|

काठमाडौं : मंगलबार टेलिकम र इन्टरनेट सेवाहरूको मूल्य बढेर दस्तुर काटिने भएको छ। सरकारले आर्थिक वर्ष २०७५/०७६ को बजेटमा शुल्क बढाउने निर्णय गरेसँगै इन्टरनेट सेवाप्रदायक संस्थाहरूले मूल्य बढ्ने सार्वजनिक सूचना जारी गरेका हुन्। 

दूरसंचार सेवा प्रदायकले तिर्नुपर्ने सेवा शुल्क वृद्धि भएसँगै त्यसको प्रत्यक्ष मार उपभोक्तालाई पर्ने भएको छ। आगामी आर्थिक वर्षबाट दूरसंचार सेवाप्रदायकले तिर्नुपर्ने सेवा शुल्क १३ प्रतिशत पुर्‍याइएको छ। 

अहिले दूरसंचार सेवा शुल्क ११ प्रतिशत रहेकामा मंगलबारदेखि १३ प्रतिशत पुग्नेछ। इन्टरनेट सेवा प्रदायकलाई पहिलो पटक सेवा शुल्क बढ्न लागेको हो। बजेटमा व्यवस्था भएअनुसार मंगलबारबाट टेलिफोनको शुल्क कम्तीमा दुई प्रतिशत बढ्ने भएको छ।

बजेटमा बढाइएको महसुलअनुसार साउनदेखि डाटा सेवामा पनि १३ प्रतिशत सेवा शुल्क लाग्नेछ। सरकारी निर्णयअनुसार नै इन्टरनेट तथा दूरसंचार सेवाप्रदायक संस्था एनसेल, भायोनेट, क्लासिक टेक, सुबिसुलगायतले शुल्क बढ्न लागेको सार्वजनिक सूचना जारी गरेका छन्। 

सरकारी दूरसंचार सेवाप्रदायक संस्था नेपाल टेलिकमले भने सबै किसिमका सेवामा शूल्क वृद्धि नगर्ने भएको छ। विकेन्ड प्याक, नाइट टाइम अनलिमिटेड डेटा प्याक, जिएसएम थ्रीजी, फोरजी, एडिएसएल, इन्डिया अफरअन्तर्गत डेली प्याकलगायतका सेवामा सेवा शुल्क नजोडिने टेलिकमले जनाएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.