|

धनगढी : असार १५ गते गौरीगंगा नगरपालिका ११ कटानीकी माया विकको सामूहिक बलात्कारपछि हत्या गरियो। गत शनिवार अछाममा आठ वर्षीया बालिका बलात्कृत भइन्। त्यसैगरी सोमबार बिहान कञ्चनपुर कृष्णपुरमा सामूहिक बलात्कारपछि हत्या भएको अवस्थामा कविता बिष्टको शव फेला परेको छ।

६ दिनपछि कंकाल भेटियो 

असार २६ गतेदेखि घरबाट बेपत्ता भएकी कृष्णपुर नगरपालिका ८ आमखैयाकी १७ वर्षीया कविता विष्टको कंकाल सोमबार पूर्व-पश्चिम राजमार्गअन्तर्गत लालझाडी जंगल फालेको अवस्थामा फेला परेको हो। युवतीको हत्याको आरोपमा सोही ठाउँका मदन गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेका गिरीले दिएको बयानको आधारमा यौन सम्पर्कपछि कविताले आत्महत्या गरेको बताए पनि उनीसँगै रहेका अर्का एकजना भारततर्फ फरार भएको आशंका प्रहरीले गरेको छ। हत्यामा संलग्नहरूको खोजीकार्य भइरहेको डिएसपी सेठीले बताए। ‘बलात्कारपछि हत्या भएको हुनसक्छ’ प्रहरी उपरीक्षक सेठीले बताए। 

महिनाभरि नै बलात्कार र हत्या

असार महिना सुरू भएसँगै कैलाली कंचनपुरमा अपराधका श्रृंखला सुरु भएको हो। असार -८ गते गोदावरी नगरपालिका–१० ओलानीकी २२ वर्षीया लक्ष्मी बडैलाले प्रेमी दीपक खत्रीसँग मिलेर श्रीमान् तेजबहादुर विष्टको हत्या गरिन्। उनको शब पाँच दिनपछि फेला प¥यो। असार ८ गते नै कञ्चनपुरको भीमदत्त नगरपालिका-८ तिलाचौरका केशव कार्कीले श्रीमती सरस्वती कार्कीको हत्या गरे। त्यसै गरी असार १२ गते गौरीगंगा नगरपालिका–११ कटानीकी माया विकको सामूहिक बलात्कारपछि हत्या गरियो। उनको शब तीन दिन पछि फेला पर्‍यो। यी तीन घटना सेलाउन नपाउँदै २० गते राति कैलालीको लम्की चुहा नगरपालिका -९ प्रतापपुरमा धारिलो हतियार प्रहार गरी इन्द्र चौधरीले आफ्नै श्रीमती गर्भी चौधरीको हत्या गरे। केही दिन हत्या श्रृंखला रोकिएपछि फेरि आइतबार कृष्णपुर नगरपालिका-८आमखैयाकी १७ वर्षीया कविता विष्टको कंकाल भेटियो। २६ गते उनको बलात्कारपछि हत्या भएको प्रहरीले बताएको छ। 

अपराध नियन्त्रणमा चुनौति

केही दिन अघि कञ्चनपुरको भीमदत्त नगरपालिका-११ भुजेलास्थित महाकाली नदीको तटबन्धमा पनि स्थानीयको जग्गा अधियाँ गरी काम गर्दै आएका दार्चुलाको लेकम गाउँपालिका-३ का ४५ वर्षीय नैनराम सार्कीको पनि शंकास्पद अवस्थामा शव भेटिएको थियो। उक्त घटनाको छानविनका लागि प्रहरीले छानविन समिति गठन गरे पनि घटनाबारे यथार्थ बाहिर ल्याउन सकेको छैन। सार्कीको टाउको र हातमा गहिरो चोट लागेको अवस्थामा शव फेला परेको थियो।

एकपछि अर्काे घटना बढ्न थालेपछि सरोकारवालाहरूले अपराध न्यूनीकरणमा समस्या भएको बताएका छन्। मुलुकका तीनै तहका सरकारहरूले चासो नदिन यस्ता आपराधिक गतिविधि बढेको महिला अधिकारकर्मी गोमा आचार्यले बताइन्। ‘सरकार मात्रै होइन,महिला अधिकारकर्मी मानवअधिकार आयोग र अन्य सरोकारवालाहरू पनि गैर जिम्मेवार भए’ आचार्यले भनिन्। 

कानुन कार्यान्वयनको अवस्था फितलो बनेका कारण प्रदेशमा घटना घट्ने क्रममा रहेको प्रदेश सांसद पूर्ण जोशीको भनाइ छ। ‘युवाबाटै बढी यस्ता अपराध भएको पाइयो। यस बिषयमा छानविन हुनुपर्छ।कही कसैलाई कसैले उन्मुक्ति दिन हुँदैन। हामी संसदमा कुरा उठाउँछौं,’ सांसद जोशीले भनिन्। 

प्रदेशमा सरकार गठन भएको पाँचमहिना बढी भइसक्दा सरकारको कामकारवाही र कार्यसम्पादन फितलो बनिरहेको सर्वसाधरणले गुनासो गरेका छन्। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.