|

वीरगन्ज : शिक्षाले नै मानिसको जीवन सार्थक पार्ने निष्कर्ष सहित नेपाल सरकारले शिक्षामा गरेको लगानी समेत असारे भेलमा बगाउँदै गरेको तथ्य फेला परेको छ। सामुदायिक विद्यालयका कक्षा ३ सम्म पढ्ने विद्यार्थीले अक्षर पढ्न नसक्ने भएपछि सो स्तर उकास्न राज्यले गरेको लगानी समेत असारे भेलमा बगाउँदै गरेको तथ्य फेला परेको हो। 

कक्षा ३ सम्म पढ्ने विद्यार्थीले पढ्न सक्नुपर्ने अक्षर, शब्द, परिचित शब्द र पढाइको गति जस्ता कुरामा लक्ष्यको ५० प्रतिशत पनि उपलब्धि हासिल नगरेको सर्वेक्षणले देखाएपछि ती विद्यार्थीको स्तर उकास्न समयमा नै गर्नु पर्ने कार्यक्रम आर्थिक वर्षको अन्तिम क्षणमा रकम सक्न मात्र गरिएको छ। अरु निकायले जस्तो शिक्षा विकास तथा समन्वय इकाइले पनि असारे भेलमा रकम बगाउनु ठिक नभएको सहभागीहरूले तर्क गरे।  

शैक्षिक वर्ष सकिनु पूर्व यस्ता चेतनामूलक कार्यक्रम हुनु पर्नेमा आर्थिक वर्ष सकिन आधा दिन पनि बाँकी नरहँदा कार्यक्रम हुनुले यो आर्थिक वर्षका लागि कुनै उपलब्धि नहुने  उनीहरूको तर्क छ। सन् २०१५ बाट संचालनमा ल्याएको अभियानलाई प्रभावकारी पार्न सोमबार गरिए जस्तो कार्यक्रम शैक्षिक शत्र २०७४⁄०७५ सकिनु पूर्व नै गरिसक्नु पर्ने हुन्थ्यो। तर साविकको जिल्ला शिक्षा कार्यालय पर्सा हालको शिक्षा विकास तथा समन्वय इकाइ पर्साले सोमबार अर्थात आर्थिक वर्षको अन्तिम दिन मात्र गरिनु रकम सिध्याउन खेल मात्र भएको शिक्षा विकास इकाईका केही कर्मचारीले नै बताए। 

सोमबार यो कार्यक्रम नगरेको भए ५० हजार खर्च गर्ने दायरा मंगलबार हुने थिएन। त्यसैले आइतबार साँझ याद भएर सोमबार नै हतारमा कार्यक्रम गरेको आयोजकले कार्यक्रम स्थलमा नै सार्वजनिक गरेको हो। सन् २०१३ को सर्वेक्षणमा काठमाडौं, काभ्रेपलाञ्चोक र चिनवनमा त कक्षा २ र ३ मा पढ्ने विद्यार्थीको पठनसीप क्षमता कक्षा २ को अक्षरतर्फ ३४.६, शब्द तर्फ १८.८, परिचित शब्द १३.३ पढाइको गति १२.७ प्रतिशत मात्र रहेको पाइएको थियो। त्यसैगरी कक्षा ३ मा पनि अक्षर तर्फ ४९.४, शब्द तर्फ ३५.१, परिचित शब्दतर्फ २०.० र पढाइको गति विद्यार्थीमा २३.३ प्रतिशत मात्र फेला परेको थियो।

कक्षा अनुसारको बोध प्रश्नमा त झन कक्षा २ का विद्यार्थीले १.४ र कक्षा ३ का विद्यार्थीको १.८ प्रतिशत मात्र फेला परेको थियो। यसैलाई आधार मानी मुलुकका अरु जिल्लाको अवस्था के होला ? भनी नेपाल सरकारले यो कार्यक्रम २०१५ बाट पर्सामा पनि लागू गरेको राष्ट्रिय प्रारम्भिक कक्षा पढाई कार्यक्रमका पर्सा संयोजक भरत सहनीले बताए।

शिक्षा विकास तथा समन्वय इकाइ पर्साले यस्तो गहन विषयको रकम समेत कुबेलामा खर्च गरी गैर जिम्मेवारी प्रस्तुत गरेको छ। पढाइको स्तरमा कमजोरी व्यापक हुनुमा शिक्षा क्षेत्रमा खटेका व्यक्ति र संस्थाको कमजोरी रहेकोले आगामी दिनमा हरेकले आफ्नो जिम्मेवारीलाई इमान्दारिताका साथ पालना गर्न पर्साका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले कार्यक्रममा सहभागीलाई निर्देशन दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.