|

कालिकोट : गत वर्ष भदौंमा नेपाल राष्ट्र बैंकले स्थानीय तहमा राष्ट्रिय ‘क’ वर्गका बैंकका शाखा विस्तारका गर्न निर्देशन दिएको भए तापनि कालिकोटका अधिकांश ६ वटा स्थानीय तहमा बैंकहरू शाखा स्थापना भएका छैनन्। कालिकोटका ३ वटा नगरपालिका ६ वटा गाउँपालिका रहेको कालिकोटमा ३ वटा स्थानीय तहमा मात्र बैंकहरू स्थापना भएका छन्।

जिल्लाको सान्नी त्रिवेणी गाउँपालिकामा सानिमा बैंक, रास्कोट ग्लोबल आइएमई बैंकले शाखा स्थापना गरेको भए पनि अन्य ठाउँमा बैंकका शाखा स्थापना भएका छैनन्। स्थानीय तहमा बैंकहरूले सेवा विस्तार नगर्दा स्थानीय तहलाई राजश्व जम्मा गर्न र कर्मचारीको तलबदेखि उपभोक्ता समितिको भुक्तानी वितरणमा सदरमुकाम आउनुपर्ने बाध्यता हटेको छैन। 

स्थानीय तहमा बैंकिङ सेवा उपलब्ध नहुँदा रकमको भुक्तानी लिन दुई दिन हिँडेर सदरमुकाम नै पुग्नुपर्ने बाध्यता रहेको नरहरीनाथ गाउँपालिकाका अध्यक्ष धीरबहादुर बिष्टले बताए। ‘गाउँपालिकामा बैंक नहुँदा गाउँबाट हिडेर सदरमुकाममा आउनुपर्ने बाध्यता रहेको छ।’ उनले भने, ‘गाउँमा नै बैंकको स्थापना भएको भए उपभोत्ता समिति र राजश्व लगायतका काम गर्न सजिलो हुने थियो।’

स्थानीय तहमा बैंकहरू स्थापना नहुँदा सामान्य बैकिङ कारोबार गर्नका लागि सदरमुकाम नै धाउनुपर्ने बाध्यता रहेको पलाता गाउँपालिकाका अध्यक्ष लक्ष्मण बमले बताए। ‘बैंकहरूले राष्ट्र बैंकले दिएको निर्देशन नमान्दा बैंकहरूका शाखा स्थापना हुन सकेका छैनन्।’ उनले भने, ‘गाउँमा बैंक नहुँदा निकै समस्या भएको छ।’ बैंकहरू गाउँमा नहुदाँ सदरमुकामबाट करोडौं रुपैयाँ बोकेर गाउँ जानुपर्ने बाध्यता रहेको सुरक्षाको समस्या हुने गरेको तिलागुफा नगरपालिका लेखापाल नरदल बुढाले बताए। ‘सदरमुकामबाट करोडौं बोकेर गाउँमा जानुपर्छ।’ उनले भने, ‘पैसा बोकेर गाउँमा जाँदा सुरक्षाको समेत समस्या रहेको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.