ रुपैयाँ बराबरको धनमालमा क्षति पुगेको थियो। तर साविक मनिकापुर गाविसको मदनापुर र फारमटोललाई बाढीको उच्चजोखिम क्षेत्रको रुपमा राखिएको छ।

जिल्ला विपद ब्यवस्थापन समितिले साविक उढरापुर गाविसको गिजरा, पुरैना, दशविघा,आठविघा, बाह्रविघा, शान्ति नगर र सल्यानी टोललाई बाढीको जोखिम क्षेत्रमा राखेर सतर्कता अपनाएको जनाएको छ। 

बाँकेका अधिकांश भू-भाग डुवानको जोखिममा

बाँकेको राप्ती नदी आसपासका साविक १२ गाविसका पाँच हजार घर बाढीको उच्च जोखिममा छन्। हालको डुडुवा गाउँपालिकामा गाभिएका कम्दी, बनकट्टी, बेतहनी र होलिया तथा राप्ती सोनारी गाउँपालिकामा रहेका साविकका खासकुश्मा, कचनापुर, बैजापुर, विनौना, फत्तेपुर गाविस तथा नरैनापुर गाउँपालिकामा समाहित भएका गंगापुर, मटेहिया गाविसका दुईहजार बढी घर राप्ती नदीको उच्च जोखिममा रहेका छन्। 

राप्तीसोनारी गाउँपालिकाका सवैजसो वडा बाढीको उच्च जोखिममा रहेको गाउँपालिका अध्यक्ष लाहुराम थारुले बताए। उनले अधिकांश वडाका गाउँमा राप्ती नदीमा आएको बाढी पसेर धन, जनमा क्षति पुर्‍याउने गरेको बताए। डुडुवा खोलाका कारण कोहलपुर नगरपालिकाका अधिकांश वडा डुवानमा पर्ने गरेका छन्। डुडुवा नालाले कटान गर्ने र गाउँमा पस्ने समस्या त छदैँछ।अव्यवस्थित रुपमा घर निर्माण हुँदा नगरपालिकाका अधिकांश वडा डुवानमा पर्ने गरेको नगर प्रमुख लुट बहादुर रावतले जानकारी दिए।

बैजनाथ गाउँपालिकाका सवै वडा पनि बाढीको जोखिममा छन्। बैजनाथ गाउँपालिकाका झण्डै चार हजार घर खोला र नालामा आउने बाढीको जोखिममा रहेको गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले जानकारी दिए। उनले मानखोला, बुढीनाला, जेठीनाला र इटा नालामा आएको बाढीले बर्षेनी क्षति पुर्‍याउने गरेको बताए। ‘मानखोलाले, जेठीनाला र बुढीनालाले चार-चार वटा वडामा डुवान हुन्छ,’ उनले भने।  

खजुरा गाउँपालिका अन्तर्गत पर्ने साविकका उढरापुर, राधापुर र बागेश्वरी गाविस पनि बाढीको जोखिममा छन्। मानखोलामा आएको बाढीले उढरापुरमा क्षति पुर्‍याउँदै आएको गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले जानकारी दिए। उनले डुडुवा नाला र जेठीनालामा आएको बाढीले बागेश्वरीका बासिन्दालाई असर गर्दै आएको बताए। 

नरैनापुर गाउँपालिका अन्तर्गत पर्ने साविकका गंगापुर, मटेहिया र नरैनापुर पनि बाढीको जोखिममा भएको स्थानीय प्रशासनले जनाएको छ। नरैनापुर गाउँपालिकाको गंगापुर र मटेहियाका बासिन्दालाई राप्ती नदीमा आएको बाढीले हरेक वर्ष दुख दिँदै आएको छ। यी दुई वडालाई बाढीको उच्च जोखिममा राखिएको प्रमुख जिल्ला अधिकारी केसीले बताए। 

नेपालगन्ज उपमहानगरपालिकाका अधिकांश वडा पनि डुवानमा पर्दै आएका छन्। यहि वर्ष परेको पानीले न्यूरोड,सेतुविक चोक, गणेशपुर, बेलासपुर, भृकुटीनगर, घरबारी टोल, कोरियनपुर डुवानमा परेको प्रशासनले जनाएको छ। पानी बग्ने र पोखरीमा घर निर्माण भएपछि पानीको बहाव रोकिन गई नेपालगन्ज डुवानमा पर्न थालेको प्रशासनले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.