खेलकुद : विश्वकप फुटबल फिचर

खण्डहर बनेको रंगशालामा बसेर नदेखौँ विश्वकपको सपना
SHARES

साउन १, २०७५

    काठमाडौं : फिफा विश्व कप साना मुलुकहरुका लागि होइन भन्ने भ्रम त्यति बेलै भंग भइसकेको थियो, जतिबेला उरुग्वेले पहिलो पटक फिफा विश्व कपको ट्रफी चुम्यो। सन् १९३४ मा अर्जेन्टिनालाई हराएर पहिलो पटक ट्रफीमाथि आफ्नो नाम लेखाउँदा उरुग्वेको जनसंख्या मात्र १७ लाख थियो। फिफा विश्व कपमा तहल्का मचाउनेमध्ये एक टोली उरुग्वेको जनसंख्या अहिले पनि मात्र ३४ लाख छ। उरुग्वेले पहिलो सफलताको २० वर्षपछि ब्राजिललाई समेत हराएर उपाधि जित्दा उसको पहिलो सफलता कागतालीमा आएको थिएन भन्ने स्पष्ट पनि भयो।

    यसपाली साना मुलुकहरु आइसल्यान्ड, पानामा र क्रोयसियाले विश्व कपमा नयाँ उदाहरण प्रस्तुत गरे। साना मुलुकहरुलाई विश्व कपमा भाग लिने त मौका छ तर, जितका लागि ठूला मुलुकले उभ्याएका चुनौतीका पहाड पार गर्नुपर्छ भन्ने वर्षौदेखिको मान्यतालाई यसपाली क्रोयसियाले धज्जी उडाइदियो। उरुग्वेको सफलताको कथाको अन्त्यसँगै विश्व कपमा ठूला मुलुकहरुले राज गरिरहेका थिए। तर, अर्जेन्टिना र इंग्ल्यान्ड जस्ता शक्तिशाली मुलुकलाई पाखा लगाउँदै फाइनलसम्म पुगेको क्रोयसियाले उपाधि जित्न नसकेपनि सारा विश्वको ध्यान आपूmतिर आकर्षित गरायो। फुटबल खेल्ने साना मुलुकहरुमा पनि आशाको सूर्योदय गरायो।

    मंगलबार फुटबलर्स मिसन टुगेदरले आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले समेत विश्व कपको उदाहरण दिंदै नेपालले पनि विश्व कप खेल्न सक्छ भन्ने उदाहरण क्रोयसिया भएको बताए। युगोस्लाभियासँग लामो गृहयुद्ध पश्चात् सन् १९९१ मात्र क्रोयसियाले स्वतन्त्र राष्ट्रको मान्यता पाएको हो। ४१ लाख जनसंख्या भएको सो मुलुकका राष्ट्रिय फुटबल टोलीका कतिपय खेलाडीको मनमा अहिले पनि त्यो गृहयुद्धको याद ताजै छ। यसपटकको विश्व कपमा सर्वोत्कृष्ट खेलाडी हुँदै गोल्डेन बल जितेका क्रोयसियाली कप्तान लुका मोड्रिच पनि त्यही युद्धका पिडितमध्ये एक हुन्। तर, ती सबै पिडा बिर्सेर उनीहरु फाइनलसम्म पुगे तर हारे।

    ट्रफी हार्दासमेत उनीहरु आफ्नो मुलुकभित्र मात्र नभएर सारा विश्वका लागि प्रेरणाको खानी बनिसकेका थिए। सन् १९९८ मा पहिलो पटक विश्व कप खेल्दा नै तेस्रो भएको क्रोयसियाले आपूmभित्र फुटबलको भविष्य लुकेको छ भन्ने पनि प्रमाणित गरेकै थियो। त्यसमाथि यो विश्व कपमा अर्को सानो मुलुक आइसल्यान्डले पस्केको खेलले सबैलाई फुटबल जनसंख्याले होइन आत्मबलले खेल्ने खेल हो भन्ने आभाष दिलाइसकेको थियो। जनसंख्याका आधारमा प्रतिभा भेटिदों हो त हाम्रा दुई छिमेकी चीन र भारत त सधैं विश्व विजेता बन्ने थिए।

    मंगलबारको कार्यक्रममा उपराष्ट्रपति पुनले अर्को पनि तर्कसंगत कुरा गरे। ‘फुटबल खेल्न अग्ला खेलाडी चाहिन्छ भन्ने भ्रम मात्र हो, नत्र म्याराडोना कसरी महान खेलाडी बन्थ्ये ? जापान, दक्षिण कोरियाका खेलाडीको औषत उचाइ पनि हाम्रै जस्तो नै छ।’

    उनको विचारमा स्वस्थ्य नागरिक र प्रसस्त भौतिक पूर्वाधार हुने हो भने विश्व कप खेल्न असम्भव नै छैन। कुरो सही हो। तर, गरिबीको रेखामुनि रहेको नेपाललाई भौतिक पूर्वाधार निर्माणको कुरो त परै जाओस्, स्वस्थ्य नागरिक जन्माउनसमेत चुनौती त नभनौं तर कठिन भने छ। नीति र योजनाबीना चलेको मुलुकले अहिले विश्व कपको सपना देख्नु हाँस्यास्पद तर्क मात्र हो।

    २०१३ सालबाट निर्माण सुरु भएर २०५६ सालमा मात्रै अन्तर्राष्ट्रियस्तरको केही झल्को दिएको मुलुकको एकमात्र आधुनिक रंगशाला अहिले खण्डहर बनेको छ। हामीले एक महिनासम्म रुसका भव्यतम् रंगशालाहरु टेलिभिजनको सेट अगाडि बसेर हेर्दा हाम्रो एकमात्र अन्तर्राष्ट्रिय रंगशालालाई घिटीघिटी अवस्थामा आर्यघाटमा सुताएका छौं भनेर कसैले मुख लुकाएरपनि भन्न सकेनन्। हालसम्म जन्मिएका नेपाली फुटबलरका लागि पशुपतिनाथ झैं पवित्र लाग्ने त्यो दशरथ रंगशालाको मैदानमा फेरी कहिले खेलाडीको पदचाप सुन्न सकिन्छ? ठेकेदार र स्वयं राष्ट्रिय खेलकुद परिषद्लाई थाहा छैन।

    यसपाली विश्व कपमा साना मुलुकहरुको अद्भूत खेलबाट गर्वित हुने अधिकार त हामीसँग छ तर, नेपालले कहिले विश्व कप खेल्ला भनेर अनुमानसमेत गर्ने अधिकार हामीसँग छैन। हामीसँग नत खेलाडी उत्पादनको कारखाना मानिने क्लबका संरचना वैज्ञानिक छन्, नत अखिल नेपाल फुटबल संघ र सम्बन्धित निकायले यसतर्पm चासो राखिरहेका छन्।

    नेपालका पुराना फुटबल प्रशिक्षक पदमकृष्ण श्रेष्ठका अनुसार एउटा दक्ष फुटबलर बन्न उसले खेलाडी जीवन सुरु गर्नुअघि घटिमा १० हजार घण्टा प्रशिक्षण गरेको हुनुपर्छ। त्यसैले हरेक क्लबको आफ्नै एकेडेमी नभएसम्म दक्ष खेलाडी उत्पादन हुने कल्पना गर्नुसमेत बेकार छ। एन्फाले संचालन गरेको एकेडेमीबाट मात्र उत्पादन भएका खेलाडीलाई बोकेर हामी विश्व कपको यात्रा गर्छौं भन्नु मुर्खता सिवाय केही हुँदैन। त्यसमाथि फुटबल विकासको मेरुदण्डको रुपमा रहेको लिग फुटबल लामो समयदेखि बन्द छ। मोफसलमा हुने केही नकआउट फुटबल प्रतियोगिताले नेपालको फुटबल धानिरहेको छ। योभन्दा चित्तदुख्दो समय नेपाली फुटबलले कहिल्यै व्यहोरेको थिएन।

    त्यसैले हाम्रा लागि निकट भविष्यमा नै विश्व कपको ढोका खालेर कसैले स्वागत गर्छ भन्ने भ्रमपूर्ण सपनामा बाँच्नुभन्दा पनि मुलुकको फुटबलर पूर्वाधार र खेलाडी उत्पादनमा पहिलो ध्यान दिनु अति आवश्यक छ। अहिले त हामीले त्यही क्रोयसिया, त्यही आइसल्यान्ड अनि त्यही उरुग्वेभित्र आफ्नो सपनाको अस्तित्व खोज्नुपर्ने छ। उनीहरुको सफलतामा रमाउनुपर्ने छ अनि उनीहरुले कमाएका उपलब्धिमा आफ्नो सुनौलो भविष्यको चाहना पोख्नुबाहेक अर्को विकल्प हामीसँग छैन पनि। 

चेतन पाण्डे

पाण्डे साढे दुई दशकदेखि खेलकुद पत्रकारितामा सक्रिय छन्। pandechetan@gmail.com

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]