|

  • तारानाथ आचार्य-

बागलुङ : वर्षाको समय सुरु भएसँगै धेरै ग्रामीण सडकहरू अवरुद्ध हुन थालेका छन्। जतासुकै खसेका पहिरोले मानिसको घरगोठ पुरिनेदेखि आउजाउमा कठिन भएका घटना धेरै छन्।

ती घटनामा मुख्य कारण ग्रामीण सडकको पहिरो देखिएको छ। अघिल्लो महिना काठेखोला–८ को लेखानीमा खसेको पहिरो र सडक  भासिँदा ठूलो क्षति मात्र भएन, गाउँलेको आउजाउमा समेत कठिनाइ भएको छ। कादेश गाउँदेखि लेखानी र गाउँपालिका तर्फको सम्पर्कमै समस्या आयो। अझै पनि कादेशका जनता वडा कार्यालय आउन सास्ती खेप्छन्। दर्जनौं पहिरो खसेको, खोलाले सडक बगाएको, भासिएको र झेलुंगे पुलमा क्षति पुगेकोले सहज आउजाउ अझै छैन।

डांग्रेखोलाको झोलुंगे पुल भत्केपछि बालबालिकालाई त आउजाउ गनै खतरा छ। त्यहाँका बालबालिका लेखानीमा पढ्न आउँछन्। यो सडक खण्डको १ सय मिटर भाग भासिएको छ।

हिउँदमा एक्साभेटर लगाएर खनिएकोले जमिन थर्केपछि भासिएको स्थानीयले अनुमान गरेका छन्। यहाँबाट गत हिउँदभर ढुंगा निकालेर निर्माणका लागि पठाइएको थियो। ग्रामीण सडकबाटै खसेको पहिरोले गलकोट नगरपालिका–५ हरिचौरमा पनि ठूलो क्षति पुर्‍यायो। दुईवटा झोलुंगे पुल बगाएकोले आउजाउमा समस्या भएको छ। पहिरोले इलाका प्रहरी कार्यालय हरिचौरको प्रतीक्षालय र स्थानीय घरहरू बगाएको छ।

सामान्य चासो मात्र राखे पनि सुरक्षित

सडकले बाढीको बहाव फेरिएकोले हरिचौर, नरेठाँटी, हटिया र काँडेवासलगायत गाउँका दर्जनबढी घर गोठ बगाएको नगर प्रमुख भरत शर्मा गैरेले बताए। ‘हाम्रो जमिन कस्तो छ, त्यहाँ डोजर लगाउन हुने नहुने परीक्षण नगर्दा क्षति भएको छ’ जिल्ला भू-संरक्षण अधिकृत शेरबहादुर श्रेष्ठले भने, ‘एकपटक सामान्य चासो राख्न सकेमा सडक र बस्ती सुरक्षित हुनेछन्।’

अघिल्ला वर्षहरू पनि ग्रामीण सडकबाट खसेका पहिरोले मानवीय क्षतिसमेत हुने गरेको तथ्यांक छ। सडक खन्ने क्रममा पानीको बहाव फेरिने, वर्षा लागेपछि मात्र खन्ने कामले माटो धेरै बग्ने गरेकोले क्षति बढेको श्रेष्ठको बुझाइ छ।

भौगर्भिक अध्ययनबिना काम गर्दा समस्या

नगर र गाउँपालिकाका जनप्रतिनिधिहरू भने बजेट निकासा र देशको आर्थिक वर्षको कारणले सडक खन्दा समस्या आएको दाबी गर्छन्। ‘बजेट पनि ढीला निकासा हुने भएकोले वर्षातमा मात्र काम शुरु हुन्छ’ लेखानीकी वडा अध्यक्ष चित्रकला छन्त्यालले भनिन्, ‘अब हामीले समयमा काम गर्ने बानी बसाल्छौँ।’

पुरानै परम्पराले काममा ढिलाइ भएको उनले बताइन्। भौगर्भिक अध्ययन बिना काम गर्दा ठूला राजमार्गमा पनि समस्या आएको भेटिएका छन्। मध्यपहाडी लोकमार्गको धेरै स्थानमा पनि अहिले पहिरोले दुःख दिएको छ। गलकोट र निसीखोला तर्फको खण्डमा मध्यपहाडी लोकमार्गमा दर्जनौँ पहिरो खसेको छ। सेनाले काम गरिरहेको कालीगण्डकी कोरिडोरको बागलुङ खण्डमा यात्रीले सास्ती खेपिरहेका छन्।

जिल्ला समन्वय प्रमुख राजेन्द्र ढुंगानाले हरेक सडकमा वातावरणीय प्रभाव मूल्यांकनको पद्दति अपनाउन सुझाव दिएको बताए। ‘पहिलो वर्ष सम्‍भव नभए पनि अर्को वर्ष जसरी लागू गराउने पक्षमा छु’ उनले भने, ‘ग्रामीण सडक कसैको मृत्यु र क्षतिको कारण बन्नु हुँदैन।’ साविकको जिविसको तथ्यांकअनुसार जिल्लामा १ हजार २ सय किमी ग्रामीण सडकको सञ्‍जाल छ। जिल्लामा मध्यपहाडी लोकमार्गको केही खण्डबाहेक सबै कच्ची सडक मात्र हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.