|

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जिल्ला सभापतिहरूको भेलापछि टाढिएका निकटका नेताहरूलाई फकाउने प्रयास थालेका छन्। जिल्ला सभापतिहरूको भेलामा सभापति शेरबहादुर देउवाको पक्षमा लागेको भन्दै उनीसँग टाढिएका नेतालाई फकाउन पौडेल सक्रिय छन्।

असार पहिलो साता हेटौँडामा भएको जिल्ला सभापतिहरूको भेलापछि देउवा र पौडेलले एकअर्काप्रति विरोध नगर्ने सहमति भएको खबर बाहिरिएपछि उनी तनावमा थिए। त्यसयता आफू सभापति देउवाको नजिक भएको भन्ने आरोप गलत भएको प्रमाणित गर्न पौडेल लागिपरेका छन्। जिल्ला सभापतिहरूको भेलाअघि मात्र उनको क्याम्पमा फर्किएका कृष्णप्रसाद सिटौला र अर्जुननरसिंह केसी पनि पौडेलको व्यवहारका कारण असन्तुष्ट बनेका थिए।

वरिष्ठ नेता पौडेल देउवासँग नजिक भएको हल्लासँगै उनी निकटका प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी र डा. शेखर कोइराला नयाँ गुट बनाउनका निम्ति छलफलमा थिए। तर आफू सभापति देउवाभन्दा शक्तिशाली बन्दै गएको बेला विभिन्न आरोप खेपिरहेका उनी पुनः ती नेतासँग नजिक हुने प्रयासमा छन्।

टाढिएका नेतालाई फकाउन पौडेलले सोमबार एउटा प्रयास गरे। उनले आफ्नो र देउवाको सम्बन्धबारे जानकारी दिन केसी र सिटौला गुटसहित आफू निकटका केन्द्रीय सदस्यको बैठक बोलाए। तर सोचेजति केन्द्रीय सदस्यहरू बैठकमा सहभागी भएनन्। सिटौला र केसी नजिक भएपछि उनले ३५ जनाभन्दा धेरै केन्द्रीय सदस्य आफ्नो पक्षमा रहेको अनुमान लगाएका थिए तर भेलामा भने १० जना मात्र केन्द्रीय सदस्यको उपस्थिति रह्यो। पौडेलले आयोजना गरेको भेलामा आफू निकट मानिएका धेरै केन्द्रीय सदस्य सहभागी भएनन्। भेलामा केसी उपस्थित भए पनि सिटौला भने उपस्थित भएनन्।

उनी स्वास्थ्य परीक्षणका लागि अस्पताल गएको भनिएको भए पनि पौडेलसँग असन्तुष्ट भएका कारण बैठकमा सहभागी नभएको बताइएको छ। ‘बैठकमा भएका कुरा कार्यान्वय हुँदैन भन्ने लागेर सिटौलाजी नजानुभएको हो’, स्रोतले भन्यो, ‘तर सिटौलाजीले छलफल गर्नु सकारात्मक हो भन्नुभएको छ।’

सिटौला आफू बैठकमा सहभागी नभए पनि आफू निकट मानिएका केन्द्रीय सदस्य प्रदीप पौडेललाई पठाएका थिए। पौडेलाई वरिष्ठ नेताको धारणा बुझ्नका लागि बैठकमा पठाइएको स्रोतले बताएको छ। केन्द्रीय सदस्य पौडेल भेलामा सुरुदेखि अन्तिमसम्मै बसेका थिए। सभापति देउवाले प्रदेशमा तदर्थ समिति बनाउने र पौडेललाई तीनवटा प्रदेशको संयोजक दिने प्रस्ताव गरेपछि सिटौला र केसी झनै झस्किएका थिए।

उनीहरू पौडेलले सभापतिलाई विधानविपरीत चल्न सहयोग गरेको भन्दै आपत्ति जनाएका थिए। देउवाको उक्त प्रस्तावमा पौडेलले सिटौला र केसीसँग छलफल गर्ने बताएका थिए। तर तदर्थ समिति गठन गर्नु विधानविपरीत हुने भन्दै लोकतान्त्रिक विधिबाट प्रदेश समिति बनाउनुपर्ने सिटौला र केसीको अडान छ। सोमबारको बैठक विधान परिमार्जनका लागि गठन हुने समितिमा पौडेल समूहबाट जाने सदस्यको नामका विषयमा छलफल गर्न, भ्रातृ संगठनको अधिवेशनका लागि सभापतिलाई दबाब दिन, सभापतिलाई विधानविपरीत नचल्न दबाब दिन साझा धारणा बनाउन सिटौलाले आफू निकटका केन्द्रीय सदस्यलाई बैठकमा बोलाएका थिए।

तर उनले उक्त बैठकमा पनि सभापतिसँग कुनै संझौता नगरेको र नजिक पनि नभएको स्पष्ट पारेको बैठकमा सहभागी एक नेताले जानकारी दिए। ‘उहाँले सिधै त यो कुरा निकाल्नुभएन’, उनले भने, ‘तर घुमाएर मिडियाले आफूलाई सक्न खोजेको आरोप लगाउनुभयो।’

सभापतिसँग स्वार्थमा डुबेर नजिक भएको आरोप लगेको १५ दिन पनि बित्न नपाउँदै पौडेल सभापतिसँग टाढिएका छन्। आफू निकटका केही नेताहरूले सभापतिसँग संझौता गर्न पुगेको आरोप लगाउँदै असन्तुष्टि जनाउन थालेपछि संकटमा परेका नेता पौडेलले आफ्नो समूहका नेतालाई बोलाएर आफूले कुनै संझौता नगरेको भन्दै स्पष्टीकरण दिँदै आएका छन्। आफू सिंह, सिटौला, केसीलगायतका नेताकै साथ नछाडेको सन्देश दिन पौडेलले विधान परिमार्जन समितिमा सबै पक्ष समेटिने गरी नाम मागेका छन्।

सभापतिले सात सदस्यीय विधान परिमार्जन समिति बनाउने वरिष्ठ नेता पौडेललाई प्रस्ताव गरेपछि पौडेलले तीनै पक्ष समेट्ने गरी नाम पठाउन लागेको स्रोतले बताएको छ। सभापतिले सिटौला र केसीलाई मनाएर तीन जना सदस्यको नाम दिन भनेका छन्। संयोजकसहित चार जना सदस्य भने सभापति पक्षले राख्ने बताइएको छ।

विधान परिमार्जन समितिमा पौडेलले अर्जुननरसिंह केसी, युवा नेता गगन थापा र नवीन्द्रराज जोशीको नाम सोमबारको बैठकमा प्रस्ताव गरेको बताइएको छ। थापा सिटौला समूहका नेता मानिन्छन् भने जोशी पौडेल समूहका। तर केसीले भने आफूलाई विधान परिमार्जन समितिमा नराख्न आग्रह गर्दै आएका छन्। उनले तीन जना युवा नेतालाई परिमार्जन समितिमा राख्न प्रस्ताव गरेको बताए। केसीले थापा, जोसी र जीवन परियारलाई समितिमा राख्न प्रस्ताव गरेका छन्।

पछिल्लो समाचार  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.